Logo

कुलमान हटाएकोमा सडक र सञ्जालमा चर्को विरोध

काठमाडौं– सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा मंगलबार दिनभर सडकमा विरोध प्रदर्शन भएको छ । यस्तै, समाजिक सञ्जालमा पनि आक्रोश पोखिएको छ ।

दिनभर माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म यातायात सञ्चालनमा आंशिक अवरोध गरेर नागरिक स्तरमा विरोध भयो । विरोधमा सहभागीहरुले सरकारको चर्को विरोध गर्दै ‘अन्धकार होइन, उज्यालो चाहिन्छ’, ‘हामी हेरेको हेर्‍यै, सरकार जान्ने भो धेरै’, ‘कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय खारेज गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । मंगलबार बिहानै उपत्यकाका क्याम्पसमा युवा विद्यार्थीहरुले घिसिङ हटाएकोमा विरोध प्रदर्शन गरेका थिए । सुरक्षा संवेदनशिलतालाई हेरेर सरकारले विद्युत प्राधिकरण परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो ।

सडक र सामाजिक सञ्जालमा भएको विरोधलाई सरकारले सामान्य रुपमा लिइएको बताएको छ । सरकारको निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको निर्णयमा असहमति जनाउने अधिकार सबैलाई भएकोले वक्तव्य दिनुलाई अन्यथा नमानेको बताए ।

यसैगरी मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले घिसिङ हटाउने सरकारको निर्णयमा भएको विरोधलाई तिललाई पहाड बनाउने काम भएको र त्यसको कुनै अर्थ नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले कार्यकारी निर्देशकमा रहेको व्यक्ति (हितेन्द्रदेव शाक्य) लाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्ति (कुलमान) लाई नियुक्त गरेको होइन भनेर प्रश्न गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको उल्लेख गरेको छ । ‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ,’ केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । माओवादी केन्द्रले कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयास गरिरहेका राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने षड्यन्त्र भएको भनिएको छ । बिचौलियाहरूको संरक्षणको श्रृंखलाको रुपमा नै घिसिङमाथि कारवाही भएको रास्वपाले ठहर गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सासंदहरु पनि कुलमान हटाउने निर्णयको विपक्षमा उभिएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले जनमतअनुसारको निर्णय नभएको बताए । ‘कार्यकाल सकिन लागेको कार्यकारी निर्देशकलाई हटाएर गल्ती गरेको छ,’ उनले भने । अर्का सांसद रामकृष्ण यादवले कुलमान हटाउने निर्णयमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिनुपर्ने मत राखेका थिए ।

शाक्यले गरे पदभार ग्रहण, बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार साँझ पदभार ग्रहण गरेका छन् । मन्त्रालयबाट नियुक्तिपत्र लिएलगत्तै पदभार ग्रहण गर्न प्राधिकरण केन्द्रीय कार्यालय पुगेका उनले मन्त्रालयसँग समन्वय गरेर काम गर्ने बताए । ‘डेडिकेटेड र ट्रंकलाइन विद्युत खपतको बक्यौता रकम उठाउने, ऊर्जा सुरक्षालाई उच्च प्राथमिकता दिनेलगायत विषय मेरो प्राथमिकतामा छन्,’ उनले भने । केही मानिसले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाए पनि त्यो निराधार रहेको र अब घरायसी ग्राहकमा लोडसेडिङ नहुने बताए । ‘उद्योगमा भइरहेको लोडसेडिङ हटाइन्छ । एक–दुई हप्ताभित्र नतिजा देखिने गरी काम गर्छु,’ शाक्यले भने ।

त्यसअघि ऊर्जा मन्त्रालयमा ऊर्जामन्त्री दीपक खड्काले शाक्यलाई नियुक्तिसँगै पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । त्यस क्रममा मन्त्री खड्काले कार्यकारी निर्देशक शाक्यलाई उद्योगीहरुसँग प्राधिकरणले लिनुपर्ने बक्यौता तत्काल असुल गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिए । मन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालकै समृद्धिको प्रमुख आधार रहेको भन्दै विद्युत प्राधिकरणले इमान्दार भएर जनताको पक्षमा नतिजा देखिने गरी काम गर्न निर्देशन दिए ।

शपथ ग्रहणपछि नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो मन, वचन र कर्मले योग्यता र क्षमताको अधिकतम प्रयोग गरी प्राधिकरणलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । मन्त्रालयका सचिव सुरेश आचार्यले अहिलेको चुनौतीपूर्ण अवस्थामा प्राधिकरणको साख जोगिने गरी काम गर्न निर्देशन दिए ।सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।

अदालत जाने तयारीमा कुलमान
मन्त्रिपरिषद्को निर्णयबाट सोमबार बर्खास्त गरिएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबार साँझसम्म पनि हटाइएको पत्र प्राप्त नभएको बताएका छन् । पत्र प्राप्त भएपछि त्यसमा उल्लेखित व्यहोरा अनुसार बुधबार अदालत जाने उनको तयारी छ ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार कुलमानलाई हटाइएको पत्र प्राधिकरणमा दर्ता भइसकेको र ईमेलमार्फत पठाउने तयारी भइरहेको छ । पदबाट हटाइनुअघि सोमबार घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुल बक्यौता नतिर्ने उद्योगहरुको विद्युत लाइन काट्ने सहमतिको लागि विद्युत नियमन आयोगलाई पत्र पठाएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्