नेपालमा धनि बन्ने पेसा कृषि «

नेपालमा धनि बन्ने पेसा कृषि

उनको रेस्टुराँमा केराका ४० भन्दा बढी परिकार बन्छन् । केराको पेय पदार्थदेखिका खानेकुराहरू उनीकहाँ पाइन्छन् । केरा उत्पादन गरेर मूल्यश्रृंखला जोडेर केरा रेस्टुराँ र केरा रेस्टुराँमार्फत् कृषि पर्यटनको अभियन्ता बनेका कालु हमालका समकक्षी कृषि सचिवसम्म बने, तर कसैले पनि कृषिको विकासका लागि उल्लेख्य योगदान नगरेको उनको आरोप छ । कर्णाली नदीले कटान गरेको कैलालीको दौलतपुर क्षेत्रको रुखो जमिनलाई दुई वर्षयता उनले रिभाइब गरेर हराभरा बनाएका छन् । केरा फलाएका छन् । त्यसो त ३७ वर्षदेखि टीकापुरमा केरा किसानको छवि बनाएका हमालले बिघौं जमिनमा केराखेती गर्दै आएका छन् । स्थानीय जातको केरालाई चीनमा निर्यात गरेर आम्दानी गर्ने योजनामा छन् उनी ।
२०३९ सालमा चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी एजी गरेका हमाल नेपालीले प्रगति नगर्नुको कारण थाहा भएको बताउँछन् । उनी प्रविधि र कार्यान्वयनको ग्याप रहेको बताउँछन् । कृषिमा नर्सरी स्टेजमा रहेकाले सरकारसँग किसानलाई भैपरी आउने समस्या समाधान र कुनै सहजीकरण गर्ने निकाय नरहेको बताउँछन् उनी । २०३७ सालदेखि कृषिमा आबद्ध रहेका उनी केरा प्रोडक्टका अभियन्ता हुन् । १६ वर्ष लगाएर केराको उत्पादनमा वृद्धि भएको छ । अहिले ४० प्रतिशत केरा देशभित्रै उत्पादन हुन्छ । युवापुस्ता केराखेतीमा आएको छ । २०४० सालबाट एक कठ्ठा जमिनमा १० बोटबाट केराखेती गरेका हुन्, तर बीचबीचमा छोडे पनि । माओवादीको लडाइँले पनि अवरोध पुग्यो र २०५१ सालको भूमिसुधार लागू भएपछि जग्गाको खण्डीकरणले पनि केही अवरोध पुग्यो । चक्लाबन्दी गरेर खेती गर्न नसकिने भए पनि उनले एग्रिकल्चरलाई ब्याक ग्राउन्डमा राखेर एग्रो टुरिजम अगाडि सारे । उनले १६–१७ वर्षअघि एक कठ्ठा जमिनमा सुरु गरेको रेस्टुराँ अहिले डेढ कठ्ठामा छ । उनको बनाना कटेजका चारवटा युनिट छन् । यसमा १६ जनालाई रोजगारी दिएका छन् । उनले एग्रोटुरिजममा प्रोडक्ट डाइभर्सिटी, एजुकेसन र भ्यालु एड गरेर समृद्धि पूरा गर्ने कन्सेप्ट अगाडि सारेका छन् । यसै सन्दर्भमा हमालसँग कारोबारकर्मी भगवान खनालमुकेश चौधरीले गरेको कुराकानीको सार :

बीएस्सी एजी पढेको मान्छे, जागिर नै नखाई किन कृषिमै लाग्नुभयो ?
म त कृषिमा अनलिमिटेड कमाइ हुन्छ भनेर लागेको हुँ । किनकि मलाई धेरै कमाउनु थियो । जागिरले धेरै पैसा कमाउन सक्ने योजनालाई सफलता दिँदैनथ्यो । मेरो त कृषिमा सपना छ । म ८ कक्षादेखि कृषि पढेको मानिस हुँ । यसैले मैले कृषिमै केही गरेर देखाउने हो । नेपालमा धनी बन्ने सबैभन्दा राम्रो पेसा नै कृषि हो । यसको साधारण सूत्र छ, किनभने प्रायः चिज विदेशबाट आउँछ । त्यो यही उत्पादन गरे हुन्न ? यसका लागि कुनै सन्धि सम्झौताले पनि अवरोध गर्दैन । तपाईं ५० बिघा जमिन ल्याउनुस् । ५० लाख रुपैयाँ लगानी गर्नुस् । म १ करोड रुपैयाँ नेट प्रोफिट गरेर देखाइदिन्छु । दुई फिटसम्म ढुंगा नहुने र पानी नजम्ने ठाउँमा । यसमा अनलिमिटेड पैसा छ । जागिरमा यति कम पैसा छ कि तपाईं फरस्टेड हुनुप-यो कि करप्टेड हुनुप-यो । त्यही भएर मैले जागिरको पछि नलागेर कृषि रोजें ।

