Logo

नीतिगत परिवर्तनले पर्यटन व्यवसायी मारमा

काठमाडौं– सरकारको नीतिगत परिवर्तनले पर्यटन क्षेत्र मारमा परेको व्यवसायीहरूले बताएका छन् । सरकार परिवर्तनसँगै हुने नीतिगत परिवर्तनले लगानी र पर्यटक आवागमनमा असर परेको उनीहरूले बताएका हुन् । पर्यटन व्यवसायीहरूले सरकारले बनाउने नीतिमा एकरुपता नहुँदा व्यवसायीहरू पलायन हुने अवस्थासम्म पुगेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागी व्यवसायीहरूले परिवर्तित नीतिका कारण समग्र पर्यटन व्यवसाय नै मारमा परेको बताए ।

अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्दै आएको भ्याट खारेज गर्न पनि नाट्टाले माग गरेको छ । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले वैदेशिक मुद्राको एकमात्र भरपर्दाे स्रोतको रूपमा रहेको पर्यटन क्षेत्रमा सरकारले सहजीकरण गर्न नसक्नु एवं यससँग सम्बन्धी ऐन, कानुन र नीतिहरू बनाउन नसक्दा व्यवसायीहरू पलायन हुने अवस्थासम्म पुगेको बताएका छन् । व्यवसायीहरूले सरकारले गत वर्षको बजेटमा हवाई भाडामा १३ प्रतिशत भ्याट लगाएको कारण पर्यटन उद्योग नै धरासायी अवस्थामा पुगेको दाबी गरे ।

पर्यटन क्षेत्रको विकास र विस्तार गरी आर्थिक समृद्धि हासिल गर्नको लागि पर्यटनमैत्री ऐन, कानुन बनाएर प्रोत्साहन गर्न सक्नुपर्ने उनीहरूले बताएका छन् । थपलियाले भने,‘सरकारले चाडैं भ्याट खारेज गर्ने निर्णय ढिलो गरेमा पर्यटन आवागमनमा थप गिरावट आउने छ ।’ हवाई टिकटमा १३ प्रतिशत भ्याट लागू गरिएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई भाडा अत्यधिक महँगो भई पर्यटन क्षेत्र प्रतिस्पर्धात्मक बन्न असमर्थ भइरहेको उनको भनाइ छ । यसले नेपाली पर्यटन व्यवसायहरू मात्र नभई देशकै पर्यटन आवागमन दरमा गिरावट ल्याउने जोखिम बढाएको उनले बताए ।

नेपाल जस्तो भूपरिवेष्ठित देशमा यातायातको प्रमुख साधन हवाई यात्रा रहँदा यस्तो करको प्रभाव नकारात्मक हुनेमा उनले जोड दिए । नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं वरिष्ठ व्यवस्थापक सन्तोष घिमिरेले नेपालको पर्यटन क्षेत्रमा पार्ने दीर्घकालीन असर पार्ने बताए । उनले भने,‘सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न रणनीति बनाइरहे पनि भ्याट जस्ता अतिरिक्त करहरूले नेपाललाई पर्यटकका लागि महँगो गन्तव्य बनाउँदैछन् । यसले प्रतिस्पर्धी मुलुकहरूसँग प्रतिस्पर्धा गर्न कठिन बनाइरहेको छ ।’

उनले विश्वभरका मुलुकहरूले पर्यटनलाई आकर्षक बनाउन सहुलियतपूर्ण नीति अपनाइरहेका बेला नेपालले करको भार थपेर पर्यटन प्रवर्द्धनलाई चुनौती दिने नीतिहरू अवलम्बन गर्नु दुर्भाग्यपूर्ण भएको बताए । पछिल्लो समय हवाई भाडादरमा वृद्धि भएसँगै पर्यटकले नेपाल आवागमनको बुकिङ रद्द गरेको समेत अध्यक्ष थपलियाले बताए । सरकारले पर्यटन क्षेत्रको विकास र विस्तार गरी आर्थिक समृद्धि हासिल गर्नको लागि पर्यटनमैत्री ऐन, कानुन बनाएर प्रोत्साहन गर्न सक्नुपर्ने उनले बताए ।

व्यवसायीहरूले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगका समस्या समाधान गर्नको लागि सरकारले ट्रान्सफोर्स बनाउनुपर्ने सुझाव दिएका छन् । नाट्टाका पूर्वअध्यक्ष मधुसुदन आचार्यले हवाई टिकटमा भ्याट लगाउन न्यायोचित नभएको बताए । समग्र पर्यटन उद्योगलाई नै प्रभावित हुने हुँदा हवाई टिकटमा भ्याट लगाउनु न्यायोचित नभएको अध्यक्ष आचार्यले बताए । वायुसेवा सञ्चालक संघले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले गत वर्षको तुलनामा ३० प्रतिशत पर्यटन कम भएको बताउँदै आएका छन् ।

कार्यक्रममा पर्यटन व्यवसायी, ट्राभल तथा टुर एजेन्सीका प्रतिनिधिहरू, सम्बन्धित संघ–संस्थाका पदाधिकारीहरू, मिडिया कर्मीलगायतका १२० भन्दा बढी सहभागीहरू उपस्थित थिए । सहभागीहरूले भ्याट तथा अन्य अनावश्यक करहरूले नेपालको समग्र पर्यटन तथा देशको आर्थिक वृद्धिमा अवरोध पुर्‍याउने बताउँदै सरकारलाई यस्ता करहरू खारेज गर्न विशेष पहल गर्न आग्रह गरे ।

पर्यटन क्षेत्रमा करको दर वृद्धि गर्दा र नयाँ व्यवस्था गर्दा नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने बताइएको छ । यसअघि र्यटन उद्योगका प्रतिनिधिमूलक १५ बढी संस्थाहरूले पर्यटन उद्योगमा लगाएको करको दरले नेपालको पर्यटन उद्योगमा नकारात्मक असर पर्ने जनाउँदै भ्याट तत्काल खारेज गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्