यसरी सम्भव छ स्मार्ट सोसाइटी «

यसरी सम्भव छ स्मार्ट सोसाइटी

 

झट्ट हेर्दा स्मार्ट सोसाइटी सजिलै बन्छ जस्तो देखिए पनि यो निर्माणका लागि राजनीतिक इच्छाशक्ति धेरै नै चाहिन्छ ।

स्मार्ट समाज (सोसाइटी) को अवधारणाका बारेमा हिजोआज निकै सुन्ने गरिन्छ । केही वर्षअघिसम्म ‘ई’ शब्द प्राय: सबै विकासका क्षेत्रहरूका अगाडि लगाउने गरिन्थ्यो र अझसम्म पनि यो प्रचलन कायमै छ, जस्तै : ई–सोसाइटी, ई–कृषि, ई–सेवा, ई–हेल्थ, ई–शिक्षा आदि । हिजोआज भने ‘स्मार्ट’ जन्य शब्दहरू बढी प्रचलित हुँदैछन्, जस्तै : स्मार्ट घर, स्मार्ट सहर, स्मार्ट समाज आदि । स्मार्ट घर, सहर, समाज बिस्तारै राजनीतिक एजेन्डाका रूपमा समेत विश्वव्यापी प्रचलित बन्दैछन् । नेपालमा पनि स्मार्टसिटी, स्मार्टपालिका, स्मार्ट सोसाइटीका नामले चर्चा बटुल्दै छन् । यसैलाई मध्यनजर गर्दै स्मार्ट समाज (सोसाइटी) कसरी सम्भव छ भन्ने विषयलाई केही चिरफारको प्रयत्न गरिएको छ ।
संसारमा जनसंख्या वृद्धिदर बढ्दो छ ।
अहिले विश्वको जनसंख्या ७.६ अर्ब अनुमान गरिएको छ र सन् २०५० मा ९.८ अर्ब पुग्ने अनुमान छ । साइबर क्राइम पत्रिकाको सर्वेक्षणअनुसार २०२५ सम्म जम्मा ६ बिलियन मानिसको पहुँचमा इन्टरनेट पुग्नेछ । यो संख्या पृथ्वीको कुल जनसंख्याको ७५ प्रतिशत हो । यो आँकडाअनुसार २०३० सम्ममा ७.५ अर्ब अर्थात् ९० प्रतिशतको पहुँचमा इन्टरनेट पुग्नेछ । नेपालकै सन्दर्भमा पनि जनसंख्या वृद्धिदर बढ्दो छ । यसैगरी इन्टरनेट प्रयोगसमेत बढ्दो छ । नेपाल टेलिकमको गत वर्षको आँकडा हेर्ने हो भने ६३ प्रतिशत जनतामा इन्टरनेट पहुँच पुगेको छ र यो संख्या हरेक महिना बढ्दो छ । २०२५ सम्म नेपालमा पनि ८० प्रतिशतभन्दा बढी जनतामा इन्टरनेट पहुँच पुग्नेछ । यो त भयो इन्टरनेटको कुरा, त्यस्तै बसाइँसराइको अवस्था हेर्ने हो भने पनि मानिसहरू सहरमा केन्द्रित बन्ने, अलि सुविधासम्पन्न ठाउँमा बसाइँ सर्ने प्रचलन छ ।
मूलत: सूचना–सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी जनताको रहनसहनमा सहयोग पु-याएको समाज नै स्मार्ट सोसाइटी हो । स्मार्ट समाज स्थापनाका लागि तीन मुख्य विषयमा ध्यान हुनुपर्छ ।
अन्ततोगत्वा स्मार्ट समाज स्थापनापश्चात् यिनै विषय मजबुत भएर पनि आउँछन् । ती हुन्, जनताको स्वास्थ्य, सुख र खुसी, मजबुत अर्थतन्त्र र कार्यपालिकाको प्रभावकारिता तथा पारदर्शिता । समाजका विभिन्न क्षेत्रमा सूचना–सञ्चार प्रविधिको अन्तत्र्रिmयात्मक तरिका प्रयोग गरी साधनस्रोतको उच्चतम प्रयोगद्वारा अनावश्यक खर्च र एकत्रित आयातलाई कम गर्नु स्मार्ट समाजको उद्देश्य हुने गर्छ । स्मार्ट समाजका केही आधार यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
ऊर्जा : आधुनिक सहर भनौं वा मानव जीवन नै विभिन्न किसिमका ऊर्जामा निर्भर छ । आईओटीद्वारा स्वचालित स्मार्ट ग्रिड र ब्याट्रीको उच्चतम सञ्चय गरेमा यसको सहयोगबाट स्मार्ट समाजमा ऊर्जाको वितरण तथा सञ्चय गर्न सकिन्छ । लाइट, ऊर्जाबाट सञ्चालित यातायातका साधनको प्रयोगमा प्रविधिको प्रयोग गरी ऊर्जाको प्रयोग गर्नाले स्मार्ट समाज निर्माणमा सहयोग पुग्छ ।
यातायात : यातायात अहिलेको समाज निर्माणमा एकदमै महत्वपूर्ण साधन हो । तर, यस्ता साधनबाट सडक निर्माणका कारण जमिन बढी नै प्रयोग भएका छन् । वातावरणीय प्रदूषणको कारक सवारीसाधन भएका छन् भने मानव जीवनमा कुल खर्च बढाइरहेका छन् । यसको प्रयोगबाट हुने नकारात्मक कुराभन्दा बढी यसको प्रयोग गर्नु अतिआवश्यकीय साधन बनेको छ । स्मार्ट सोसाइटीका लागि स्मार्ट प्रविधिको यातायात क्षेत्रमा सकारात्मक प्रभाव हुने गर्दछ । सूचना–सञ्चार प्रविधिको प्रयोग माथि उल्लिखित ऊर्जाको प्रयोग, प्रदुषण, खर्च लगायत कम गर्न सकिन्छ ।