अहिलेको कृषि र अर्थतन्त्रलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ ?
अर्थतन्त्रको नियम त माग र आपूर्तिको सिद्धान्तमा आधारित हुने न हो नि । अहिले कृषिमा पनि ट्राफिक जाम भएको छ । एउटाले कुखुरापालन गरे अर्कोले पनि कुखुरा पाल्ने गर्छ । हरेक कामको स्याचुरेसन हुन्छ, त्यसपछि त रोकिन्छ । तर कृषि त्यस्तो पेसा हो, जसमा कहिल्यै स्याचुरेसन भन्ने हुन्न । कृषि त मानिसको जीवनको बिहानदेखि नसुत्दासम्म नै आवश्यक छ ।
हामी अरूमा भर पर्ने हैन, कृषिमै भर पर्ने हो । त्यो भनेको कृषि पर्यटन नै हो । व्यावसायिक कृषिका लागि जमिन नै छैन । अबको केही वर्षपछि त जमिन पनि पाइन्न । कृषि खान–पिउनका लागि त होला, तर व्यावसायिक कृषिको लागि ठाउँ छैन । जमिन खण्डीकरण भएको छ; तर कृषि पर्यटनका लागि ४–५ कठ्ठा जमिनले पनि पुग्छ । जमिनको अभावमा कृषि गर्ने ठाउँ हुन्न, हामी भोकै मर्ने सम्भावना छ । जग्गा टुक्रिँदा व्यावसायिक कृषिको सम्भावना नै छैन ।
देश कतातिर गइरहेको छ भने यसको कुनै गन्तव्य नै छैन । देश गन्तव्यविहीन छ । चोकमा आएर खडा भएको मात्रै छ । कृषि र अर्थ मन्त्रालयबीच समन्वय छैन । गृह मन्त्रालयको समन्वय छैन ।
तर, केराबाट पेय पदार्थ बनाउने कुरा उद्योग मन्त्रालय मातहत पर्छ । केराचाहिँ कृषिमा प-यो, तर केराबाट मूल्यश्रृंखला थपेपछि त्यो उद्योगमा प-यो । यसले त कर बढायो । कृषिमा कर छैन, तर उद्योगका काम गरेपछि कर तिर्नुपर्दा एकै पटक किसानलाई कारबाही गरेजस्तो हुन्छ । व्यापारी, उद्योगी पो पहिलेदेखि नै कमाउने, कर छल्ने गर्छन्, तर किसान त माटोमा हुन्छ । उसलाई करबारे जानकारी नगराइकन एकैपटक कर लगाउन खोज्दा किसान हतोत्साही हुन्छ । पेसाबाट नै पलायन हुन सक्छ । उसलाई जानकारी त गराउनु पर्छ नि । अशिक्षित कृषिमा लागेका छन् । तिनीहरू भर्खर–भर्खर जुर्मुराउन खोजेका छन् । तिनलाई संरक्षण दिनुस् न । कर कार्यालयले दुःख दिन्छ । किसानलाई नयाँ नियमको जानकारी गराउनुस्, अद्यावधिक गराउनुस् न । नत्र हामीजस्तो किसान त मर्छौं ।

नेपाली कृषि उत्पादनमा मूल्यश्रृंखलाको स्थापना कसरी गराउन सकिन्छ ?
हाम्रा किसान नर्सिङ अवधिमा छन् । भर्खर व्यावसायिक हुँदैछन् । यसैले अहिलेको माग र आवश्यकता भनेको कृषि उत्पादनले मात्रै पुग्दैन । त्यसमा भ्यालु एड गर्नैपर्छ । जस्तै हामी केराको सबै चिज बनाउँछौं, केही पनि खेर जाँदैन । सबैको प्रोडक्ट बनाउँछौं । यसलाई हामीले प्रोडक्ट नबनाएको भए रद्दीमा फाल्नुपथ्र्यो । केराको बोटको कागज कपडा बन्छ । फिलिपिन्सको त राष्ट्रिय कपडा केराबाटै बन्छ । हामीले केराको ४० वटासम्म उत्पादन बनाएका थियौं ।

