Logo

पाई नेटवर्कः जोखिम कि फलदायी

सन् २०१९ मा सुरु भएको पाई नेटवर्क टेस्टनेटबाट मेननेटमा प्रवेश गर्दै छ भन्ने खबर फैलिएको छ । बिटक्वाइनको मूल्य उच्च बिन्दुमा पुगेपछि त्यस्तै मूल्य हुने विश्वासमा धेरै स्मार्टफोन प्रयोगकर्ताले पाई नेटवर्कको एप्लिकेसन डाउनलोड गरेका छन् । यसमा केवाइसी अनिवार्य गरिएको छ ।

केवाइसी फोबिया
केवाइसी भर्न प्रयोगकर्ताहरूले झन्झट मान्नुका साथै सशंकित समेत बनेका छन् । मानिसहरू सरकारी निकाय र बैंक इन्स्योरेन्समा आफ्नो व्यक्तिगत सूचना अद्यावधिक गर्न अप्ठेरो मान्छन् । सरकारी निकायले जस्तै पाईले आधिकारिक परिचयपत्र र बायोमेट्रिकबाट केवाइसी लिने नीति लिएको छ ।

पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा राष्ट्रिय परिचयपत्रजस्ता आधिकारिक पहिचानपत्र पेस गर्नुपर्छ । त्यसैगरी अनुहारको पनि विभिन्न कोणबाट तस्बिर लिने गरेको छ । परिचयपत्र र फोटो लाइभ खिच्नुपर्छ । व्यक्तिगत विवरण र ठेगाना पूरै भर्नुपर्छ । एक व्यक्तिले एकभन्दा बढी युजर बनाउन नसक्ने, रोबोटले युजर बनाउन नसक्ने र व्यक्ति स्वयम्ले पनि अवास्तविक विवरण दिएर युजर बनाउन नसक्ने अवस्था बनाइएको छ ।

कुनै आधिकारिकता नभएको नेटवर्कलाई पूर्ण यथार्थ व्यक्तिगत विवरण उपलब्ध गराउँदा केके जोखिम हुने हो भनेर युजरहरू सशंकित बनेका हुन् । कसैले इमेल, मोबाइल, फेकबुक आइडी मात्र पायो भने त अनावश्यक विज्ञापन पठाउँछ भनेर मानिसहरू सतर्क रहन्छन् । सरकारी निकायलाई जस्तै गरी पाईलाई विवरण दिनुपर्दा पाईलाई छोड्ने कि अघि बढ्ने भन्नेमा धेरै प्रयोगकर्ता दोधारमा परेका छन् ।

अमेरिकाजस्तो खुला समाजमा सूचना दुरुपयोगको सम्भावनाबाट मानिसहरू सशंकित छन् भने नेपालजस्तो बन्द समाजमा सरकारबाट समेत कारबाही हुने डरमा प्रयोगकर्ता छन् । नेपाल सरकारले ब्ल्यांकेट अप्रोचमा कुनै पनि क्रिप्टोकरेन्सीबाट भएको आम्दानीलाई अवैध भनेको छ । विदेशमा रहेका नेपालीले यसलाई वास्ता गरेका छैनन् । स्वदेशमा बस्नेले पनि विवरण गोप्य हुने हुनाले जोखिम लिएको पाइन्छ । तर, पाईमा सरकारी सक्कली परिचयपत्र नै पेस गर्नुपर्ने भएपछि सरकारले थाहा पाएर कारबाही गर्ला भन्ने भय थपिएको छ ।

किन मागियो परिचयपत्र ?
सरकारले जारी गर्ने मुद्राको कारोबार ढिला, महँगो, डिपेन्डेन्ट र अगोप्य हुन्छ । विकल्पको रूपमा क्रिप्टोको अवधारणा आएको हो । कोसँग कति क्रिप्टो छ र कहाँ कारोबार भयो भन्ने कुनै सेन्ट्रल एजेन्सीलाई थाहा हुँदैन । जबकि सरकारी मुद्रा कारोबारको मध्यस्थता केन्द्रीय बैंक वा कुनै आधिकारिक वित्तीय संस्थाले गर्छन् ।
क्रिप्टो माइनिङ, होल्ड र कारोबारका लागि सरकारी आधिकारिकता खुल्ने पहिचान जरुरी छैन । तर, पाईले किन मागिरहेको छ भन्ने प्रश्न धेरैको मनमा उब्जेको छ । यसलाई सकारात्मक ढंगले हेर्दा पाईलाई विश्वासिलो र भरपर्दो बनाउन यसो गरिएको होला भन्ने देखिन्छ । अहिले यो केन्द्रिकृत प्रणालीमा विकास भएको छ । भविष्यमा ब्लकचेनमा अर्थात डिसेन्ट्रलाइज प्रणालीमा जानेछ । त्यसैले यसमा पेस गरिएको विवरण कसैले दुरुपयोग गर्न सक्नेछैन ।

