ठेकेदारको बदमासी
ठेक्का लिएर चार वर्षदेखि कर्णालीका आठ प्रहरी भवन अलपत्र

वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकारको झन्डै २५ करोड रुपैयाँबाट निर्माण भइरहेका आठ प्रहरी भवन अलपत्र परेका छन् । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट प्रहरी इकाइको भवनसहित मेस, ब्यारेक, शौचालय, खानेपानीलायत निर्माणको ठेक्का खोलेको थियो । सबै व्यवसायीले ठेक्का सम्झौता गरेसँगै २० प्रतिशत पेश्कीसमेत लिइसकेको प्रदेश प्रहरी कार्यालयअन्तर्गतको भौतिक पूर्वाधार महाशाखाका डीएसपी सुमन दाहालले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले प्रदेशभित्रका प्रहरी इकाइहरुको पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी डोल्पाको व्यारेक भवन र मेस निर्माणका लागि तुल्सीभक्त/क्याभान जेभीले तीन करोड १४ लाख रुपैयाँमा २०७६ जेठ २४ गते सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन ।
२०७७ जेठ २३ गते निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म मुस्किलले ४० प्रतिशत काम गरेर बीचमै अलपत्र पारिएको छ । प्रहरीले भवनको अभावमा अहिले टिन र त्रिपाल हालेर मेस र व्यारेकको काम चलाइरहेको डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । मेस र ब्यारेकका लागि अहिले दुईवटा टिनको टहरा र एउटा त्रिपाल राखेर प्रहरीलाई खाना खुवाउने र बसोबासको व्यवस्था गरिएको उनको भनाइ छ ।
त्यस्तै एमके/देवसिंह जेभीले २०७६ जेठ २९ गते पाँच करोड ४५ लाख रुपैयाँमा जिल्ला प्रहरी जुम्लाको कार्यालय, ब्यारेक, मेस र शौचालय निर्माणका लागि सम्झौता भए पनि हालसम्म काम हुन सकेको छैन । २०७७ जेठ २८ भित्र सम्पन्न गरिसक्नु सम्झौतामा उल्लेख भएको कामको हालसम्म भौतिक प्रगति १८ प्रतिशत रहेको छ । जुम्लाका डीएसपी छेदिलाल कामतीले २०३४ सालमा बनेको जीर्ण भवनमा किलाकोच गरेर कामकाज गरिरहेको बताए ।
कालिकोटको इलाका प्रहरी कार्यालय थिर्पु दुई करोड ६१ लाखमा गाल्भा/क्याराभान/सुपरस्टार जेभीले, डोल्पाको प्रहरी चौकी धोमा पनि क्याराभानले नै तीन करोड ७५ लाखमा र कालिकोटको इलाका प्रहरी कार्यालय रास्कोट दुई करोड ६१ लाखमा न्यू ड्राइगन निर्माण सेवाले बनाउने जिम्मा लिए पनि हालसम्म सबै भवन अलपत्र अवस्थामा छन् । यी सबै भवन निर्माण गर्ने भन्दै २०७६ जेठ र असारमा सम्झौता भए पनि अलपत्र रहँदै आएको अवस्था छ ।
सबैको भवन निर्माण गनुपर्ने मिति २०७७ जेठ मसान्तसम्म रहे पनि काम नहुँदा समस्या हुँदै आएको प्रहरीको भनाइ छ । प्रहरी चौकी धोमा भौतिक प्रगति तीन प्रतिशत रहेको छ । हुम्लाको मौलाकवाडी प्रहरी चौकी तीन करोड तीन लाखमा क्याराभान/सुपरस्टार जेभीले, मुगुस्थित प्रहरी चौकी कालैमा दुई करोड ८६ लाखमा अमर/मजदुर जेभीले र प्रहरी चौकी हिल्सामा धुलिखेल/निसान जेभीले दुई करोड ३६ लाखमा ठेक्का लिएकोमा यी तीनवटै काम ३५ प्रतिशतमात्र भएको पाइएको छ ।
सबै ठेक्का २०७७ असार पहिलो सातासम्म निर्माण सक्नेगरी सम्झौता भएको थियो । गत वर्षको जाजरकोट भूकम्पका कारण पुराना प्रहरी भवनमा क्षति पुगेकाले पनि विभिन्न प्रहरी इकाइको बसाइ असहज बनेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) शिवकुमार श्रेष्ठले बताए । अधिकांश भवन निर्माणमा क्याराभान जोडिएको छ । क्याराभानले अन्य दर्जनौ ठाउँमा ठेक्का अलपत्र पार्दै आएको छ ।