अनि जनशक्तिको आपूर्ति कसरी गरिरहनुभएको छ ?
अहिले म्यानपावर छैन । यहाँ पचासवटा कुरा सुन्नुभन्दा विदेश गएर कमाउनु राम्रो मान्छन् । तलब चाहिँ विदेशको खोज्ने, कामचाहिँ यहाँकै खोज्ने ? अनि कहाँबाट मिल्छ ? नेपालीले विदेश गएर पैसा कमाएको मैले देखेको छैन । त्यो मान्छे विदेश गएर १२ घण्टा काम गर्छ, तर यहाँ भने उसले आफूले खाएको जुठो थाल पनि उठाउँदैन । यहाँ पनि त १२ घण्टा काम गर्नुप-यो । कि त्यहाँ पनि यहाँजस्तै हल्लेर खान सक्नुप-यो । उता १२ घण्टा काम गर्ने अनि यहाँचाहिँ २ घण्टा पनि काम नगर्ने ? कसरी तुलना गर्न मिल्छ ।

सरकारले दिएको कृषि अनुदान किसानले पाएका छन् ?
एक ठाउँमा मलाई अप्ठ्यारो परेर मैले कृषि मन्त्रालयमा लेखेर पठाएँ । हामीसँग त्यस्तो सहुलियत दिने कुनै प्रावधान छैन भनेर लेखेर पठायो । छैन भने आउने समयमा बनाउँछु भन्नुपर्ने छैन भनेर पठायो । तपाईंले सहुलियत माग गरेको त्यस्तो प्रावधान केही पनि छैन । जानकारी दिएर प्रदेशमा तपाईं सम्पर्क राख्नुस् भनेर पठाइदियो । एउटा फन्ड किन स्थापना नगर्ने ? सरकारले रुग्ण उद्योग भनेर सहुलियतमा फन्ड दिन्छ ।
केराखेती गर्ने युवाहरूले बिजनेस अगाडि बढाउनका लागि करोडौंको ऋण चाहन्छन् । उनीहरूले अनुदान मागिरहेका छैनन् । सहुलियतपूर्ण ऋण भनेका छन्, तर सहुलियतपूर्ण कर्जा जति अप्ठ्यारो कही पनि छैन । त्यो नलिओस् भन्ने चाहन्छन् । प्रचारप्रसार ज्यादा गर्ने तर नलिओस् ।
किसान अप्ठ्यारोमा प-यो भने प्रोटेक्सन दिने, सल्लाह दिने कुनै युनिट छैन । जबकि ६० अर्ब कृषिको अनुदान खेर गयो भनेर पत्रिकामा आएको थियो । कृषि अहिले नर्सरी स्टेजमा छ । यो अवस्थामा भैपरी आउने खतराका लागि सहयता के हुने ?
अनुदान गाई पाल्नका लागि आउँछ । जसलाई गाई पाल्नु छैन, यसले अनुदान खानु छ । कागजमा गाई पाल्छ । अनुदान खान्छ । गाई छोड्दिन्छ । सकिन्छ ।
खेत–खेतमा जानुस् । उसलाई के जरुरी छ । उसलाई त्यही अनुदान दिनुस् । खोइ ? यो व्यवस्था लागू भएन । म ३७ वर्षदेखि भनिरहेको छु । मेरै साथीहरू सचिव भएका छन् । कसैले गरेनन् । डिमान्ड एकातिर छ । सप्लाई अर्कातिर भइरहेको छ । डिमान्डमा आधारित नभएर सप्लाई मात्रै गरिरहन्छौं भने त्यो त मार्केट जाम भइगयो ।

खासमा तपाईं केराखेती गर्दै त्यसमा भ्यालु एड गरेर कृषि पर्यटन गर्नुपर्छ भन्ने अभियन्ता हुनुहुन्छ, यो कसरी सम्भव छ ?
हो, तपाईंले ठीकै भन्नुभयो । नेपालमा मेरोजस्तो कृषि पर्यटन सायदै नहोला । तर अहिले म के ठोकुवा गर्छु भने आउने दिनमा खुल्ने भनेको कृषि पर्यटन नै हो ।

कृषि पर्यटनलाई कसरी बढोत्तरी गर्न सकिन्छ ?
अब कृषि पर्यटनलाई नीतिगत रूपमा नै ल्याउनुप-यो । किसानलाई सुरुमा प्रोत्साहन दिनुप-यो । किसानले त आफ्नो पैसा खर्च गरेर काम गरिरहेका छन् । हामीलाई सुरुवाती छुट, सहुलियत दिए के फरक पर्छ ? भारतमा मोदीले उद्योगहरूलाई १० वर्षसम्म आयकर छुट दिए ।

