Logo

स्वार्थ समूहको चलखेलले गभर्नर छान्न सरकारलाई सकस

काठमाडौं– व्यापारिक समूहको हस्तक्षेपलाई चिरेर राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्ति गर्न सरकारका अगाडि चुनौती देखिएको छ ।

व्यापारिक समूहहरूले खुलेरै गभर्नर नियुक्तिमा लबिङ र दबाब दिइरहेका छन् । यसले स्वतन्त्र र स्वायत्त निकाय राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारसामु चुनौती देखिएको हो ।

हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २४ मा सकिँदैछ । अहिले उनी बिदामा बसेका छन् । मन्त्रिपरिषद्ले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सम्मिलित गभर्नर सिफारिस समिति बनाएको छ ।

समितिले गभर्नरका लागि एक जना डेपुटी गभर्नरसहित तीन जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ । सोही मध्येबाट सरकारले एक जनालाई गभर्नरमा नियुक्त गर्नेछ । नयाँ गभर्नर बन्ने प्रयासमा हालसम्म २० जनाभन्दा बढी विभिन्न पृष्ठभूमिका व्यक्तिहरू लागिपरेका छन् । यसमध्ये धेरैलाई विभिन्न व्यापारिक र स्वार्थ समूहले अगाडि बढाएका छन् ।

गभर्नरका लागि डेपुटी गभर्नर भएका नाताले नीलम ढुंगाना र बमबहादुर मिश्रको स्वाभाविक आकांक्षा छ । यसबाहेक गभर्नर हुन चाहना राख्नेमा सबैभन्दा अगाडि ज्ञानेन्द्र ढुंगाना देखिएका छन् । उनले यसैका लागि नबिल बैंकको प्रमुख कार्यकारी अधिृकतबाट राजीनामा दिइसकेका छन् । ढुंगाना राष्ट्र बैंकका पूर्व कर्मचारीका साथै निजी क्षेत्रको ठूलो बैंक सम्हालेका व्यक्ति हुन् ।

यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा हाल योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनको राजीनामालाई पनि भावी गभर्नरको विषयसँग जोडेर हेरिएको छ । श्रेष्ठ अर्थमन्त्री पौडेलले विश्वास गर्ने र राष्ट्र बैंकमा क्षमतावान अधिकृतका रुपमा हेरिने व्यक्ति हुन् ।

राष्ट्र बैंकको गभर्नर सक्षम एवम् योग्य व्यक्तिलाई बनाइनु पर्ने हो । यसमा दलगत र अन्य स्वार्थ हेरिनु हुँदैन । तर, अहिले गभर्नर बनाउनका लागि व्यापारिक समूह, विचौलिया हावी हुँदै गएका छन् । प्रत्येक राजनीतिक दलहरुको पनि आ–आफ्नै स्वार्थ छ । सबैले स्वार्थअनुसार गभर्नरका लागि आ–आफ्ना पक्षका व्यक्तिलाई अगाडि सारेका छन् । विज्ञहरुले भने गभर्नर पदमा स्वतन्त्र र सक्षम व्यक्तिलाई नियुक्ति गर्नुपर्नेमा जोड दिइरहेका छन् । विभिन्न स्वार्थ समूहहरू गभर्नरको लबिङमा लाग्दा यसले केन्द्रीय बैंकको स्वायत्ततामा नै प्रश्न उठाउने उनीहरूको चिन्ता छ ।

गभर्नर नियुक्तिमा सिफारिस समिति स्वार्थ समूहको दबाबमा नपरी निष्पक्ष रुपमा सिफारिस गर्नुपर्नेमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री जोड दिन्छन् । उनीहरूले गलत प्रवृत्तिलाई साथ दिए भने त्यसले केन्द्रीय बैंकको स्वायत्तता र शाखलाई अप्ठ्यारोमा पार्ने उनको बुझाइ छ । ‘अहिले जसरी बाहिर चर्चा भइरहेको छ । ती समूहले भनेकै व्यक्तिलाई गभर्नर बनाउँदा केन्द्रीय बैंकको स्वायत्ततामा प्रश्न उठ्छ,’ उनले बुधबार कारोबारसँग भने ।

