काठमाडौं बाल अस्पताललाई सिटिजन लाइफको सहयोग

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं बाल अस्पताल निर्माणको लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । गत वर्ष पनि कम्पनीले अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको थियो ।
काठमाडौं बाल अस्पताल निर्माणको उद्देश्य नेपालका लाखौं बालबालिकाको बढ्दो स्वास्थ्य सेवा आवश्यकता, विशेषगरी निम्न आय परिवारका बालबालिकाका लागि किफायती, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।
यस महत्त्वपूर्ण परियोजना निर्माणको लागि सिटिजन लाइफका अध्यक्ष प्रदीपजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष प्रा डा. भगवान कोइरालालाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।
सिटिजन लाइफको यस सहयोगले काठमाडौं बाल अस्पताल निर्माणलाई केही मद्दत हुने अपेक्षा राखेको छ । कम्पनीले सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न पहल गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गरी आफ्नो दायित्व पूरा गर्दै आएको छ ।