हुन्डाईका एकै साथ दुई वटा क्रेटा बजारमा

काठमाडौं– नेपालमा कोरियन गाडी हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले एकै साथ दुई वटा सवारी साधन बजारमा ल्याएको छ । राजधानी काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमका बीच हुन्डाईका दुई वटा नयाँ गाडी सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपालमा लोकप्रिय बनेको हुन्डाईका दुई क्रेटा गाडी बजारमा ल्याइएको हो । बजारमा आएका दुईमध्ये एउटा बहुप्रतीक्षित विद्युतीय गाडी क्रेटा इभी हो भने अर्को नेपालमै बनेको क्रेटा हो । लक्ष्मी ग्रुपले नेपालमा साढे २ दशकदेखि हुन्डाईका गाडी बिक्री वितरण गर्दै आए पनि क्रेटा सबैभन्दा लोकप्रिय बनेको छ । अहिलेसम्ममा क्रेटा १० हजारभन्दा बढी बिक्री गरिसकेको बताइएको छ ।
कम्पनीका अनुसार बजारमा ल्याइएको क्रेटा इभी दुई फरक मोटर क्षमतामा उपलब्ध छ । ९९ किलोवाट क्षमता भएको मोडेलमा ४२ किलोवाट क्षमताको ब्याट्री राखिएको छ । यो एकपटक पूरा चार्ज हुँदा ३९० किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ । यस्तै अर्को १२६ किलोवाट क्षमताको मोटर भएको मोडेलमा ५१.४ किलोवाट क्षमताको ब्याट्री राखिएको छ ।
यो एक पटकको चार्जमा ४७३ किलोमिटरसम्म गुडन सक्छ । द्रुत चार्ज गर्ने प्रणालीमा ५८ मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ भने घरमा प्रयोग गर्न मिल्ने सामान्य ११ किलोवाट क्षमताको चार्जरले चार्ज गर्दा गाडी चार घण्टामा पुरै चार्ज हुन्छ । यो गाडि पेट्रोल र डिजेल क्रेटा जस्तै डिजाइनमा भए पनि केही परिवर्तन गरिएको बताइएको छ ।
कम्पनीका अनुसार गाडीभित्र १०.२५ इन्चको दुईवटा स्क्रिन छन् । ठूलो छत खोल्न मिल्ने सनरूफ, गर्मी छल्ने सिट, चारैतिरको दृश्य देख्ने क्यामेरा र गाडीको ब्याट्रीबाट अन्य उपकरण चार्ज गर्न सकिने जस्ता अनेकौं सुविधा छन् । क्रेटा इभीका लागि आठ वर्षको ब्याट्री वारेन्टी छ । यस्तै सुरक्षाका हिसाबले पनि यो गाडी भरपर्दो छ ।
६ वटा एयर व्याग, आकस्मिक ब्रेक लगाउँदा नियन्त्रण गर्न मद्दत गर्ने प्रविधि, ओरालो सडकमा ब्रेकिङलाई सन्तुलित बनाउने प्रणाली पनि जडान गरिएका छन् । यो क्रेटा इभी चार फरक भेरियन्टमा उपलब्ध छ । सबैभन्दा सस्तो मोडेल क्रेटा ईभी एक्जिक्युटिभको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ राखिएको छ भने क्रेटा इभी स्मार्टको मूल्य ५४ लाख ९६ हजार, क्रेटा इभी स्मार्ट ओ को ५६ लाख ९६ हजार तोकिएको छ ।
सबैभन्दा महँगो मोडेल क्रेटा इभी प्रिमियम प्लसको मूल्य ५९ लाख ९६ हजार राखिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा इभीसँगै नेपालमा उत्पादन गरेको क्रेटा आइस पनि सार्वजनिक गरेको छ । क्रेटा आइसको मुल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीका अनुसार नेपालमा बनेको क्रेटा अहिले बजारमा बिक्रि भइरहेको क्रेटाको सेगमेन्टमा ९ लाख रुपैयाँ कम मुल्य हो । हुन्डाईले सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो । २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यी गाडीले मिल्ड अफ रोडमा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । क्रेटा आइसका लागि तीन वर्षको भेहिकल वारेन्टी दिइएको छ ।
कार्यक्रममा लक्ष्मी ग्रुपका संस्थापक गणेशबहादुर श्रेष्ठले ग्राहकको चाहना र आवश्यकता अनुसार नेपालमा हुन्डाई गाडी आयात गरी बिक्री वितरण गर्दै आएको बताए । उनले साढे २ दशकको यो यात्रामा अहिले नेपालमै हुन्डाई गाडि उत्पादन गर्न सफल भएको पनि बताए ।