सामुदायिक सुरक्षा : सुरक्षाकै कारण मानव जीवन असामान्य बन्दै गएको छ । मानिसबाटै सुरक्षामा चुनौती थपिँदैछ, साथै यसबाट समाज आक्रान्त छ । घर, व्यवसाय, सडक, कार्यालयहरूमा सिसिटिभीको प्रयोग, विभिन्न खाले सुरक्षाका उपकरणहरू मोबाइल एपहरूको प्रयोग पनि बढ्दो छ । समाज निर्माणमा सामुदायिक सुरक्षा निकै महत्वपूर्ण विषय हो । स्मार्ट समाज निर्माणका लागि समेत सूचना सञ्चार प्रविधिको प्रयोग गरी सामाजिक सुरक्षालाई टेवा पु-याउने खालका क्रियाकलाप हुन जरुरी छ ।
शिक्षा : स्मार्ट समाजको एउटा मापदण्ड शिक्षा पनि हो । शिक्षित समाज स्मार्ट समाजको आधार हो । स्मार्ट समाज निर्माणका लागि डिजिटल दूरी कम हुनुपर्छ । शिक्षित समाजले मात्र डिजिटल दूरी कम हुने गर्छ । शिक्षामा प्रविधिको प्रयोगका साथै प्रविधिक शिक्षा पनि स्मार्ट समाजका लागि आवश्यक हो । कक्षाकोठामा मात्र प्रविधिको प्रयोग गरेर होइन, समग्र शिक्षा प्रणालीमा स्मार्ट प्रविधिहरूको प्रयोग गरिनुपर्छ ।
स्वास्थ्य : स्वास्थ्य क्षेत्र पनि प्रविधिमै आधारित भएकाले जनस्वास्थ्य क्षेत्रमा प्रविधिको सकारात्मक प्रभाव परेको छ । यसको प्रयोगले लगानीसमेत घटाएको छ । टेलिमेडिसिनको प्रभावले स्वाथ्यको पहुँच दूरदराजसम्म फैलाउन सम्भव छ । स्वास्थ्यसँग सम्बन्धित विभिन्न सफ्टवेयर तथा मोबाइल एप र व्यक्तिगत उपकरणहरूले आफ्नो स्वास्थ्यस्थितिमा राम्रै सहयोग गरिराखेका छन् भने स्मार्ट समाज निर्माणमा जनस्वास्थ्यलाई केन्द्रमा राखि स्मार्ट प्रविधि र डाटाको प्रयोगवाट, व्यक्तिको अन्तत्र्रिmयात्मक तरिकाबाट प्रयोग गर्न सकिन्छ ।
रोजगारी तथा आविष्कार : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का माध्यमले पुराना कामलाई विस्थापित गर्दै गइरहेको अवस्थामा सूचना–सञ्चार प्रविधिका कारण रोजगारी घटेको भन्ने पनि छ । तर, वास्तविकता त्यसो नभई आधुनिक प्राविधिक क्षेत्रमा रोजगारीका नयाँ विधा थपिएका छन् । नयाँ आविष्कार तथा आधुनिक प्रविधिको माध्यमबाट प्राविधिक रोजगारिमा वृद्धि त भएकै छ, त्यसमाथि पुरातन शैलीलाई परिवर्तन गरिदिएको छ । जसले समय, खर्चसमेत कम गरिदिएको छ । मानिसले पशुहरूका माध्यमबाट गर्दै आएको गाह्रो कामलाई मेसिनले विस्थापित गरिदिएको छ । डेलोइट कम्पनीले गरेको इंग्ल्यान्ड र वेल्सको विगत १४० वर्षको तथ्यांककोे अध्ययनबाट प्रविधिका कारण जति रोजगारी घटाएको छ, त्योभन्दा बढी नयाँ रोजगारीको सिर्जना गरेको पुष्टि गरेको छ ।
आधारभूत आवश्यकता : स्मार्ट समाजका लागि त्यहाँको पर्यावरण तथा पानी निकै महत्वपूर्ण रहन्छ । प्रविधिको प्रयोग गरी आधारभूत वस्तुहरूको वितरण तथा आपूर्ति स्मार्ट समाजका लागि अति आवश्यक छ । गुणस्तरको प्रत्याभूति, पानीलगायतका लागि प्रविधिको प्रयोग पनि स्मार्ट समाज स्थापनाका लागि आवश्यक तत्वहरू हुन् । गाँस, बास, कपासजस्ता विषयलाई प्रविधिकै प्रयोगमार्फत पूर्ति गर्नु नै स्मार्ट समाजको आधार हो ।
प्रविधिलाई केन्द्रमा राखेर हेर्दा, तीन मुख्य विषयहरू इन्टरनेट अफ थिङ्स, विग डाटा, नेटवर्क तथा कनेक्टिभिटीको सम्मिश्रणबाट स्मार्ट सोसाइटीका लागि आधार तयार हुन्छ ।

