विपक्षीको अवरोधका कारण एक घण्टा स्थगित भयाे राष्ट्रियसभा बैठक

काठमाडौं- राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बिहीबार राष्ट्रियसभा बैठकको कारबाही सुरु गर्न खोज्दा विपक्षीहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गरेका हुन् ।
विपक्षीहरु उठेर विरोध गरेपछि अध्यक्ष दाहालले नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाललाई बोल्न समय दिएका थिए । डा. भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिए ।
अवरोधका बीच अध्यक्ष दाहालले नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिए । सांसद सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिन भित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सुचारु गर्न आग्रह गरे । उनले विपक्षीहरुले ६० दिनको समय सीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोप लगाए ।
पटक-पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरे ।