दाङमा तीन महिनापछि हवाई सेवा सुरु हुने

दाङ– तीन महिनाभन्दा बढी समय बन्द भएको जिल्लाको हवाइ सेवा पुन: सुरु हुने भएको छ । गत पुस २ गते बन्द भएको हवाइ सेवा यही चैत १८ बाट सुरु हुने भएको हो । आउँदो सोमबार टरिगाउँ विमानस्थलमा विमान आउने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । सुनारका अनुसार निगमका विमानको इन्जिनमा समस्या आएपछि नियमित सेवा दिन नसकेको उनले बताए ।
विमानमा नयाँ इन्जिन राखेर ल्याएपछि सेवा दिन थालिएको उनको भनाइ छ । ‘छिट्टै नै कार्य तालिका प्रकाशन हुन्छ । विमानको नियमित उडान हुनेछ’ सुनारले भने । कार्यतालिका आएपछि उडान तालिकाबारे थाहा हुने उनले बताए । चैत महिनामा साताको २ दिन विमान आउने उनले बताए । वैशाखदेखि यात्रुको संख्याअनुसार साताको चार दिनसम्म विमानमा आउने उनको भनाइ छ । यात्रुको संख्याको आधारमा जहाज आउने इञ्चार्ज सुनार बताउँछन् ।
‘हामी यात्रुको खोजिमा रहेका छौं । यात्रुहरूको संख्या बढेमा विमान आउने दिन पनि बढने छ’ उनले भने । विमानमा आए पनि यात्रु नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । ‘यसअघि विमान आएर पनि यात्रु नहुने समस्या थियो । तर पनि साताको २ दिन विमानमा आउने गरेको थियो’ उनले भने । तीन महिनादेखि विमान सेवा बन्द हुँदासम्म पनि कसैको ध्यान पुग्न सकेको थिएन । नियमित उडान हुनु पर्ने भए पनि भएको उडानसमेत बन्द हुने र सञ्चालन हुने गर्दै आएको थियो ।
विसं २०११ देखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थल चल्ने बन्द हुने क्रम चल्दै आएको छ । वायु सेवा निगमको जहाज गत पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको सुनारले बताए । जिल्लाको एक मात्र टरिगाउँ विमानस्थलमा विमान आउन छाडेसँगै हवाइ सेवा बन्द भएको हो । उडान बन्द भएसँगै जिल्लाबासीले हवाइ सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । यहाँका नागरिकले हप्तामा २ दिन हवाइ सेवा पाउँदै आएका थिए ।
त्यसपछि हप्ताको १ दिन मात्र विमान आउने गरेको थियो । टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको हो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो । पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान गर्दै आएको थियो । तीन महिनादेखि पूर्ण रूपमा उडान बन्द रहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलको धावनमार्ग ७५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ । गत वर्ष मात्रै एक करोड खर्चेर नयाँ टावर निर्माण गरिएको थियो । अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्यांकर ल्याइएको थियो । विसं २०११ देखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिको माग लामो समयदेखि हुँदै आएको छ । तर यसले सार्थकता पाउन सकेको छैन ।
पछिल्लो समय गत माघमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल पनि तुलसीपुर आउँदा टरिगाउँ एरपोर्टको विस्तार तथा तुलसीपुर–घोराही सडक खण्ड चार लेन बनाउने कुरा उठाएका थिए । वर्षौंदेखि हरेक चुनावमा उम्मेदवारले आफ्नो प्रमुख चुनावी नारामा टरिगाँउ एयरपोर्ट विस्तारको कुरा उठाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको बताइन् । विमानस्थल पुन: सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ठूला जहाजका लागि एक हजार २५० देखि एक हजार ५५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डीपीआरमा उल्लेख छ ।
धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ । धावनमार्ग विस्तारकालागि सँगै रहेको कपास विकास समितिको चार बिघा जग्गासमेत विस्तारका लागि ल्याउने प्रक्रियाअघि बढेको बताइएको छ । धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्रसमेत पठाएको छ । यसअघि तुलसीपुरमा रहेको एयरपोर्टको धावन मार्ग विस्तार गर्न नागरिकस्तरबाट खुत्रुके अभियानसमेत सञ्चालन गरेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो । यसमा अन्य उद्योग वाणिज्य संघले समेत सहयोग गरेका थिए । सरकारलाई दबाब दिन खुत्रुके अभियान सञ्चालन गरिएको उनीहरूको भनाइ छ । एयरपोर्टमा गएर विभिन्न सामाजिक संघ संस्थाले दबाब दिन बैठकसमेत सञ्चालन गरेका थिए । नियमित उडान नहुँदा ठूला उद्योगी नआउने गरेको उनीहरूको भनाइ छ ।