इन्टरनेट अफ थिङ्स
आईओटी भनेर चिनिने इन्टरनेट अफ थिङ्स, सूचना सञ्चार प्रविधि क्षेत्रमा निकै सुनिन्छ । यो एउटा एकत्रित प्रणाली हो, जसमा कम्प्युटर वा कम्प्युटरजन्य उपकरणमात्र नभई विद्युतीय सामग्रीहरू, वस्तुहरू, जनावर तथा मानिससमेत अन्तरसम्बन्धित भई छुट्टै पहिचान बनाएका हुन्छन्, जसले नेटवर्क तथा कनेक्टिभीटीको माध्यमबाट डाटा मानव तथा कम्प्युटर वा मानव–मानवबीच सम्प्रेषण गरिन्छ ।

बिग डाटा
बिग डाटा अत्यन्त ठूला एकै किसिमका डाटाहरूको भण्डार हुन् । कम्प्युटरको माध्यमबाट डाटाको तौरतरिका, यसका अन्तरसम्बन्धहरू खासगरी मानिसका बानीव्यवहार र अन्तरक्रियाका आधारबाट मात्र यसको अध्ययन तथा केही खास निर्णय लिने वा गर्न सकिन्छ । स्मार्ट सोसाइटीमा सही निर्णयहरू केबल डाटाको सही अध्ययनले मात्र हुने गर्छन् । हिजोआज प्रविधिका लागि गरिने ठूला लगानी डाटाको भण्डारणलाई व्यवस्थापन तथा परिष्कृत गर्नमा हुने गर्छन् ।

