प्लाइउड निर्यात खुलाउन माग

बिर्तामोड– भारतले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) को कारण देखाउँदै निकासी ठप्प बनाएको प्लाइउड निर्यात खुलाउन नेपाल भेनियर उत्पादक संघले माग गरेको छ । भारतले बीआईएसको कारण देखाउँदै प्लाइउडलाई भारतमा निकासी गर्न रोकटोक गरेपछि स्वत: स्फूर्त रूपमा प्लाइउडलाई भारतमा निकासी गर्ने वातावरण मिलाई दिन नेपाल भेनियर उत्पादक संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।
भारतले गत मार्च २१ तारिकबाट बीआईएसको कारण देखाउँदै प्लाइउडलाई पूर्वीनाका काँकडभिट्टाबाट भारत प्रवेशमा रोक लगाएकाले तत्काल निकासी खोल्न भेनियर उत्पादक संघका अध्यक्ष श्यामप्रसाद न्यौपानेले माग गरे । भारतले प्लाइउड निकासीमा रोक लगाउँदा त्यसको असर भेनियर उद्योगमा समेत पर्ने उनको भनाइ छ ।
भारत निकासी हुने व्यवस्था मिलाउन उनले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघसँग पनि आग्रह गरेका छन् । भेनियर उद्योगबाट उत्पादित कोर भेनियर (भेनियर पाता) प्लाइउड उद्योगहरूले प्लाई सिट बनाउनका लागि कच्चा पदार्थको रूपमा उपयोग गर्ने गरेकाले प्लाइउड निकासी बन्द हुँदा भेनियर उद्योगीसमेत समस्यामा पर्ने उनको भनाइ छ ।
पहाडमा खेर गइरहेको कुकाठ बिक्रीबाट किसानको आयस्तर वृद्धि गर्न, मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न, विदेशी मुद्राआर्जन गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न र राज्यलाई ठूलो मात्रामा राजस्व बुझाएर अर्थतन्त्रलाई बलियो बनाउन भेनियर उद्योगले महत्त्वपूर्ण योगदान पुर्याइरहेको न्यौपानेले बताए । उनले प्लाइउड निकासी बन्द हुँदा भेनियर उद्योगसमेत बन्द गर्नुपर्ने अवस्था आउने चिन्ता व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेश शाक्यले प्लाइउड निकासी बन्द हुँदा भेनियर उद्योगको स्थानीय बजार गुम्ने, भेनियर उद्योगमा कार्यरत मजदुर कटौती गर्नुपर्ने अवस्था आउने बताए । प्लाइउड निकासी बन्द हुँदा भेनियर उद्योगसमेत बन्द गर्नुपर्ने र त्यसले राजस्व संकलनमा ठूलो असर पुग्ने बताउँदै उनले प्लाइउड निकासी तत्काल सुचारु गर्न आग्रह गरे ।
नेपाल भेनियर उत्पादक संघका महासचिव सञ्जीवकुमार बर्माले पहाडको अन्नबाली नहुने रुखोपाखो जग्गाबाट संकलन हुने कमसल काठबाट भेनियर उत्पादन हुने बताउँदै प्लाइउड निकासी बन्द हुँदा भेनियर उद्योगमा समेत असर पुग्ने र त्यसको मारमा भेनियर उत्पादन हुने पहाडी जिल्लाका किसानसमेत पर्ने भएकाले प्लाइउड निकासी अविलम्ब खोल्नुपर्ने बताए ।
झापामा ३४ वटा भेनियर उद्योग सञ्चालनमा रहेको र ती भेनियर उद्योगले तीन हजारभन्दा बढी मजदुरलाई प्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको बताउँदै उनले प्लाइउड निकासी बन्द हुँदा भेनियर उद्योगसमेत बन्द गर्नुपर्ने अवस्थाले ती मजदुरहरुको रोजीरोटी गुम्ने चिन्ता व्यक्त गरे ।
पहाडको निजी आबादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, कदम, मलातो, पिठारी, मौवालगायतका रुखको काठलाई कच्चा पदार्थको रूपमा प्रयोग गरेर भेनियर उद्योगले भेनियर पाता उत्पादन गर्दै आएको बताउँदै महासचिव बर्माले यसरी उत्पादन गरिएको भेनियर पाता प्लाइउड उद्योगका लागी आवश्यक हुने भएकाले प्लाइउड निकासी बन्द हुँदा पहाडका किसानको समेत गुजारा नचल्ने अवस्था नआएको उनको भनाइ छ ।
अध्यक्ष न्यौपानेले भेनियर उद्योगलाई धरासायी हुनबाट जोगाउन सरकारले निकासीमा सहुलियत प्रदान गर्नुपर्नेमा जोड दिए । भेनियर पाताको भारत निकासी दर रेट प्रतिकेजी ६ रुपैयाँ सरकारले तोकेको र यसलाई घटाएर तीन रुपैयाँ कायम गर्न उनले सरकार समक्ष माग गरे । नेपालभित्र ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने, कृषिउपज निकासी गरेर किसानको आर्थिक स्तर वृद्धि गर्ने, वैदेशिक मुद्रा भित्र्याउने र राजस्व बढाउन योगदान दिने भेनियर उद्योगलाई धरासायी नबनाउन उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
पहाड तथा तराई क्षेत्रको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, चिलाउने, कदम, पिठारो, मलातो, मौवालगायत रूखका काठलाई कच्चापदार्थका रूपमा प्रयोग गरी उद्योगले भेनियर पत्ता उत्पादन गरिरहेको संघका वरिष्ठ उपाध्यक्ष शाक्यले बताए । उनले ठूलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन माग गरे ।