Logo

ढाका महोत्सवमा २५ लाखको कारोबार

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको ढाका महोत्सव सम्पन्न भएको छ । महोत्सवमा ढाका कपडाबाट बनाइएका तयारी पोसाक, कपडालगायत महिलाहरूले उत्पादन गरेको बस्तुहरू प्रदर्शन गर्नुका साथै बिक्रीसमेत गरेका थिए ।

महोत्सवमा व्यापार तथा लगानी प्रवर्द्धन, व्यवसायिक अवसरबारे छलफल र संवाद कार्यक्रमका साथै ढाका बुनाइ, तान बुन्ने प्रतियोगिता र फेसन शो प्रस्तुत गरिएको थियो । ढाका बुनाइ, तान प्रतियोगितामा तेह्रथुमको फक्तालुङ ढाका कपडा उद्योगकी शान्तिला फुदुङ् प्रथम, झापाको एमएस ढाका सेन्टरकी कृष्णमाया लिम्बू द्वितीय र सुनसरीको दिव्य ढाका उद्योगकी धनकुमारी तामाङ तृतीय भइन् ।

उनीहरूले क्रमश: ११ हजार, ७ हजार एक सय र ५ हजार एक सय रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महिला उद्यम समितिका संयोजक सरु केसीलगायतले पुरस्कार प्रदान गरे । महोत्सवमा व्यवसायीले २५ लाख भन्दा बढीको कारोबार भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्