नकारात्मक दृष्टिकोणबाट हेर्दा पाईले मानिसहरूलाई लोभ्याएर आधिकारिक सूचना लिने र त्यसको दुरुपयोग गर्ने नियत छ कि भन्ने आशंका गर्न सकिन्छ । पाँच वर्षदेखि मोबाइल सेटमा ठाउँ ओगटेर बसेको पाईको अहिलेसम्म मूल्य शून्य छ । भविष्यमा मूल्य आउँछ, बढ्छ भन्ने लोभले मानिसहरूले दिनदिनै माइनमा प्रेस गर्दै आएका छन् । यो अवधिमा पाईका डेभलपरले युजरको सूचना बेचेर कति कमाइसके होलान् ? एपमा विज्ञापन देखाएर कमाएकै छन् । अझ अथेन्टिक डाटा भएपछि जे पनि गर्न सक्छन् भन्ने जोखिम देखिन्छ ।

सुरुवात र भावी योजना
सन् २०१९ मार्च १४ मा स्टायनफोर्ड विश्वविद्यालयका पूर्वविद्यार्थी डा. निकोलास कोकालिसको नेतृत्वमा पाई नेटवर्कको लन्च गरिएको थियो । उनीहरूले पाईको दीर्घकालीन इकोसिस्टम बनाइरहेको बताउने गरेका छन् । यसको कुनै आधिकारिक कार्यालय छैन । एप, अनलाइन माध्यम र ब्लगहरूबाट डेभलपरले जानकारी अद्यावधिक गर्छन् । त्यसैले केलाई आधिकारिक मान्ने भन्ने मानिसहरूको आआफ्नै बुझाइमा भर पर्छ ।

पाईका युजर ६ करोड पुगेको बताइएको छ । यसको माइनिङ लिमिट १ सय अर्ब पाइन्स रहेको बताइन्छ । अहिलेसम्म कति माइन भयो भन्ने सार्वजनिक गरिएको छैन । कुल पाइन्सको आपूर्तिलाई तीन भागमा बाँडिएको छ, डेभलपरले प्राप्त गर्ने क्वाइन, पाई नेटवर्कको कोषमा राखिने क्वाइन र प्रयोगकर्ताहरूलाई वितरण गरिने क्वाइन । समुदायमा ८० प्रतिशत वितरण हुने बताइएको छ ।

पाई क्वाइनलाई दैनिक जीवनमा उपयोग गर्न मिल्ने विभिन्न एप र सेवाहरू विकास गरिरहेको डेभलपरहरूको भनाइ छ । पाई नेटवर्कमा आधारित विभिन्न एप र सेवा विकास गर्न उनीहरूले विभिन्न विकासकर्ता र कम्पनीसँग सहकार्य गरिरहेको बताएका छन् । ई–कमर्स प्लेटफर्म र सामाजिक सञ्जाल प्लेटफर्म निर्माण गरिने बताइएको छ । ई–कमर्स प्लेटफर्ममा पाई क्वाइन प्रयोग गरेर सामान र सेवा किनबेच गर्न सकिनेछ । त्यस्तै, सामाजिक सञ्जाल प्लेटफर्ममा पाई क्वाइन प्रयोग गरेर एकअर्कालाई टिप्स दिन वा सामग्रीको भुक्तानी गर्न सकिनेछ ।

किन लोभिए प्रयोगकर्ता ?
पाई डाउनलोड गर्न र माइन गर्न सजिलो छ । यसले मोबाइलमा धेरै स्पेस र ब्याट्री खाँदैन । मेननेटमा गएपछि ट्रेडिङ प्लेटफर्म र एक्सचेन्जमा पाई बिक्री गरेर डलर कमाउने आसमा प्रयोगकर्ताहरू छन् । बिटक्वाइनको मूल्य १ लाख डलरसम्म पुगेको देखेका प्रयोगकर्ताहरू पाईको पनि राम्रो मूल्य पाइने आशामा छन् ।
थप समय, डिभाइस र पैसा केही लगानी गर्नु नपर्ने तर आम्दानीको भने सम्भावना रहेका कारण पाईमा प्रयोगकर्ता लोभिएका हुन् । यसको मार्केटिङ विश्वभर निकै व्यवस्थित र प्रगाढ रूपमा भएको देखिन्छ । बिस्तारै भइरहेको विकासक्रमले पाईको दिगो भविष्य छ भन्ने विश्वास मानिसहरूमा सिर्जना गरेको छ । यसले गहन रूपले विश्वास जितेका कारण राष्ट्रिय परिचयपत्रसहित केवाइसी भर्न मानिसहरू तयार भएका हुन् । नत्र अहिलेभन्दा धेरै संख्यामा दोधारमा पर्थे ।

