Logo

मेनपावरभन्दा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने धेरै

काठमाडौं– विगतमा मेनपावर व्यवसायीका माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या धेरै हुने गरेकामा अहिले अवस्था फेरिएको छ । पछिल्ला दिनमा मेनपावर व्यवसायीका माध्यमबाट भन्दा व्यक्तिगत रुपमा विदेश जानेको संख्या धेरै हुन थालेको हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ८ महिनामा संस्थागत (मेनपावर) मार्फत २ लाख २० हजार ३४० जना वैदेशिक रोजगारीमा गएका छन् । यही अवधिमा व्यक्तिगत रुपमा जानेको संख्या भने २ लाख ८५ हजार ३५२ पुगेको छ । यो मेनपावरभन्दा ६५ हजार १२ जनाले बढी हो ।

मेनपावरभन्दा व्यक्तिगत रुपमा विदेश जानेको संख्या यो वर्षमात्र बढेको होइन । गत वर्षको फागुनसम्म पनि मेनपावरभन्दा व्यक्तिगत रुपमा धेरै जना विदेश गएको देखिन्छ । विभागका अनुसार गत फागुनसम्ममा व्यक्तिगत रुपमा विदेश जाने २ लाख ७४ हजार ६२२ जना थिए भने मेनपावरमार्फत विदेश जानेको संख्या २ लाख २४ हजार ७४५ मात्र थियो ।

गत आवको फागुनसम्मको तथ्यांकलाई चालु आवको यही अवधिसँग तुलना गर्दा मेनपावरबाट जानेको संख्यामा कमी आउँदै गएको छ भने व्यक्तिगत रुपमा जाने बढ्दै गएको देखिन्छ । गत फागुनभन्दा यो फागुनमा मेनपावरबाट जानेको संख्यामा ४ हजार ४०५ ले कमी आएको छ । यही अवधिमा व्यक्तिगत रुपमा जानेको संख्या १० हजार ७३० जनाले बढेको छ । यो सबै तथ्यांक पुनः श्रमस्वीकृति बाहेकको हो ।

पछिल्ला केही वर्षदेखि मेनपावरभन्दा व्यक्तिगत रुपमा धेरै विदेश जानुका केही कारण रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । मेनपावर व्यवसायीहरुले नै आफूले ल्याएको कोटालाई व्यक्तिगत बनाएर पठाउने गरेकाले व्यक्तिगत रुपमा जानेको संख्या बढेको हो । संस्थागत रुपबाट पठाउँदा विदेशमा कुनै समस्या भए मेनपावर कम्पनीका सञ्चालकहरुले व्यहोर्नुपर्छ । व्यक्तिगत रुपबाट पठाए कुनै पनि जिम्मेवारी लिनु पर्दैन । यही कारण मेनपावर कम्पनीहरुले सकेसम्म व्यक्तिगत रुपमा पठाउने गरेका छन् ।

अर्को भिजिट भिषामा विदेश पुगेकाहरुलाई सरकारले वैधानिकिकरणको सुविधा दिएको छ । भिजिट भिषामा विदेश पुगेर काम खोज्ने र त्यसपछि श्रमस्वीकृति लिने प्रचलन अहिले बढेको छ । यस्तै, विदेश पुगेका आफन्तहरुले काम खोजेर व्यक्तिगत रुपमा भिषा पठाउने क्रम पनि पछिल्लो समय बढेको छ । यिनै कारणले अहिले मेनपावरभन्दा व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ मलेसियाले विदेशी कामदार लिन कडाइ गर्नु, खाडी क्षेत्रमा युद्धको असर देखिनु र कोभिडपछि एकै पटक धेरै नेपालीको माग हुँदा मेनपावरबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको बताँउछन् । ‘कोभिडपछि मलेसिया तथा खाडीमा धेरै नेपालीको माग भयो, तर अहिले पुनः आर्थिक मन्दी शुरु भएपछि माग आउन सकेन,’ गुरुङले कारोबारसँग भने, ‘कोभिडपछि रोजगारदाताले धेरै नेपाली माग गरेका कारण अहिले खाडी तथा मलेसियाका रोजगारदाताले माग गर्न सकेनन् ।’