नेटवर्क तथा कनेक्टिभिटी
नेटवर्क तथा कनेक्टिभिटी, स्मार्ट सोसाइटीका लागि अर्को महत्वपूर्ण पूर्वाधार हो । नेटवर्क तथा कनेक्टिभिटी भन्नाले नेटवर्क उपकरणहरूको माध्यमबाट कम्प्युटर वा कम्प्युटरजन्य उपकरणहरू एक–आपसमा जोडिएर डाटाको आदानप्रदान गरिराखेका हुन्छन् । हाम्रो दैनिक जीवनमा प्रयोग हुने अथवा जानेसुनेका जस्तै मोबाइल नेटवर्क, इन्टरनेट, वाइफाइ नेटवर्क तथा कनेक्टिभिटीका केही उदाहरण हुन् ।
विकासका क्षेत्रहरूमात्र नभई समाजमा भएका नैतिक मूल्य, मान्यता, नीतिनियम, सांस्कृतिक गतिविधि र कानुनकै आधारहरूलाई नै स्मार्ट सोसाइटीका लागि चाहिने मान्यताहरूको रूपमा लिन सकिन्छ, जसले वास्तविक समाजलाई निर्देशित गर्छ । नैतिकता कायम राख्नकै लागि नीतिनियम, कानुनहरू चुस्तदुरुस्त हुने गर्छ, जसका आधारमा स्वतन्त्र तरिकाले बाँच्ने आधारसमेत बन्ने गर्छ । समाजले जनता बनाउने होइन कि जनता मिलेर समाज बन्ने गर्छ । जनघनत्वको व्यवस्थापन र आत्मनिर्भरका साथै न्याय, शान्ति, जनअधिकार, सामाजिक सुरक्षाजस्ता विषयहरू स्मार्ट समाजका मान्यताहरूमा पर्ने गर्छन् ।
झट्ट हेर्दा स्मार्ट सोसाइटी सजिलै बन्छ जस्तो देखिए पनि यो निर्माणका लागि राजनीतिक इक्षाशक्ति धेरै नै चाहिन्छ । स्मार्ट समाज निर्माणमा केही प्राविधिक चुनौती पनि छन् । स्मार्ट समाज निर्माणको सुरुवातदेखि नै साइबर सुरक्षाजस्ता विषयहरूलाई योजनाबद्ध तरिकाले प्रयोग तथा अवलम्बन गर्दै जानुपर्छ । विज्ञ प्रविधिकहरूको परामर्श तथा स्मार्ट सोसाइटीका विभिन्न आयामलाई समयानुकूल प्रयोग तथा प्रवद्र्घन पनि जरुरी छ । नयाँ प्रविधिहरूको सोच बनाउने विचारहरूलाई समाजमा स्थान दिनुपर्छ तथा विचारहरूको प्रवद्र्धनसमेत गर्नुपर्छ, नयाँ प्रविधि र सोचहरूको समयानुकूल प्रयोग गर्नुले स्मार्ट सोसाइटी निर्माणमा टेवा पुग्छ ।
विकसित देशका ठूला सहरहरू कसरी स्मार्ट प्रविधिको प्रयोग गरिरहेका छन् भनी उदाहरण लिन सकिन्छ भने स्मार्ट सिटी स्मार्ट समाजको एक सानो हिस्सामात्र हो । जनता, सरकार, व्यावसाय, संघसंस्थाहरू एक–आपसमा जुटेर बृहत्तर रूपमा काम गरी आवश्यकताहरूको सहयोगी बनी प्रविधिमा आधारित सेवासुविधा दिने गर्छन् । यसकारण स्मार्ट तथा सुरक्षित समाज निर्माण गर्नुमा दुनियाँको ध्यान केन्द्रित भएको छ, हामीले यसलाई नपच्छ्याई सुखै छैन । अबको विकासको बाटो समात्न हामी कहाँसम्म स्मार्ट सोसाइटी तथा सहरहरूको निर्माणका तयारीमा छौं भन्ने नै मुख्य विषय हो ।

 

प्रतिक्रिया दिनुहोस्