पर्यटकीय गन्तव्य बन्दै ‘रेड सोइल पार्क’

रोल्पा– सुनिलस्मृति गाउँपालिका–१ घोडागाँउमा अवस्थित रातोमाटो (रेड सोइल पार्क) पर्यटनको अथाह सम्भावना भए पनि ओझेलमा परेको छ । प्रचारप्रसार अभावले पर्यटक घोडागाउँको रातोमाटो बगैंचामा पुग्न सकेका छैनन् । केही मात्रामा आन्तरिक पर्यटक उक्त पार्कमा घुम्न आए पनि ठूलो परिणाममा बाह्य पर्यटकलाई भित्र्याउन सकिएको छैन । सडकको सहज पहँच पुगेको उक्त क्षेत्रमा पुग्न कठिनाइ भने छैन ।
उक्त क्षेत्र भालुवाङ–रोल्पा सडक खण्डअन्तर्गत रोल्पा र प्युठानको संगमस्थलमा पर्छ । रोल्पा र प्युठानको संगमस्थलबाट करिब दुई किलोमिटरको सवारीयात्रामा सहजै रूपमा पार्कमा पुग्न सकिन्छ । सहजै रूपमा पुग्न सकिने भए पनि बाह्य पर्यटकलाई भित्र्याएर आम्दानीको स्रोतको रूपमा लिन सक्ने सम्भावना हुँदाहुँदै पनि सरकारले ठोस कदम चाल्न सकेको छैन ।
यस क्षेत्रलाई पर्यटन व्यवसायको रूपमा विकास गर्न चासो दिए पर्यटन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ । विभिन्न समयमा केही परिणाममा आन्तरिक पर्यटक भने उक्त ठाउँमा गएर फोटो, खिच्ने, भिडियो बनाउने, वनभोज कार्यक्रम गर्दछन् । रोल्पा र प्युठान जिल्ला आसपासका आन्तरिक पर्यटक पार्कमा बेलाबेलामा घुम्न जाने गर्दछन् ।
रातोमाटो बगैंचा भएको तलबाट नजिकै माडी नदी बगिरहन्छ । बगैंचाको नजिकै सुनिलस्मृति गाउँपालिका–२ खुंग्रीको त्रिपुरासुन्दरी देवी मन्दिर र चतुर्भुजमा शिव पार्वती मन्दिर साथै खुंग्रीमै तत्कालीन समयको बाइसे चौबिसे राज्यअन्तर्गतको खुंग्रीकोट दरबार पनि छ । यी क्षेत्रलाई पनि पर्यटनको उच्च सम्भावना मानिन्छ ।
रातोमाटो बगैंचा, त्रिपुरासुन्दरी देवी मन्दिर, शिव पार्वती मन्दिर र खुंग्रीकोट दरबारलाई संरक्षण र प्रवर्द्धन गर्नसके पर्यटनको सम्भावना रहेको सुनिलस्मृति गाउँपालिका–२ का स्थानीय रोशन गिरिले बताए । ‘अहिले आन्तरिक पर्यटकमात्र घुम्न आउने अवस्था छ, यसलाई थप प्रचारप्रसार गर्नसके बाह्य पर्यटक पनि तान्न सकिने थियो,’ उनले भने, ‘यसका लागि सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस कदम चाल्नुपर्छ ।’
रातोमाटो बगैंचामा संरचना बनाएर खुंग्रीको मन्दिरसँग कनेक्सन गर्न सकेमात्र पनि पर्यटन विकासमा थप टेवा पुग्ने आन्तरिक पर्यटक चोम्फे घर्तीमगरले बताए । ‘यस क्षेत्रमा होटेल, क्याफे सञ्चालन गर्नसके यहाँ पर्यटन व्यवसायको राम्रो सम्भावना छ,’ उनले भने, ‘अझ रातोमाटो क्षेत्रलाई चारैतिरबाट संरक्षण गरेर अवलोकनका लागि टिकटको व्यवस्था गर्नसके सरकारलाई आम्दानीको स्रोत पनि बन्ने थियो ।’
नजिकैको लुंग्री र माडी खोलामा र्याप्टिङ सञ्चालन गर्नसके यसको उचाइ अझ बढ्ने उनको भनाइ छ । चतुर्भुजको महिमा उल्लेखनीय र महत्त्वपूर्ण पनि छ । सुवर्णावती गंगा र माण्डवी गंगाको संगमस्थलमा रहेको चतुर्भुज परापूर्वकालमा ब्रह्माजीको व्रतबन्ध भएको हो भन्ने जनश्रुति पाइन्छ । सदियौँ अगाडि चतुर्भुजमा उन्मत्तेश्वर महादेवको मन्दिर रहेको र धर्मशाला पनि भएको अग्रजको भनाइ छ ।
चतुर्भुजमा पहिलेदेखि नै मकरसंक्रान्ति, वसन्तपञ्चमी र शिवरात्रीमा ठूलो मेला लाग्ने लाग्ने गर्दछ । अहिले पनि यहाँ वसन्तपञ्चमी, शिवरात्री लगायतको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । चतुर्भुजमा रहेको लुंग्री र माडीको संगमस्थलमा माघेसंक्रान्तिमा नुहाउन जाने र शिवरात्रीका दिन शिवपञ्चायन मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्दछ । प्यूठानको स्वर्गद्वारी मन्दिरसँग पनि यो मन्दिर जोडिने गर्दछ ।
स्वर्गद्वारी आश्रमका प्रभुमहाराजले यस संगमस्थल चतुर्भुजमा गुप्त रूपले गुफामा निस्कनु भई त्यहाँको पानी चढाउने भन्ने जनश्रुति पनि पाइन्छ । यसरी स्वर्गद्वारी र चतुर्भुजको सम्बन्ध गाँसिएको छ । गंगा स्नानका साथै शिव मन्दिरमा दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । शिव मन्दिरको करिब डेढ किलोमिटरको दूरीमा त्रिपुरासुन्दरी देवीको ठूलो मन्दिर अवस्थित छ । नेपालको ४९औं शक्तिपीठको रूपमा त्रिपुरासुन्दरी देवी मन्दिरलाई लिने गरिन्छ ।
रोल्पा र प्युठानको संगमस्थलमा अवस्थित यस क्षेत्रमा पर्यटक तान्नका लागि कदम चाल्न आवश्यक रहेको सुनिलस्मृति गाउँपालिका–२ खुंग्रीका स्थानीय तथा साहित्यकार अमर अधिकारीको भनाइ छ । ‘स्वर्गद्वारी र चतुर्भुजको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि स्वर्गद्वारी आउने तीर्थयात्रीलाई चतुर्भुजमा पनि स्वागत गर्न सक्नुपर्छ,’ उनले भने, ‘यसले गर्दा पर्यटन व्यवसायमा थप टेवा पुग्ने थियो ।’ देश विकासको महत्त्वपूर्ण आधार पर्यटन विकास पनि रहेको उनको भनाइ छ ।
सुनिलस्मृति गाउँपालिका–१ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पवनकुमार कवरले रेड सोइल पार्कमा पर्यटन तान्नका लागि नजिकै खुंग्रीमा रहेको शिव मन्दिर र त्रिपुरासुन्दरी देवी मन्दिरसँग सहजै रूपमा आवतजावत गर्नका लागि पुल निर्माण गरिने बताए । ‘यो वर्ष संरचना निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट १५ लाख विनियोजन भएको छ,’ उनले भने । पार्कमा केही संरचना बनेमा अवश्य पनि पर्यटकलाई केही सहज हुने उनको भनाइ छ ।