Logo

तामाकोसी पाँचौं जलविद्युत आयोजना

निर्माण सुरु भएको ६ महिनामा दुई महिना बन्द

दोलखा– एक साता अघिमात्र सात दिन बन्द भएर काम सुरु भएको तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्माणको काम फेरि बन्द भएको छ ।

मजदुरहरुले विभिन्न पेशागत माग राखेर बन्द गरेको निर्माणको काम अघिल्लो मंगलबार सहमतिपछि सुचारु भएको थियो । अहिले फेरि सेवासुविधा घट्ने भन्दै मजदुरले आन्दोलन गरेपछि मंगलबारदेखि काम ठप्प भएको हो ।

मजदुरहरुले निर्माणको काममा अवरोध गरेको यो पटक होइन । आयोजना बनाउन सुरु भएको ६ महिनामा दुई महिना यस्तै अवरोधले बितेको छ । तामाकोसी पाँचौंमा पछिल्लो १५ दिनमा मात्रै १० दिन काम ठप्पै भएको छ । अघिल्लो हप्ताको मंगलबार मजदुर र ठेकेदार कम्पनी सिनो हाइड्रोबीच श्रमिकका सबै माग सम्बोधन गर्ने सहमति भएपछि काम सुचारु भएको थियो ।

रोजगारी सम्झौता लगायतका पेशागत मागहरु अघि सार्दै आन्दोलनमा उत्रिएका नेपाली मजदुर र ठेकेदार कम्पनीबीच मंगलबार आयोजना निर्माणस्थल विगु–४ सुरीटारमा सहमति भएको हो । नेपालको प्रचलित श्रम ऐनअनुसार आयोजनामा खटिने नेपाली मजदुरलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउने सहमति भएको थियो । सहमतिअनुसार सिनो हाइड्रोले सेवासुविधा पनि दिने भयो । तर, पछिल्लो सेवासुविधाले मजदुरले विगतमा खाइपाइ आएको सुविधा अझै घट्ने देखिएपछि त्यसलाई नघटाई सुविधा बढाउन भन्दै फेरि आन्दोलन गर्नुपरेको मजदुर आन्दोलनका नेतृत्वकर्ता जीवन मगरले जानकारी दिए ।

अघिल्लो हप्ता मजदुर र ठेकेदार कम्पनीबीच नेपाल सरकारले तोकेको ८ घण्टा श्रम गरेबापत श्रम ऐनअनुसारको पारिश्रमिक उपलब्ध गराउने, वार्षिक रुपमा ज्याला वृद्धि गर्ने, दुर्घटना बीमा गर्ने, चाडपर्व खर्च उपलब्ध गराउने, औषधी उपचार बीमा गरिने, मजदुरहरुलाई किरिया बिदा, सुत्केरी बिदा दिनेजस्ता श्रम ऐनमा उल्लेख भएका सामान्य सुविधासहित रोजगारी सम्झौता उपलब्ध गराउने लिखित सहमति भएको थियो । फेरि आन्दोलन सुरु भएपछि मंगलबारदेखि ४५० मजदुर हात बाँधेर बसेका छन् ।

सुरुवाती चरणमा साइटमा ठेकेदार परिचालन भएर प्रारम्भिक काम सुरु हुँदा गत असोज–कात्तिकमा १३ दिन काम ठप्प भयो । त्यसपछि दुई महिनाअघि पनि माहुरेमा अडिट टनेल जग्गा विवादमा १५ दिन काम रोकियो । त्यसपछि पनि चिनियाँ र नेपाली मजदुरका बीचमै विवाद हुँदा पटक पटक काम रोकिँदै आएको छ ।

तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले मजदुरसँगको सहमतिअनुसार ठेकेदारले नियुक्तिपत्र तयार गरिरहेको बताए । सहमति गरेको एक महिना नै नबिती केकति सेवा सुविधा प्राप्त भयो थाहा नपाई फेरि आन्दोलन गर्नु उचित नभएको उनको भनाइ छ ।

अहिले प्रारम्भिक चरणको अवरोधले ठूलो असर नगरे पनि भविष्यमा पनि यस्तै बन्द हुँदै गयो भने आयोजनालाई नै असर गर्ने उनले बताए । एकातिर वन क्षेत्र उपयोगका लागि लामो समयदेखि सहमति नपाउने अर्कातिर स्थानीयस्तरमा आन्दोलन जस्ता अवरोधले आयोजना बनाउन चुनौती हुने उनको भनाइ छ ।

आयोजनाको विद्युत गृहसहित ७ किलोमिटर मुख्य सुरुङ खन्नका लागि ४ वटा अडिटबाट काम सुरु हुनेछ । ३ ठाउँमा अडिट सुरुङ बनाउन विस्फोटक पदार्थ पड्काएर काम सुरु गर्न तयारी अवस्थामा छ । केही दिनमा विस्फोट गराएर सुरुङको काम सुरु हुने उनले जानकारी दिए । तेस्रो अडिट सुरु हुने ठाउँको भने एक वर्षदेखि वनको सहमति नपाउँदा ढिलाइ भएको उनको भनाइ छ ।

आयोजनाको सिभिल र हाइड्रोमेकानिकल कामको चिनियाँ कम्पनी सिनो हाइड्रोले गत जेठमा ठेक्का सम्झौता गरी वर्षापछि फिल्डमा परिचालन भएको छ । इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको अर्को लटको ठेक्का आह्वान तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । यसअघि ठेक्का आह्वान भएर पनि बढी कबोल भएकाले रद्द गरिएको थियो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तामाकोसी जलविद्युत कम्पनीले ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजना बनाइरहेको छ । आयोजनाका संरचना विगु गाउँपालिका–१, २, ३, ४ मा बन्नेछन् । आयोजना माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको क्यासकेड आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्