स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा यो वर्ष औषतमा दैनिक २ हजार २ सय ५ जना वैदेशिक रोजगारीमा गएका छन् । यो वर्षका आठ महिनामा प्रतिमहिना औषतमा ६६ हजार २५६ जना विदेश गएका छन् । विभागका अनुसार यो वर्ष साउनदेखि फागुनसम्मको ८ महिनामा ५ लाख २९ हजार २५१ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन् । नेपालबाट वैदेशिक रोजगारीका लागि मुख्य रुपमा मध्यपूर्वका मुलुक, मलेसिया र युरोपेली मुलुकमा जाने गरेका छन् । आन्तरिक रोजगारीका क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै विदेशिनेको संख्या उच्च भएको हो ।

चालु आवको अहिलेसम्मको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेश जानेको संख्या गत वर्षभन्दा पनि धेरै हुन सक्ने देखाएको छ । गत वर्ष ७ लाख हाराहारीमा विदेश गएका थिए । चालु आवमा प्रतिमहिना औषतमा ६६ हजारभन्दा धेरैले श्रमस्वीकृति लिएको तथ्यांक हेर्दा यो वर्ष विदेश जानेको संख्या करिब ८ लाख पुग्ने देखिन्छ । दुई वर्षअघि नेपालबाट मासिक औषत ४० हजार युवामात्र वैदेशिक रोजगारीमा जाने गरेका थिए । त्यसयता भने विदेश जानेको संख्यामा उच्च वृद्धि भएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये यो माघमा मात्र करिब ७२ हजार जनाले श्रमस्वीकृति लिएका थिए भने फागुनमा यो संख्या ६७ हजार छ । यो पछिल्लो पुस महिनाका तुलनामा लगभग ७ हजारले बढी हो । चालु आवको साउनमा ५९ हजार ५७५ जनाले श्रमस्वीकृति लिएका थिए । भदौमा यो संख्या ५७ हजार ४९३ जना पुगेको थियो । यस्तै असोजमा ५३ हजार ५२५ जनाले श्रमस्वीकृति लिएकामा कात्तिकमा बढेर ७० हजार ९५० जना पुगेको थियो । गत मंसिरमा भने श्रमस्वीकृति लिनेको संख्या हालसम्मकै उच्च बनेको छ । मंसिरमा ८४ हजार २२६ जनाले श्रमस्वीकृति लिएका थिए । यस्तै, पुसमा यो संख्या ६५ हजारमा झरेको थियो । माघमा फेरि ७२ हजार युवाले श्रमस्वीकृति लिएको विभागले जनाएको छ ।

चालु आवको सुरुमा मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । अहिले खाडी राष्ट्रमध्ये यूएई जानेको संख्या उच्च दरले बढेको छ । यसैगरी कतार, मलेसिया, साउदी अरब, कुबेत, बहराईन, कोरिया जाने युवाको संख्या पनि उच्च छ ।

चालु आवको आठौं महिनासम्ममा वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको वृद्धिले आगामी वर्ष पनि रेमिटेन्स आय बढ्ने देखिन्छ । यो वर्ष अहिलेसम्म ९ खर्बभन्दा धेरै रुपैयाँ रेमिटेन्स आएको छ । रेमिटेन्स बढेकै कारण मुलुकमा विदेशी मुद्राको सञ्चिति पनि बढेको छ ।

नेपाल र नेपालीको प्रमुख आयस्रोतका रुपमा रहेको वैदेशिक रोजगार कोरोना संक्रमणका बेला दुई वर्ष घटेको थियो । त्यसयताका दिनमा भने यसले गति लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्