वैधानिकताको प्रश्न
क्रिप्टोकरेन्सीलाई विश्वका थोरै सरकारले मात्र मुद्राको रूपमा स्वीकार गरेका छन् । धेरै मुलुकले एउटा डिजिटल टोकन वा एसेटको रूपमा मान्यता दिएका छन् । एक्सचेन्जमार्फत कारोबार गर्न पाइने र पुँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था कैयौँ देशमा गरिएका छन् । नेपाललगायत केही मुलुकले भने क्रिप्टोको कारोबारलाई दण्डनीय बनाएका छन् ।

सरकारले क्रिप्टो स्वीकार नगरे पनि दण्डनीय नबनाउने हो भने यसले आफ्नो ठाउँ लिन सक्छ । सरकारलाई कर तिर्न, सरकारी निकायमा दर्ता हुनुपर्ने वस्तु किन्न वा ठूलो मूल्यका प्रमुख वस्तुहरू किन्न यसको प्रयोग गर्न नसकिएला । तर, अहिले डिजिटल दुनियाँमा विभिन्न सेवा र प्रडक्ट विकास भएका छन् । मेटाभर्स, अनलाइन गेम, भर्चुअल कलाकृति, भर्चुअल रियालिटी, मनोरञ्जनका साधन, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रडक्ट आएका छन् । अर्थतन्त्रको छुट्टै इकोसिस्टम विकास हुँदै छ । त्यहाँ एक्सचेन्जको साधनका रूपमा क्रिप्टोकरेन्सी प्रयोग हुन सक्छ ।

मूल्य के होला ?
धेरै प्रयोगकर्ता पाईको ट्रेडिङ खुल्नासाथ बिक्री गरेर यति डलर आम्दानी होला भन्ने हिसाब गरिरहेका छन् । सबैले बिक्री गर्न चाहने हो भने मूल्य शून्यकै नजिक हुन्छ । मूल्य बढ्न किन्न चाहनेको संख्या बढी हुनुपर्छ । किन्नेले भविष्यमा अझ बढ्छ भन्ने आसमा लगानी गर्ने हो । आम युजरले बेच्दा सीमित ठूला सट्टेबाजले किने भने राम्रो मूल्य प्राप्त हुन सक्छ । अहिले सस्तोमा बेच्नेले पछि महँगोमा किनेर फस्न पनि सक्छन् ।

पाईलाई उपयोगी सेवा र प्रडक्टसँग जोडियो भने अनुमानयोग्य मूल्य हुनेछ । डलरमा खरिद गर्न सकिने जनउपयोगी अनलाइन सेवा पाईबाट खरिद गर्न पाइने भयो भने त्यति डलर बराबर पाईको मूल्य अनुमान गर्न सकिन्छ । पाई स्पेकुलेटिभ एसेट मात्र नभएर नयाँ अर्थतन्त्रको इकोसिस्टमको अंश बन्नेछ भन्ने विश्वास गरिएको छ । त्यसो भयो भने यसको मूल्यले स्थायित्व पाउने देखिन्छ ।

के गर्ने त ?
मोबाइल सेटमा पाई नेटवर्कको एप राखेर प्रत्यक्ष गुमाउनुपर्ने केही छैन । पाई एक्सचेन्ज गर्न पाइन्छ या पाइँदैन भन्ने निश्चित छैन । त्यसैले यसलाई आए आँप नआए झटारो भनेर पनि बुझ्न सकिन्छ । तर, आफ्नो व्यक्तिगत सूचनाप्रति संवेदनशील हुनेले होमिएर हाम फाल्नुपर्छ भन्ने छैन । नेपालजस्तो सरकारले प्रतिबन्ध लगाएका ठाउँमा किन जोखिम उठाउने भन्ने प्रश्न जायज हुन्छ । धेरैले प्रयोग गरिरहेका छन्, सरकारले कारबाही गर्न सक्दैन, भविष्यमा प्रतिबन्ध फुकुवा हुन्छ, त्यसैले अहिले एकाउन्ट बनाउन डराउनु पर्दैन भन्ने मत पनि रहेको देखिन्छ ।

विश्वका सरकारहरू कति डिरेगुलेटेड हुन्छन् भन्ने आधारमा पाईजस्ता डिजिटल एसेट र करेन्सीको भविष्य निर्धारण हुन्छ । सरकारले बजारले विकास गरेका प्रडक्टहरूलाई वैधानिकता दिने, वैधानिकता नदिए पनि प्रतिबन्ध नलगाउने, यस्ता प्रडक्टहरूले मानिसमा रुचि, सन्तुष्टि र उपयोगिता सिर्जना गर्ने वा बजारले यस्ता प्रडक्टलाई नरुचाउने जे पनि सम्भावना रहन्छ । त्यसैले भविष्यका बारेमा आफैँले विश्लेषण गरेर वा आफूलाई विश्वासिलो लाग्ने व्यक्तिको कुरा सुनेर निर्णय गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्