जीवन बीमा कम्पनीको बीमा शुल्क खर्ब माथि

काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमा कम्पनीहरूले एक खर्बभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले १ खर्ब आठ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
यो अवधिमा कम्पनीहरूले नवीकरण शुल्कमार्फत एक अर्ब ९६ करोड शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरूले फागुन महिनामा मात्रै ४ लाख १९ हजार २५३ बीमालेख जारी गरेर १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँबराबरको व्यवसाय गरेका छन् ।
फागुनमा कम्पनीहरूले नवीकरण शुल्कमार्फत १० अर्ब ३७ करोड र वैदेशिक रोजगार बीमा शुल्क ३० करोड ५१ लाख संकलन गरेका छन् । यो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक व्यवसाय गरेको छ । यो इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १९ लाख ४ हजार ९६ बीमालेख जारी गर्दा २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ शुल्क आर्जन गरेको छ । नेपाल लाइफले फागुनमा मात्रै ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
बीमा शुल्क आर्जनमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ । कम्पनीले ८ महिना अर्थात् फागुन मसान्तसम्म कुल १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले १५ लाख ३४ हजार बीमालेख जारी गरेको छ । कम्पनीको फागुनको मात्रै व्यवसाय २ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ ।
तेस्रो नम्बरमा रहेको एलआईसी नेपालले फागुनसम्ममा १२ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । एलआईसीले फागुनमा मात्रै एक अर्ब ३८ करोड ९५ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, धेरै व्यवसाय गर्ने चौथो नम्बरमा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँबराबरको बीमा व्यवसाय गरेको छ ।
फागुन मसान्तसम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ६९ करोड ५० लाख, एशियन लाइफले ५ अर्ब ६९ करोड ८२ लाख, सिटिजन्स लाइफले ४ अर्ब ४९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ९३ लाख र सानिमा रिलायन्सले ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
यसैगरी मेटलाइफले ३ अर्ब ८८ करोड, आइएमई लाइफले ३ अर्ब २८ करोड ७८ लाख, प्रभु महालक्ष्मीले ३ अर्ब १९ करोड ७६ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड ५९ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७० करोड २९ लाख रुपैयाँबराबरको व्यवसाय गरेका छन् ।