गभर्नरका आकांक्षीहरूले पनि गभर्नर बन्नका लागि स्पष्ट मार्गचित्र बनाएर बिना सम्झौता प्रस्तुत हुनुपर्नेमा क्षेत्री जोड दिन्छन् । उनले भने, ‘विभिन्न किसिमका समूहले प्रभावमा पार्न खोज्छन् । तर, त्यसलाई चिर्दै केन्द्रीय बैंकको शाख र स्वायत्तता जोगाउने गरी गभर्नर बनाउनुपर्छ । त्यसमा समिति र सरकार दुवै सचेत हुनुपर्छ ।’

यस्तै, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले कानुनबमोजिम नियुक्ति गर्ने पद भएकाले सरकारले यसलाई सोहीअनुसार लिनुपर्ने बताए । राज्य संयन्त्र कमजोर हुँदा यस्ता प्रवृत्ति हाबी भएको उनको भनाइ छ । राज्य कुनै हालतमा कमजोर नहुनका लागि सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘केन्द्रीय बैंकमा अहिलेसम्मको इतिहासमा एकदमै सक्षम र सबल व्यक्तिलाई गभर्नर बनाएकाले यो प्रचलनले निरन्तरता पाउँछ भन्ने म आशा गर्छु,’ थापाले भने ।

अहिले गभर्नर पदका लागि दीपक भट्ट समूह निकै क्रियाशिल रहेको बताइन्छ । व्यावसायिक पृष्ठभूमिको भट्ट समूहले अगाडि सारेका व्यक्ति अहिले अन्य नियामक निकायमा पुगेका छन् । अब यो समूहले आफू निकटका व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई दबाब बढाइरहेको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ पनि नयाँ गभर्नरको लबिङमा छ । नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सले पनि निजी क्षेत्रलाई सहज हुने किसिमले गभर्नरमा दबाब दिइरहेको छ ।

यस्तै, चौधरी ग्रुप पनि आफू निकटको व्यक्तिलाई गभर्नरका लागि अगाडि बढाउने प्रयासमा छ । एफवान सफ्ट समूह पनि आफू निकटको गभर्नर नियुक्ति गराउनका लागि लागिपरेको छ ।

निजी क्षेत्रबाट विभिन्न किसिमका लबिङ भइरहेको अवस्थामा राजनीतिक दलहरूले पनि गभर्नर पदलाई बढी महत्वका साथ हिसाबकिताब गरिरहेका छन् । पार्टीभित्रका विभिन्न समूहले पनि गभर्नरमा फरक–फरक व्यक्तिलाई उभ्याइरहेका छन् ।

नेपाली कांग्रेसमा आरजु राणा हाबी हुँदा कोइराला समूह पनि आफू निकटका व्यक्तिलाई गभर्नर बनाउनका लागि दबाब दिइरहेको छ । संस्थापन पक्ष र संस्थापन इतर पक्षले फरक–फरक व्यक्तिलाई गभर्नर बनाउनका लागि लबिङ गरिरहेका छन् ।

एमालेभित्र पनि गभर्नरका लागि फरक–फरक पात्र अगाडि सारिएका छन् । एमालेमा प्रधानमन्त्री केपी ओली पक्ष र विद्या भण्डारी पक्षले फरक–फरक व्यक्तिलाई गभर्नरका आकांक्षीहरू अगाडि सारेका छन् ।

यस्तै, अहिले प्रमुख प्रतिपक्षी दल रहेको माओवादी केन्द्रले पनि आफू निकटका व्यक्तिलाई गभर्नर बनाउनका लागि सरकारसँग लबिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्