Logo

बुटवलमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु

बुटवल– बुटवलमा अव्यवस्थित बसोबासी जग्गाको नापजाँच सुरु भएको छ । बुटवल उपमहानगरपालिका–११ माथिल्लो मजुवामा आयोजित एक कार्यक्रममा नापजाँच कार्यको सुरु भएको हो । नापजाँच कार्यको सुरुवात गर्दै बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा १६ हजार बढी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको बताए ।

उनीहरूको हातमा लालपुर्जा नदिएसम्म आफू मेयर भएको अनुभूति नहुने पाण्डेयको भनाइ छ । बुटवलमा २००९ सालदेखि बसोबास गरेकाले पनि अझैसम्म लालपुर्जा पाउन नसकेको भन्दै नगर उनले सोमबारमात्रै भूमि आयोगबाट अब्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नेगरी जग्गाको नापजाँच गर्ने अख्तियारी दिएसँगै भूमि आयोग र उपमहानगरपालिकाको प्राविधिक टोलीले मंगलबारदेखि काम सुरु गरेको जानकारी दिए ।

वडा नं ११ को विकासका लागि उपमहानगरपालिकाले सबैभन्दा धेरै २५ करोड रूपयाँ बजेट छुट्याइएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी वर्ष पनि आवश्यकताको आधारमा थप बजेट छुट्याउने प्रतिबद्धता ब्यक्त गरे । तिनाउ दानव करिडोरका कारण विस्थापित हुनेमध्ये कम्तीमा पाँच सय घर विस्थापित हुन नपर्ने गरी नयाँ मापदण्ड बनाउन सकिने बताउँदै उनले स्थानीयको सहमति भए त्यस्तो मापदण्ड बनाएर कार्यान्वयन गरिने उल्लेख गरे ।

भूमि आयोग रूपन्देहीका अध्यक्ष कुमार थापाले देशकै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोवासी रहेको जिल्लामध्ये रूपन्देही दोस्रो नम्बरमा रहेको उनले बताए । वर्तमान भूमि आयोगले भूमिसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्नेगरी काम सुरु गरेको उनले बताए । बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सो वडा बुटवलकै सबैभन्दा धेरै भूमिहीन सुकुम्बासी तथा अब्यवस्थित बसोबास रहेको भन्दै अब लालपुर्जा वितरण हुने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका नापी शाखा प्रमुख त्रिदेव बुढाथोकीले पहिलो चरणमा तीन कित्ता जग्गाको लालपुर्जा वितरण गर्न अनुमति पाएकोले सो क्षेत्रमा बसोबास गरेकाको जग्गा नापजाँच गरी लालपुर्जा तयार गर्नेगरी काम सुरु गरिएको बताए । पटकपटक आयोग गठन भई जग्गा नापजाँच भए पनि जग्गाधनी प्रमाण पुर्जा पाउन नसकेका स्थानीय अहिले जग्गा नापजाँच सुरु भएसँगै खुसी भएका छन् ।

विगत २६ वर्षदेखि टोल विकास संस्थाको नेतृत्व गर्दै आएका आत्मबहादुर रानाले पटकपटक आयोग गठन भई फाराम भर्ने र जग्गा नापजाँच गर्ने गरे पनि लालपुर्जा नपाएको भन्दै यसपटक लालपुर्जा पाइने आशा व्यक्त गरे । स्थानीय इन्द्रा विष्ट र लक्ष्मी कंँडेलले पनि अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न जग्गाको नापजाँच सुरु भएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्