कृषि पर्यटनमा चिनियाँ र भारतीय पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ ?
नेपालमा भारत र चीनबाट १ प्रतिशत मानिस गर्मी र जाडो छल्न, प्रदूषण छल्न मात्रै आए भने पनि करोडौं मानिस आउँछन् । दिल्लीका मान्छे यहाँ आएपछि यति खुसी हुन्छन् कि चौरमै नुहाउँछन् । भारतमा सफा पानी देख्नै पाइन्न । एक–दुइटा नदी पर्यटनका लागि सुरक्षित राखौं न, प्राकृतिक रूपमा । यहाँ त सबै नदीनाला बिग्रेका छन् ।
हामी कृषि पर्यटनमा आधारित १ हजारवटा रेस्टुराँ बनाऔं । भारत र चीनका मानिसलाई नेपाल आराम गर्ने स्थान हो भनेर बोलाऔं, किनभने उनीहरूसँग जनघनत्व, प्रदूषण र पैसा पनि छ । हामीसँग त विश्वको दोस्रो र छैटौं अर्थतन्त्र सँगै छन् भने किन नगर्ने ? हाम्रो ६८ प्रतिशत पहाड छ । यूएसए र ईयूबाट एक वर्ष पहिले बुक गर्छन् । केही तलमाथि परे रद्द गर्छन् । यसमा किन टाउको दुखाउने ? यस्तै हामीले ग्लोबल वार्मिङको फाइदा हामी लिन सक्छौं ।

कृषकले बैंकबाट सहज रूपमा ऋण पाउन नसकेको पनि गुनासो सुनिन्छ नि ?
कृषि भनेर ऋण लिन गयो भने कुकुरजस्तो गर्छन् । यिनीहरू २-४ रुपैयाँ घर खर्च चलाउन आएका छन् भनेर बुझ्छन् । सिरियस्ली कसैले लिन्नँ । तर, धितो जग्गा राखेर ऋण दिन्छ । कृषकले कसरी काम गर्ने ? परियोजनामा आधारित ऋण दिनुपर्छ । मेरो परियोजनामा पाँच वर्षमा कमसेकम ५० करोड रुपैयाँ चाहिन्छ । जग्गाको आधारमा ऋण दियो भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । मेरो जग्गा गाउँमा छ, मूल्यांकन ५० लाख रुपैयाँ होला । बैंकले देला ५० प्रतिशत अनि २५ लाख रुपैयाँले परिवर्तनको के आशा गर्ने ?

कृषि पर्यटनबाट भ्यालु एड कसरी हुन्छ, त्यसको सूत्र के हो ?
जस्तै केराको उदाहरण लिऊँ । म ४ रुपैयाँमा एउटा कोसा बेच्छु । त्यसलाई चिप्स बनाएर २० रुपैयाँमा बेच्न सकिन्छ । युनिट बढाउन सकिन्छ । तर, व्यवसाय परिवर्तन गरेर मूल्यश्रृंखला जोड्न सकिन्छ । एक बिघामा धान र गहुँ मिलाएर ४० क्विन्टल उत्पादन हुन्छ । ३ हजारका दरले १ लाख २० हजार रुपैयाँ हुन्छ, तर ६० हजार रुपैयाँ त खर्च हुन्छ । त्यहाँ केराचाहिँ २ हजार बोट रोपेमा १ हजार ५ सय बोटले फल दिन्छ । एक बोटमा २ सय रुपैयाँको केरा फल्छ, जसबाट आम्दानी ३ लाख रुपैयाँ हुन्छ । आधा खर्च भए पनि डेढ लाख रुपैयाँ नाफा हुन्छ । खेती गर्ने जमिन (युनिट) उति नै तर केरामा डेढ लाख रुपैयाँ र धानमा ६० हजार रुपैयाँ कमाइ हुन्छ । हामीले सिकाएको त्यत्ति हो । मैले गोलभेंडा खेती गरेको भए १ लाख रुपैयाँ आउँथ्यो होला, रेस्टुराँ गरेको छु, २०-२५ लाख रुपैयाँ आइरहेको छ । हामी युनिट बढाउन सक्दैनौं, तर भ्यालु एड गर्न सक्छौं ।

