लक्ष्मी स्टिल्समा एनआईबीएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौं– एनआईएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टिल्समा लगानी गर्ने भएको छ । दुई पक्षबीच यससम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतामा एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टिल्सका निर्देशक बिमल कुमार सावरथियाले हस्ताक्षर गरेका छन् ।
यस साझेदारीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन थप मद्दत गर्ने कम्पनीले जनाएको छ । सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टिल्स लिमिटेड, टीएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा छ । नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टिल उत्पादन गर्न प्रतिबद्ध रहिआएको छ ।
सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्याउन सफल हुने कम्पनीको विश्वास छ । एनआईबीएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्याउने कम्पनीले उल्लेख गरेको छ । एनआइएमबी एस क्यापिटलका अध्यक्ष टिवडेवालले लक्ष्मी स्टिल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए ।