Logo

एल्युमिनियम रड उद्योगको सुरु

काठमाडौं– लिट्मस इन्डस्ट्रिजले लिट्मस २.० अन्तर्गत नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ ।

नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको छ । हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ ।

यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्नेछ । एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ ।

परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । कच्चा पदार्थमा स्थानीय रूपमा मूल्य संवद्र्धन गर्दै जाने यो दृष्टिकोण सरकारले लिएको आत्मनिर्भर औद्योगिक विकासको मार्गचित्रसँग पूर्णत: मेल खान्छ ।

प्रतिक्रिया दिनुहोस्