सातै प्रदेशमा मोबाइल भ्यानबाट बजार अनुगमन

काठमाडौं– सातै प्रदेशमा मोबाइल भ्यानबाट बजार अनुगमन गरिने भएको छ । वर्षाैंदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौरमा बेवारिसे बनेका मोबाइल भ्यान सञ्चालनमा ल्याइ सातै प्रदेशमा बजार अनुगमन गर्न लागिएको हो । लामो समयदेखि विभागको चौरमा थन्क्याइएका चार वटा मोबाइल भ्यान पछिल्लो समय मर्मत गरी सातै प्रदेशमा बजार अनुगमनको लागि विभागले प्रयोगमा ल्याइने भएको छ ।
सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको थियो । भ्यान खरिदमा आपूर्तिकर्ता र विभागका केही कर्मचारीको मिलेमतो भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गर्दा खाद्य स्वच्छताका लागि बजार अनुगमन गर्न करोडौँ रुपैयाँमा खरिद गरेका मोबाइल भ्यान विभागको चौरमा थन्किएका थिए ।
सहसचिव एवं महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको जिम्मेवारी सम्हालेपछि चौरमा बेवारिसे बनेका भ्यानमर्मत गरी बजारमा अनुगमनका लागि गत असोज १६ गतेबाट काठमाडौं उपत्यकामा दुई वटा भ्यान सञ्चालनमा ल्याएका थिए । दुई वटा भ्यान भने सञ्चालन आएका थिएनन् । पछिल्लो पटक विभागले उक्त दुई वटा भ्यान पनि मर्मत गरी सञ्चालनमा ल्याएको विभागका महानिर्देशक कर्णले जानकारी दिए ।
काठमाडौं उपत्यका र गण्डकी प्रदेशको बजार अनुगमन गर्ने गरी एउटा भ्यान विभागमा राख्ने र अन्य तीन वटा भ्यान विभिन्न जिल्ला पठाउने तयारी विभागले गरेको उनले जानकारी दिए । महानिर्देशक कर्णका अनुसार एउटा भ्यान यही मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर पठाइसकेको छ । थप दुई वटा भ्यान धनगढी र भैरहवा कार्यालय पठाउने अन्तिम चरणमा रहेको छ । अबको एक साताभित्र धनगढी र भैरहवामा पठाउने तयारी विभागले गरेको उनले जानकारी दिए ।
एउटा भ्यानले दुई वटा प्रदेशलाई समावेश गर्ने गरी कार्य तालिका नै बनाएर बजार अनुगमन गरिने उनले जानकारी दिए । ल्याबसहितको मोबाइल भ्यानले बजारमा अनुगमन गर्दा बजारलाई गुण खाद्य स्वच्छतामा सुधार गर्न सकिने उनले जानकारी दिए । बजारमा छ्यापछ्याप्ती न्यून गुणस्तरका खाद्य वस्तु बिक्री वितरण भइरहेको अवस्थामा ल्याबसहितको मोबाइल भ्यान लिएर बजारमा अनुगमन गर्दा बजारलाई गुणस्तरीय बनाउन धेरै सहयोग पुग्ने बताए ।
महानिर्देशक कर्णका अनुसार देश भरी नै बजार अनुगमनलाई प्रभावकारी बनाउन विभागसँग जनशक्तिको अभाव छ । खाद्य स्वच्छता र बजार अनुगमनलाई प्रभावकारी र गुणस्तर नियन्त्रण गर्न जनशक्तिको कम भएकाले यसलाई बढाउन कृषि मन्त्रालयमा छलफलसमेत भएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा जनशक्ति बढाउने कार्यक्रम पनि ल्याउने योजना रहेको उनले जानकारी दिए । यसैगरी उनका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कारोबार गर्ने खाद्य उद्योग तथा व्यवसायहरुलाई कारबाहीसहित ९५ वटा मुद्दा दर्ता भएका छन् । जसमध्येमा मुद्दाको प्रकृति हेरेर केही जिल्ला अदालत र केही मुद्दा जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार विभागले गर्दै आएको बजार अनुगमनमा धेरै जस्तो खानेपानी, दूध, तेलहरू बढी दूषित र न्यून गुणस्तर हुने गरेको पाइने गरिएको छ । विभागले उक्त विषयलाई बढी लक्षित गरी बजार अनुगमन गर्ने उनले बताए । सबै प्रदेश पुग्ने गरी ल्याबसहितको मोबाइल भ्यानले बजार अनुगमन गर्दा खाद्य स्वच्छातमा केही सुधार आउने अपेक्षा रहेको उनले बताए ।
सबै विषय भ्यानमा नै सम्भावना नहुने हुँदा बढी शंका लागेका खाद्य वस्तु विभागको प्रयोगशाला ल्याएर परीक्षण हुने उनले जानकारी दिए । प्रवक्ता महर्जन भने,‘विभागको अनुगमनको क्रममा दूषित पाइएका ठाउँमै नष्ट र सुधारको लागि निर्देशन दिने गरिएको छ ।’ भ्यानमा परीक्षण नहुने र थप शंका लागेका वस्तुको नमुना संकलन हुने र केन्द्रीय प्रयोगशालामा परीक्षण गरेको रिपोर्टका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गर्ने गरेको उनले जानकारी दिए ।
प्रवक्ता महर्जनका अनुसार विभागसँग पर्याप्त जनशक्ति नहुँदा केही समस्या छ । एउटा भ्यान सञ्चालन गर्न कम्तीमा चार जान जनशक्ति आवश्यक पर्छ । विभागसँग उपलब्ध जनशक्ति छैन । सरकारले बजार अनुगमन प्रभावकारी बनाउन २०७५ वैशाखमा चार मोबाइल भ्यान खरिद गरेको थियो । प्रतिभ्यान करिब ७ करोडका दरले २८ करोड रुपैयाँमा खरिद गरिएको थियो । विभागले दुई र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २ वटा भ्यान खरिद गरेका हुन् । भ्यान खरिदमा आपूर्तिकर्ता र विभागका केही कर्मचारीको मिलेमतो भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा दायरपछि विभागले मोबाइल भ्यानमार्फत बजारमा अनुगमन नगरी बेवारिसे रूपमा फालेको हो । यसअघि विशेष अदालतले मोबाइल भ्यान सञ्चालन गर्न विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २०७९ वैशाख २५ मा नै आदेश दिएको थियो । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमन प्रभावकारी बनाउने नाममा २८ करोड खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको पाँच वर्ष भइसकेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि दैनिक रूपमा बजारमा घुम्नु पर्ने यी मोबाइल भ्यान पाँच वर्षदेखि विभाग परिसरमा थन्किएका थिए ।