Logo

मुरुले लेकमा स्थानीयले चुनढुंगा उत्खनन् गर्न नदिने

दाङ– रोल्पाको मुरुले लेकमा सिमेन्ट उद्योगलाई चुनढुंगा उत्खनन् गर्न नदिने स्थानीयले बताएका छन् । चुनढुंगा उत्खनन्का लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुंगा उत्खनन् रोक्नका लागि स्थानीय केशवराज चन्दको नेतृत्वमा मुरुले बचाउ संघर्ष समिति नै गठन गरेका छन् ।

मन्दिरको एक सय मिटर मुनिबाट चुनढुंगा निकालेर एक वर्षसम्म सम्राट सिमेन्टलाई उपलब्ध गराइएको थियो । खानी तथा भूगर्भ विभागले चुनढुंगा उत्खनन्का लागि अनुमति दिएको बारेमा स्थानीयले धेरैपछि मात्रै थाहा पाएका थिए । गैरकानुनी रूपमा उत्खनन् गरिरहेको शुभम्ले अनुमति पाएकै ठाउँबाट उत्खनन् गर्ने तयारी गरेपछि स्थानीयले त्यसलाई रोकेका थिए ।

मुरुले बचाउन संघर्ष समितिका अध्यक्ष केशवराज चन्दले उद्योगले स्थानीय जनतालाई जालझेल गरेर ढाँटेको आरोप लगाए । पुन: वातावरणीय परीक्षण गरी स्थानीयको जमिनसमेत लिएर इस्लाबाङमा मात्रै उत्खनन् गर्नुपर्ने चन्दले बताए । जहाँबाट अनुमति पाएको छ त्यहीँबाट मात्रै चुनढुंगा उत्खनन् गर्नुपर्ने स्थानीयको माग छ । उनीहरूले कुनै पनि हालतमा मुरुले क्षेत्रबाट उत्खनन् गर्न नदिने जनाएका छन् । मुरुले बचाउ संघर्ष समिति नै गठन गरेर स्थानीयले आन्दोलन गरिरहेका छन् ।

उत्खनन् गर्नुपरे उत्खनन् भइरहेकै ठाउँ इस्लावाङबाट गर्न भनिरहेका छन् भने उद्योगले सोही ठाउँबाट उत्खनन् गर्न खोज्दा उजुरी परेर काम रोकिएको छ । ‘हामीलाई पहिले ढाँटियो । तिम्लागैराको अनुमति लिएर इस्लावाङबाट उत्खनन् गरियो,’ मुरुले बचाउ अभियानका अध्यक्ष केशवराज चन्दले भने, ‘तिम्ला गैरामा उत्खनन् गर्दा उद्योग नै कारबाहीमा परेको सुनेका छौं । अब माथि गएर उत्खनन् गर्ने कुरा सुनेका छौं । हामी कुनै पनि हालतमा उत्खनन् गर्न दिँदैनौं ।’

उनले बरु पुन: वातावरणीय परीक्षण गरी स्थानीयको जमिनसमेत लिएर इस्लाबाङबाटै उत्खनन् गर्छ भने स्थानीयको अवरोध नहुने बताए । उद्योगले स्थानीय जनतालाई ढाँटिरहेको भन्दै कहाँबाट उत्खनन् गर्ने हो सत्य कुरा बताउन स्थानीय पार्वती लामिछानेको माग छ । पर्यटकीय क्षेत्रलाई असर पर्ने गरी चुनढुंगा निकाल्न नदिने लामिछानेले बताइन् । शुभम् खनिज उद्योगले चुनढुंगा उपलव्ध गराइरहेको सम्राट सिमेन्टका जनसम्पर्क अधिकृत सरोज शाहले स्थानीयको सल्लाहअनुसार नै उद्योगले उत्खनन् गर्ने बताए ।

उद्योग स्थानीयभन्दा बाहिर गएर काम गर्न सक्दैन, हामी स्थानीयकै साथमा हुन्छौं । अनुमति लिएको ठाउँभन्दा बाहिरबाट उत्खनन् गरिरहेको शुभम् खनिज उद्योग र चुनढुंगा लगिरहेको सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको भन्दै स्थानीय रुष्ट बन्दै आएका छन् । २०७६ मा स्थानीयसँग गरेको १४ बुँदे सहमति कार्यान्वयन नभएको बताएका छन् । अनुमति लिएको ठाउँभन्दा बाहिरबाट उत्खनन् गरिरहेको शुभम् खनिज उद्योग र चुनढुंगा लगिरहेको सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको स्थानीयले बताएका छन् ।

उनीहरूले २०७६ मा स्थानीयसँग गरेको १४ बूँदे सहमति पालना नगरेको गुनासो गरे । १४ बूँदे सहमतिमध्ये उद्योगले स्थानीय त्रिपुरेश्वरी आवि खाराको भवन निर्माण गरिदिने र शिक्षकको तलब उपलब्ध गराउने भनिएको थियो । भवन नबनाए पनि शिक्षक तलवका लागि साढे चार लाख वार्षिक दिने गरेकोमा ०७९ पछि रोकिएको छ । उद्योगले दिने रकमकै आधार मानेर विद्यालयमा राखिएका चारजना शिक्षकले तलब पाउन सकेका छैनन् ।

केही वर्षको तलब गाउँपालिकाको अनुदानबाट मिलाए पनि ०८१ साउनदेखि शिक्षकले एक पैसा पनि नपाएको विद्यालयका प्रधानाध्यापक रणबहादुर डाँगीले जानकारी दिए । ‘पैसा आउन ०७९ देखि नै रोकिएको हो । ०७९ मा डेढ लाख रोकियो, त्यसपछि ठप्पै छ,’ प्रअ डाँगीले भने, ‘पैसा रोकिए पनि पठनपाठन रोक्नु भएन, स्थानीय सरकारबाट मिलान गरेका थियांै तर गत साउनदेखि चारजना शिक्षकले एक रुपैयाँ पाउनु भएको छैन, कहाँबाट ल्याएर तलब खुवाउने समस्या छ ।’

विद्यालयमात्रै होइन सामुदायिक वनको हेरालुका लागि आउने सहयोग रोकिएको छ भने सहमतिअनुसार एम्बुलेन्स सेवा, सडक निर्माणजस्ता १४ बूँदे सहमतिलाई उद्योगले लत्याएको स्थानीयको भनाइ छ । सहमति पालना नहुनेजस्ता समस्या भए पनि अब नयाँ हिसाबले सहमति गरेर अघि बढ्नुपर्ने रुन्टीगढी गाउँपालिका–६ का अध्यक्ष धनबहादुर घर्तीले बताए । शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट मुरुले क्षेत्रको चार दशमलव पाँच हेक्टर जमिनमा चुनढुंगा उत्खनन्का लागि अनुमति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्