तपाईंले जागिरका अवसरहरू पनि छोडेर कृषिमा लागेर मनग्य आम्दानी गर्दै हुनुहुन्छ, तर यहींका युवाहरू पैसा कमाउन विदेश जाँदैछन् । उनीहरूलाई नेपालमै पैसा कमाउन के सल्लाह दिनुहुन्छ ?
नेपालमा जति पैसा कमाउन सजिलो कहीं पनि छैन, किनभने एकजना मान्छेले परिवारमा चारजना मान्छेलाई पालिराखेको छ । अमेरिकामा जानुभयो भने आफंैलाई पाल्न सक्दैन । परिवार पाल्ने त कल्पनै नगरे हुन्छ ।
संस्कार बदल्न जरुरी छ । काम र श्रमलाई बदल्न जरुरी छ । मैले निःशुल्क तालिम दिने गरेको छु । दार्चुलादेखि इलामसम्मका मानिस आएर तालिम लिएका छन्, तर दुःखलाग्दो कुरा मेरै जिल्ला कैलाली र नजिकको बर्दियाबाट कोही पनि आएका छैनन् ।
मलाई बजारको कहिल्यै समस्या भएन । समस्या त जनशक्तिको छ । जनशक्ति भएमा म करोड हैन, अर्बौं कमाउन सक्छु । अरु खेती गर्नेहरू बूढा भइसकेका छन् । यहाँ केराखेतीमा सबै युवा छन् । उनीहरूको लाइफ स्टाइल हाई छ ।

कृषिका अरू बाली पनि थिए, तपाईंले केराखेती र केरा पर्यटन नै किन रोज्नुभयो ?
अन्न नफल्ने ठाउँमा पनि केरा फल्छ । केरामा केही पनि नमिसाएर केराको रोटी बनाएर खान सकिन्छ । यसले गर्दा मान्छे भोकै मर्न पर्दैन । अचार पनि केराकै हुन्छ । फिंगर चिप्स, पकौडी बनाउन सकिन्छ । फुड सेक्युरिटीको लागि पनि यो राम्रो छ । यहाँ केराको रोटी खाने । अर्को ठाउँमा अर्को चिज खाने । हामीले हाम्रो डाइभर्सिटीलाई बेचेकै छैनौं । चण्डीगढमा रोज गार्डेन छ । त्यसमा ९ सय २४ किसिमको गुलाब छ । एउटालाई राजा, एउटालाई रानी बनाएर विवाह गराइदिन्छन् । त्यसलाई लाखौं मानिस हेर्न आउँछन् ।
हामीसँग यहाँ ग्रिन रोज छ । रेड रोज त जो पनि देख्छ । हामीसँग यति विविधता छ कि हामीले केही गर्नै पर्दैन । त्यसलाई संरक्षण गरेर त्यसको मार्केटिङ मात्रै ग-यौं भने पुग्छ । हामीसँग ऐसेलु पाइन्छ । ऐसेलुको वाइन बनाएर पर्यटकलाई खुवायो अरे । भोलिका दिनमा बिनाअनुमति किन गरेको भनेर समाउन आउँछ । मैले पनि केराको मदिरा उत्पादन बन्द गरिदिएँ । यस्तो गरेपछि ग्रामीण टुरिजम जान्छ त ? गाउँमा आफ्नो हिसाबले बनाउँछन् । हामीले डिस्टेलरी बनाउन प-यो भने दुई–अढाई करोड रुपैयाँ चाहिन्छ । कसरी बनाउने ? अनुमति पाउन पनि गाह्रो छ ।

तपाईंले केरा पर्यटनलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
नेपाल भनेको कन्ट्री अफ एग्रो टुरिजम, कन्ट्री अफ रिसोर्ट हो । ठूलठूला होटल भनेको हैन हाम्रा लागि । किसानको बगैंचामा आरामसँग बस्ने हो । मेरो एउटा रानीमहल रिसोर्ट भन्ने छ । नेपालको सबैभन्दा ठूलो कुला, रानी कुलाको किनारमा रानीको दरबार थियो । १ सय २२ वर्षअगाडि रानीले खनाएको कुला हो । निजी प्रयोजनका लागि खुलाएको, त्यसैमाथि अहिले राष्ट्रिय गौरवको प्रोजेक्ट छ । रानीको दरबार त्यहाँ छ । म हुँदाखेरि एउटा खाल्दो मात्रै थियो । मैले त्यसलाई संरक्षण गरेर एउटा एरिया राखेको छु । त्यसैलाई प्रचारप्रसार गर्दैछु । भनाइ के हो भने, हामी वरिपरिका जति पनि ऐतिहासिक ठाउँ छन् । त्यसलाई साफसुफ गरेर प्रचार गर्ने । त्यसले टुरिस्टिक भ्यालु पाउँछ । सबै कुरा सरकारको भरमा नपर्ने । त्यति बेलाका इँटा, टायल, त्यति बेलाका केही चित्रहरू भएका त्यो मैले राखेको छु ।

