सुदूरपश्चिम प्रदेश लगानी सम्मेलन असोज १ र २ गते

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लगानी तथा विकास सम्मेलन असोज १ र २ गते धनगढीमा आयोजना गर्ने भएको छ । लगानी तथा विकास सम्मेलन निर्देशक समितिको मंगलबार बसेको बैठकले सम्मेलन आयोजना गर्न विभिन्न उपसमिति गठन गरेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आयोजक समिति, संघीय सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति र आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको हो ।
मुख्यमन्त्री शाहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बताए । उनले लगानीमैत्री वातावरण सिर्जना र कार्यक्रम व्यवस्थापन गर्न नीतिगत, कानुनी र संरचनागत सुधार गरी सार्वजनिक निजी सहकार्यलाई प्रोत्साहन गर्ने बताए ।
उनले कुन कुन कानुनले लगानी गर्न निजी क्षेत्रलाई असहज गरेको छ भन्ने कुराको अध्ययन गरी सम्मेलनसम्म ती सबै कानुनहरु संशोधन गरी सहज बनाइने बताए । सम्मेलन आयोजनामा जुटेको प्रदेश सरकारले यही चैत २७ गते धनगढीमा प्रि–समिट पनि आयोजना गर्दैछ ।
लगानी सम्मेलन तयारी समितिले गत वर्ष नै लगानी सम्मेलनका लागि पर्यटन क्षेत्रका १२, उद्योग तथा खानी क्षेत्रको १०, कृषि क्षेत्रका १८, वन क्षेत्रका २, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ५, ऊर्जा क्षेत्रका २, सूचना प्रविधि क्षेत्रका ३ र शिक्षा क्षेत्रका ३ गरी ५५ आयोजना समावेश गरी तयारी सुरु गरेको थियो । तर प्रदेश सरकारले तयारी नपुग्ने भन्दै २०८० फागुन २३ र २४ गते गते भएको सम्मेलन २०८२ असोजमा गर्ने गरी स्थगित गरेको थियो ।