अनुदान लिन रातिदेखि बैंकमा लाइन

दोलखामा भूकम्पपीडितहरू अनुदान लिन मध्ये रातदेखि लाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही दिन यता भूकम्पपीडितहरू अनुदान लिनका लागि बैंकमा रातभर लाइनमा बस्नु परेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले अनुदानको रकम भुक्तानीलाई सहज व्यवस्था नमिलाउँदा भूकम्पपीडितहरू रातभर लाइन बस्न बाध्य भएका हुन् । स्थायी आवास पुनर्निर्माण सुरु गरेर अनुदान लिन सदरमुकाम आएका पीडितहरू चार दिनसम्म बस्दा पनि भुक्तानी नपाएपछि अन्योलमा परेका छन् । निजी बैंकहरूले भुक्तानीलाई सहज व्यवस्थापन नगर्दा यस्तो समस्या आएको हो । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर ६ र ७ फस्कुका भूकम्पपीडित अनुदान भुक्तानीका लागि चार दिनदेखि सदरमुकाममा छन् ।
अनुदान लिन आएका जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति बिरामीसमेत पर्न थालेका छन् । कतिपय भूकम्पपीडितले ५ पटक धाउँदा पनि अनुदान नपाएको गुनासो गरे । फस्कुका उमेश विश्वकर्माले चरिकोटस्थित सिटिजन बैंकमा अनुदान भुक्तानी लिन ५ पटक धाउँदा २० हजार खर्च भएको बताए । बैंक अगाडि भेटिएका विकले अहिलेसम्म पहिलो किस्ता नै पाउन नसकेको गुनासो गरे ।
सिटिजन बैंक शाखा चरिकोटमा अनुदान लिन आएका साविकको फस्कु गाविसका भूकम्पपीडितहरू राति १२ बजेबाट लाइन बस्दा पनि अनुदान नलिइकन फर्कन बाध्य भएका छन् । राति १२ बजेबाट लाइन बस्दा पनि पालो नआएपछि उनीहरू खाली हात फर्कन बाध्य भएको साविक फस्कु गाविसका चन्द्रबहादुर खड्काले गुनासो गरे ।
यता सिटिजन बैंक जिल्ला शाखा दोलखाले अनुदानको रकम आफ्नो पालोमा मात्रै लिन आउन भूकम्प प्रभावितलाई अनुरोध गरेको छ । दोलखाको शैलुङ गाउँपालिकाको वडा नम्वर ६ र ७ का भूकम्प प्रभावितले रकम लिन समस्या भइरहेको व्यापक गुनासो बढेपछि बैंकले टोकन सिस्टम गरेका छन् । सिटिजन बैंक दोलखा शाखाले सबैजना एकै पटक आएका कारण रकम वितरण गर्न समस्या भएको भन्दै तोकेको समयमा मात्रै आउन अनुरोध गरेको छ ।
दैनिक रूपमा २० जनालाई मात्रै रकम दिने व्यवस्था भएकाले बैंकले रकम वितरण गर्ने सम्बधित स्थानीय तहका जनप्रतिनिधिलाई सहजीकरण गरी दिन बैंक शाखाका सहायक प्रबन्धक रवीन्द्र न्यौपानेले अनुरोध गरेका छन् । उनले भने, “२० जनालाई दिने व्यवस्था भए पनि अहिले हामीले भीड बढेका कारण ४० देखि ४५ जनालाई रकम दिने गरेका छौं ।”
भूकम्पपीडितले अनुदान भुक्तानीमा चरम समस्या भोग्नु परेको गुनासो आएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले सरोकारवाला निकायको बैठक राखेर भुक्तानी सहज र सरल बनाउन निर्देशन दिएका छन् । जिल्ला समन्वय समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र बैंकका प्रमुखहरूको संयुक्त बैठक राखी प्रअिज थापाले यस्तो निर्देशन दिएका हुन् ।
–दिलबहादुर केसी