पोखराबाट चीनसम्म सिधा अन्तर्राष्ट्रिय उडानको माग

पोखरा– पोखराबाट नियमित रूपमा चीनसम्म सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितका पोखराका पर्यटन व्यवसायीहरूले माग गरेका छन् ।
चीन ट्राभल सर्भिस इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनीका महाप्रबन्धक यान जुनसँगको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे तथा पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरूले उक्त माग गरेका हुन् । पोखरासहित गण्डकी प्रदेशमा चिनियाँ लगानी भित्र्याउन चीनका विभिन्न प्रान्तसहित चिनियाँ सरकार समक्ष उनीहरूले त्यस्तो आग्रह गरेका हुन् । पोखरादेखि चीनको छेन्दुसम्म नियमित रूपमा सिधा हवाई गर्न पोखरेलीले माग गरेका छन् ।
पोखरादेखि छेन्दु नियमित हवाई उडान गर्ने विषयमा गण्डकी प्रदेश सरकारसमेत सकारात्मक भएको परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । नेपाल र चीनबीच पुरानो सम्बन्ध भएका उल्लेख गर्दै चीन ट्राभल सर्भिसका महाप्रबन्धक यानले पोखरामा पर्यटकहरूको सम्भावना भएकोले पहिलो ३ महिना परीक्षण उडान सफल भए लगत्तै नियमित उडान गर्ने विषयमा आफूहरू रहेको बताए ।
नेपाली टोली फर्कियो
पोखरादेखि चीनको सिचुवान प्रान्तको छेन्दु सिधा उडान गरी चीनका विभिन्न पर्यटकीय गन्तव्यमा पुगेको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, सिचुवान एअरलाइन्सलगायतको सहकार्यमा भएको पोखरादेखि छेन्दु सिधा व्यावसायिक पहिलो चार्टर्ड उडानमा सहभागी नेपाली टोली स्वदेश फर्किएसँगै पोखरामा स्वागत गरिएको थियो ।
पोखराबाट छेन्दु प्रस्थान गरेको टोलीलाई पोखराबाट बिदाइ समेत गरिएको परिषद्ले जनाएको छ । पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरादेखि चीनको छेन्दु पुगेको १ सय २६ सदस्य टोलीले चीनको छेन्दुसहित, लुजाउ, ईमि, छोङछिङलगायतका ठाउँ तथा केही महत्त्वपूर्ण स्थानमा समेत अध्ययन अवलोकन भ्रमण गरेको कार्यक्रम संयोजक एवं परिषद्का महासचिव जीवनराज सापकोटो बताए ।
दुई वर्षभन्दा लामो समयदेखि पोखरामा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक व्यावसायिक चार्टर्ड फ्लाईट हुनु यस क्षेत्रको सम्भावनाको ढोका खुलेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । ऐतिहासिक फ्लाइट भएकोले अबको ३ महिना चार्टर्ड फ्लाइट सफल भएसँगै सिचुवान एअरलाइन्सले नियमित हवाई उडान गर्ने उनले विश्वास व्यक्त गरे । आउँदो मंगलबार पुन: चीनको छेन्दुबाट १ सय २७ सदस्य पर्यटकको टोली सिधै पोखरा आउने भएको छ ।