Logo

अर्थतन्त्रसँग जोडिएको घरकर्जा

घरजग्गा कारोबार र अर्थतन्त्र एकापसमा जोडिएका विषय हुन् । हाम्रो मुलुकको अहिलेको सन्दर्भमा अर्थतन्त्र चलायमान बनाउन घरजग्गा कारोबारमा सुधार आउनैपर्छ । घरजग्गा क्षेत्रमा ठूलो लगानी भएको र अहिले त्यो ‘डम्प’ जस्तै रहेको अवस्था छ । घरजग्गा किनबेच बढ्न सुरु भएपछि सुस्त रहेको अर्थतन्त्रमा पनि पक्कै सुधार आउनेछ । घरजग्गा कारोबार चलायमान हुन सबैभन्दा बढी सहयोग बैंक कर्जाले पुर्‍याउँछ ।

अहिले बैंकमा पर्याप्त रूपमा लगानी गर्ने रकम छ । तर, कर्जाको माग भने आउन सकेको छैन । विगतमा उच्च रहेको ब्याजदर तल झरेको अवस्थामा पनि कर्जाको माग नआउनु अनौठो छ । अधिकांश बैंकले कर्जा अवधिभर परिवर्तन नहुने स्थिर ब्याजदरमा समेत घरकर्जा दिइरहेका छन् । वाणिज्य बैंकहरूमा लामो अवधिका लागि न्यूनतम ५.९६ देखि १०.५० प्रतिशतसम्म स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध छ ।

धेरैजसो बैंकले सात वर्ष अवधिको घरकर्जामा स्थिर ब्याजदर राखेका छन् भने कतिपय बैंकले यसमा पनि विभिन्न सहुलियतका ‘अफर’ ल्याएका छन् । पछिल्लो ब्याजदरअनुसार सबैभन्दा सस्तोमा नेपाल बैंकले ५.९६ प्रतिशतसम्ममा घरकर्जा दिइरहेको छ । यस्तै कृषि विकास बैंकले न्यूनतम ६.५२ प्रतिशतसम्ममा घरकर्जा दिँदा ग्लोबल आइएमई बैंकले ६.५६ प्रतिशत ब्याजदर तोकेको छ । एभरेस्ट बैंकको ब्याजदर ६.६३ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको ७.८२ प्रतिशत छ ।

यस्तै नेपाल एसबिआई बैंकको ७.३५, हिमालयनको ७.३८ र एनआईसी एसिया बैंकको ७.४१ प्रतिशत ब्याजदर छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगाको ७.७५, सिटिजन्स बैंकले ७.९९, सानिमा बैंकको ८.१, लक्ष्मी सनराइजको ८.४९ र सिद्धार्थले ८.४९ प्रतिशतमा घरकर्जा दिएका छन् । यस्तै कुमारीको ८.५९, प्रभु बैंकको ८.९३, नबिल बैंकको ९.४९, एनएमबीको ९.९९ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १०.५ प्रतिशत ब्याजदर छ । प्राइम बैंकको भने घरकर्जाको ब्याजदर १० प्रतिशत छ ।

यी सबै बैंकका न्यूनतम ब्याजदर हुन् । समय अवधि र अन्य सर्तअनुसार बैंकहरूले ब्याजदर बढी कायम गरेका छन् । विगतमा घरजग्गा कारोबार उच्च गतिमा रहँदा बैंकको ब्याजदर १५ प्रतिशतभन्दा पनि माथि पुगेको थियो । त्यो बेला चर्को ब्याजदर भए पनि कर्जा लिनेको लाइन लाग्ने गरेको थियो । अहिले अवस्था फेरिएको छ । ब्याजदर न्यून हुँदा पनि कर्जा प्रवाह गर्न बैंकले ग्राहक खोज्नुपर्ने अवस्था छ । पछिल्लो समय सरकारले निर्माण क्षेत्रतर्फको कर्जा विस्तारलाई जोड दिएको छ ।

वाणिज्य बैंकहरूले एकल अंकमै ब्याजदर कायम गर्दा पनि कर्जा लिएर घर बनाउने ग्राहकको संख्या अपेक्षा गरेअनुसार बढ्न सकेको छैन । चालु आर्थिक वर्षको माघसम्ममा ३.२ प्रतिशतले मात्र घरकर्जा बढेको छ । गत आवको यही अवधिमा यस्तो कर्जा ९.३ प्रतिशतले बढेको थियो । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको र घरकर्जाको ब्याजदर न्यून अवस्थामा आएको बेलामा पनि कर्जा विस्तार नहुनुमा प्रमुख कारण सुस्त अर्थतन्त्र नै हो । अर्थतन्त्रमा आएको सुस्तताले ऋण लिन सक्ने क्षमता घट्दै गएको छ ।

व्यवसायीहरूमा ऋण लगानी गरेर प्रतिफल आर्जन गर्न सक्छु भन्ने आत्मविश्वास नै छैन । ऋण लिएर व्यक्तिगत घर बनाउन पनि किस्ता तिर्न समस्या हुन्छ कि भन्ने डर आम सर्वसाधारणमा छ । निजी क्षेत्रमा काम गर्नेहरूको कतिखेर रोजगारी गुम्छ भन्ने ठेगान छैन । यस्तै ठूलो लगानीमा व्यापारिक र औद्योगिक भवन बनाउनेहरू पनि खुम्चिएर बसेका छन् । भवन प्रयोग गर्न सकिनेमा सबैमा दुविधा छ । सबैतिर सुस्तता रहँदा घर बनाउने, खर्च गर्ने वा लगानी गर्ने अवस्था नै छैन ।

यही कारण सजिलै कर्जा लिन पाउने अवस्था रहे पनि र सस्तो ब्याजदर भए पनि कर्जा बढ्न नसकेको हो । कर्जा प्रयोग गरेर व्यवसायबाट प्रतिफल लिन सकिन्छ भन्ने वातावरण बने चर्को ब्याजमा पनि कर्जा लिने बढ्ने थिए । विगतमा चर्को ब्याजमा पनि कर्जा गएको उदाहरण छ । अहिले सबै क्षेत्र सुस्ताएका कारण लगानी गर्नेमा आत्मविश्वास नदेखिँदा सस्तो दरमा पनि कर्जा बढ्न नसकेको हो । अर्थतन्त्र चलायमान नभएसम्म अहिलेको अवस्थामा परिवर्तन आउनेछैन ।

प्रतिक्रिया दिनुहोस्