जीतपुर–सिमरा उपमहानगरलाई चिनियाँ बैंकको सहयोग

जीतपुरसिमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चीनको एसियन इन्फास्ट्रक्चर डेभलप्मेन्ट बैंकले सहयोग गर्ने भएको छ । अर्बान इन्फास्ट्रक्चर डेभलप्मेन्ट प्रोजेक्टअन्तर्गत बैंकले उपमहानगरको सडक, पुल, आयस्रोतको पूर्वाधार निर्माणका लागि झण्डै दुई अर्ब लगानी गर्ने भएको हो ।
उपमहानगरका नगरप्रमुख डा. कृष्ण पौडेलले काठमाडौंस्थित सहरी विकास विभाग पुगेर केही महिनाअघि प्रोजेक्टका लागि पहल थालेका थिए । नगर प्रमुखको पहलपछि लगानी गर्न इच्छुक देखिएको चिनियाँ बैंकको टोली केही दिनअघि जीतपुरसिमरा आइपुगेको उपमहानगर कार्यालयले जनाएको छ । टोलीले उपमहानगर सहरी र ग्रामीण भेगको निरीक्षणसमेत गरेको छ । उपमहानगरका नगरप्रमुख डा. पौडेलले टोलीलाई निरीक्षण गराउँदै उपमहानगरको अवस्था र सम्भावनाका बारेमा जानकारी गराएका थिए ।
टोलीमा बैंकको इन्भेष्टमेन्ट अपरेसन स्पेसियलिस्ट सामो किमको नेतृत्वमा आएको टोलीमा बैंकका प्रतिनिधि टासी टेन्जी, सहरी विकास विभागका वरिष्ठ इन्जिनियर सरेन्द्रमोहन श्रेष्ठ, इन्जिनियर विश्वराम प्रजापती सहभागी थिए । निरीक्षणपछि आयोजित कार्यक्रममा टोली नेतृत्वकर्ता किमले पूर्वाधार निर्माणका लागि लगानी गर्न बैंक इन्च्ुक रहेको भन्दै किमले उपमहानगरबासीलाई शुभकामना व्यक्त गरेका थिए ।
सहरी विभागका इन्जिनियर श्रेष्ठले प्रोजेक्टको बारेमा उपमहानगरको कार्यपालिका सदस्यलाई जानकारी गराएका थिए । उपमहानगरमा ठूलो लगानी हुन लागेको भन्दै श्रेष्ठले यसबाट उपमहानगरको कमजोर अवस्थालाई सुधार गर्न केही सहयोग पुग्ने बताए । उपमहानगरभित्रको सडक सञ्जाल, पुल, आयस्रोतका निम्ति हाटबजार, बसपार्कलगायतका पूर्वाधार निर्माण गर्न सकिने भन्दै श्रेष्ठले पारदर्शी रूपमा प्रोजेक्टको काम सम्पन्न गर्नसमेत आग्रह गरे ।
कार्यक्रममा बैंकका प्रतिनिधि टेन्जीले उपमहानगरको निरीक्षण गर्दा धेरै सम्भावना देखेको भन्दै बैंकको लगानी नगरबासीले पाउने र उपमहानगरको अवस्था सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए । उपमहानगरभित्र औद्योगिक करिडोर, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटकीय क्षेत्रलगायत थुप्रै सम्भावना रहेकाले भविष्यमा यो उपमहानगर देशकै नमुना बन्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा जीतपुरसिमराका नगरप्रमुख डा. पौडेलले समृद्ध उपमहानगरको अभियानमा अर्बान इन्फास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टको साथबाट अत्यन्त हर्षित भएको भन्दै बैंकका प्रतिनिधिलाई धन्यवाद ब्यक्त गरे । पौडेलले लगानी गर्न उत्साहित रहेको बैंकलाई निराश नपार्ने गरी पारदर्शी र दीर्घकालीन सोचसहित काम गर्ने प्रतिबद्धता गरे । जनसंख्या र भूगोलको हिसाबले मात्रै उपमहानगर बनेको जीतपुरसिमरामा दुई अर्बको लगानीबाट थुप्रै पूर्वाधार निर्माण गर्न सकिने उनको भनाइ थियो ।