हरियो नम्बर प्लेट उपलब्ध गराउन परमादेश

बुटवल– लुम्बिनीमा अलपत्र परेका विद्युतीय गाडी सञ्चालनको बाटो खुलेको छ । उच्च अदालत बुटवलले लुम्बिनी बिकास कोषमा आएका विद्युतीय गाडीलाई सेतोबाट हरियो नम्बर प्लेट बनाउन लुम्बिनी प्रदेश सरकार यातायात व्यवस्था मन्त्रालयलाई परमादेश जारी गरेको छ ।
एसियाली विकास बैंकले ग्रिन इनर्जी फण्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यान गरी १९ विद्युतीय गाडिलाई सेतो नम्बर प्लेटबाट पर्यटक सवारी बोक्ने हरियो नम्बर प्लेटमा एक महिनको समय तोकेर परिवर्तन गर्न मन्त्रालयलाई परमादेश जारी गरेको हो ।
उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको इजलासले लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदले निर्णय गरिसकेकाले सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेट बनाइ पर्यटक सेवाका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो ।
तराई मधेस मानव अधिकार गृह (माहुरी होम) का तर्फबाट रामविकास चौधरीले दायर गरेको रिट दिएका थिए । निवेदकको तर्फबाट अधिवक्ता रेशम अधिकारी र बाबुराम भुसाल तथा विपक्षीका तर्फबाट महान्यायधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका थिए ।
उत्प्रेषण रिट खारेज गरेपनि अदालतले नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमति, लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय र सार्वजनिक लेखा समितिबाट २०८१ जेठ ६ मा प्रदेश सरकारलाई निर्देशन भएको थियो । तर, यति हुँदा पनि यातायात व्यवस्था कार्यालय बुटवलले नम्बर प्लेट परिवर्तन नगरेपछि २ वर्षदेखि बस सञ्चालनमा आउन सकेको थिएन ।
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ को खण्ड ख बमोजिम हरियो प्लेटमा परिवर्तन गर्न सकिने कानुनी मार्ग उपलब्ध रहिरहेको हुँदा सोही मार्ग अवलम्बन गरी एक महिनाभित्र ती सवारीलाई हरियो प्लेटमा परिवर्तन गरी सञ्चालनमा ल्याउन परमादेश जारी हुने ठहर्छ’ परमादेशमा भनिएको छ ।
उक्त विद्युतीय बस सञ्चालनका लागि लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको संयोजकत्वमा गठन गरेको कार्यदलले २०७९ सालमै प्रतिवेदन र कार्यविधिको मस्यौदा तयार पारिसकेको थियो । नम्बर प्लेटको समस्या समाधान नभएकाले कार्यविधि लागु हुन सकेको थिएन ।
यो परमादेशसँगै अब कोषलाई नम्बर परिवर्तन गरी सञ्चालनका लागि बाटो खुलेको छ । कोषले केही समययता दानपात्र राखेर २ वटा बस सञ्चालनमा ल्याएको छ । यो परमादेशले विद्युतीय बस तथा भ्यान बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकको सेवामा सञ्चालनका लागि बाटो खोलिदिएको छ ।