तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौं– तीनकुनेमा राजावादी समूह र प्रहरीबीच झडप भएको छ । तीनकुनेको एक घरमा आगजनी भएको छ भने राजावादीको प्रदर्शन र सभा समेत बिथोलिएको छ । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । राजावादी समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ । प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् ।
तीनकुनेमा व्यक्तिका घरमा समेत प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाइदिएका छन् । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । शुक्रबारको प्रदर्शनका कारण नागरिकले सास्ती पाएका छन् । काठमाडौंमा सुरक्षा व्यवस्था कडा छ । प्रदर्शन र सभा भइरहेका क्षेत्र तीनकुने, बानेश्वर, माइतीघर, भृकुटीमण्डपलगायतका क्षेत्रमा गाडी चल्न सकेका छैनन् ।