ह्वावे पी ४० प्रोमा ८० एमएम टेलिफोटो क्यामरा हुने «

ह्वावे पी ४० प्रोमा ८० एमएम टेलिफोटो क्यामरा हुने

ह्वावेले छिटै बजारमा ल्याउने भनिएको फ्ल्यागशीप स्मार्टफोन पी ४० सिरिजका बारेमा विभिन्न लिकहरु आउन थालेका छन् । जनवरी पहिलो सातादेखि बाहिर आएका सूचना तथा मोबाइलको फोटोहरु अनुसार पी ४० प्रोमा ८० मीलीमीटरसम्मको टेलीफोटो क्यामरा हुनेछ ।
यसअघि बजारमा रहेको पी ३० र पी ३० प्रोको अपग्रेड भर्सनमा आउन लागेको पी ४० का सिरिजमा क्यामरालाई प्रमुख प्राथमिकतामा राखेको पाइएको छ । स्मार्टफोनहरुको लिक गर्दै आएका इभान ब्लासले गरेको पछिल्लो लिक अनुसार नयाँ सिरिजमा १७ एमएम लेन्सको अल्ट्रा वाइड क्यामरा पनि हुनेछ ।
आगामी मार्चसम्ममा विश्व बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको पी ३० सिरिजमा पाँच वटा क्यामरा हुने देखिएको छ । पी ४० को सिरिजमा पी ४०, पी ४० प्रो र पी ४० प्रो प्रिमियम गरि तीन वटा भर्सन आउने अनुमान गरिएको छ । फोनको मुख्य क्यामरा ५२ मेगापिक्सेलको हुनेछ भने यसमा १÷१.३ ससेन्सर र १६ इन १ क्वाड बेयर फिल्टरसमेत हुनेछ । १-१.५ सेन्सरजडित ४० मेगापिक्सेल क्यामरा र ८ मेगापिक्सेलको पेरिस्कोप मोडुलको १० एक्स जुम सहित तथा थ्रीडी सेन्सरसमेतको माइक्रोक्यामसमेत हुनेछ ।
यसअघि विश्वबजारमा चल्तीमा रहेको पी ३० प्रो, पी ३० र पी ३० लाइटको सक्सेसरको रुपमा पी ४० सिरिज बजारमा ल्याउन थालिएको हो । गत वर्ष पहिलो ६ महिनामै एक करोड थान पी ३० सिरिज विक्री भएको थियो । अमेरिकी प्रतिबन्धपछि विना एन्ड्रोइड सार्वजनिक भएको मेट ३० एक महिनामै ७० लाख थान विक्री भएको थियो ।
फ्ल्यागशीपको मेट सिरिजमा ह्वावेले हालै मात्र मेट ३० प्रो विना एन्ड्रोइड बजारमा ल्याएको हो । मेट ३० प्रोको विश्व बजारमा बिक्री ह्वात्तै बढेपछि कम्पनीले आगामी उत्पादनहरु बिना एन्ड्रोइड नै बजारमा ल्याउन थालेको छ । यद्यपी हालै भएको अमेरिका–चीन व्यापार सुधारको सम्झौतापछि ह्वावे–अमेरिका सम्बन्ध कस्तो रहन्छ भन्ने विषय भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्