तपाईंको आर्थिक विकासको कन्सेप्ट राम्रो छ, नेपालको आर्थिक विकास कसरी गर्न सकिन्छ ?
नेपाललाई विकास गर्न दुईवटा विकल्प भनिएको छ— एउटा जलविद्युत्, अर्को टुरिजम । जलविद्युत् हामी सक्दैनौं । टुरिजममा केही सीमित समुदाय, दुई–चारवटा हिमालय, दुई–चारवटा नदी, दुई–चारवटा ताल बेचेर नेपाल धनी बन्छ ? ८-१० लाखले नेपाल धनी बन्छ ? बन्दैन । त्यसको विकल्प के त ? ६० प्रतिशत किसान छन् । ती किसान मूलधारमा आएनन् भने किसान गरिब बन्दै जान्छन् । फेरि अर्को कसैले राजनीतिक हिसाबले विद्रोहको स्थिति आउन सक्छ । भनेपछि नेपाल सधैं गृहयुद्धमा बसिरहने त ? त्यही भएर हामीले के भनेका छौं भने किसानलाई कसरी मूलधारमा ल्याउने भनेर हामीले एग्रो टुरिजमको परिकल्पना गरेका हौं ।

उसो भए एग्रो टुरिजमबाट नेपालमा आर्थिक विकास कसरी सम्भव छ त ?
डाइभर्सिटी र एजुकेसनमा आधारित भई हामीले मोडल तयार ग-यौं । डाइभर्सिट भनेको केराको बोटमुनि केराको आइटम खाने र केराकै शिक्षा दिने । केराको बोटबाट कागज बन्छ, विभिन्न परिकार बन्छ र कपडा पनि बन्छ भन्ने यसको शिक्षा हो । भोलि सुन्तलाको बोटमा जाने, सुन्तलाकै खाने सुन्तलाकै हेरेर निस्किने । स्याउको बोटमा जाँदा स्याउकै खाना, स्याउकै जानकारी । हरेक ठाउँमा माहोल फरक, एजुकेसन फरक, प्रोडक्ट फरक दिने कुनचाहिँ टुरिजम हुन सक्छ ? एग्रो टुरिजम नै हो । हामीले भनेकै छौं डाइभरसिटी ः प्लान्ट, एनिमल, एजुकेसन । यसमा आधारित भएको रिसोर्ट बनाऊँ, तपाईंले सोचेजस्तो महँगो रिसोर्टमा पर्दैन ।
नेपालका लागि ग्राहक फरक छन् । हामीले भोको मान्छेको लागि होइन, रेस्टका लागि । रेस्टोरेन्ट भनेको रेस्ट गरेवापत रेन्ट तिर्ने ठाउँ हो । यो भनेको मेन्टली, फिजिकली टायर्ड पिपुल आएर आराम गर्ने ठाउँ हो । नेपालमा रेस्ट गर्ने पब्लिक प्लेस कहाँ छ त ? सहर–बजारमा टेन्सन बढ्दै छ । पोलुसन बढ्दै छ । डेन्सिटी बढ्दैछ । ह्वेयर टु गो ? त्यो जाने ठाउँ भनेको किसानको बगंैचा हो । तपाईं यहाँ आउनुभयो, फस्टमा एक कप चिया खानुहोस् या फस्टमा केही चिज मगाउनुस् । त्यसपछि दिनभरि बस्नुस्, कसैले केही सोध्दैन । कति मान्छेलाई हामीले सिकाएका पनि छौं । किनभने हामी कसैलाई डिस्टर्ब गर्न चाहन्नौं ।
होटलमा गएपछि थालीमा भात ल्याएर राखिदिइन्छ । खाए खा नखाए घिच् । हाम्रोमा आएपछि हामी भेराइटी राखिदिन्छौं, जुन छानेर खानुस् । कुनै ठाउँमा गएपछि हाँसको भेराइटी हुन्छ । कुन जातको खाने ? यो भेराइटी दिन सक्ने एग्रिकल्चरले मात्रै हो ।

 

प्रतिक्रिया दिनुहोस्