Logo

प्लाइउड उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

दाङ– दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको ‘सांग्रीला प्लाई तथा भेनियर उद्योग’ मा आगलागी हुँदा करोडौको क्षति भएको छ । सोमबार राती १ बजेदेखि आगलागी भएको थियो । प्रहरीले एक घण्टा पछि मात्र आगलागीबारे जानकारी पाएको थियो । आगलागीका कारण उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । विद्युत सट भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाङका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले आगो नियन्त्रणका ३ वटै सुरक्षा निकाय तथा अन्य जनशक्ति परिचालन गरिएको जानकारी दिए । आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिन, केमिकल लगायतका सामग्री जलेर नस्ट भएका छन् ।

उद्योगभित्र राखिएका केही ट्रकमा समेत क्षति भएको डिएसपी शाहले बताए । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली रातिदेखि नै खटिएको थियो । उद्योगमा धेरै प्लाइ राखिएको, काठ तथा लकडी धेरै भण्डारण गरिएको हुँदा त्यसमा ठूलो आगो सल्किएकाले समयमै नियन्त्रणमा लिन समस्या भएकोे प्रहरी अधिकारीहरुको भनाइ छ ।

दाङका तीन वटा, रुपन्देहीको १, बाँकेबाट २ र बर्दियाको १ दमकल सहयोगका लागि दाङ आएका थिए । जिल्लामा रहेका पानी बोक्ने ट्यांकरहरु पनि आगो निभाउन प्रयोग गरिएका थिए । जिल्लामा अन्य सबै पालिकामा दमकल नहुँदा अन्य जिल्लाबाट मगाउनु परेको हो । उद्योगमा आगलागी हुँदा कामदार भने त्यहाँ थिएनन् । उद्योगमा लागेको आगो नियन्त्रणमा लिन कठिन भएपनि उद्योगका आसपासमा रहेका बस्ती जोगाउन प्रहरी प्रशासनले रातिदेखि नै सक्रियता बढाएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उद्योगमा निरन्तर आगो लागेको र दिउँसोको समयमा हावाहुरी चल्दा बस्ती थप जोखिमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी बस्तीलाई जोगाउने गरी सुरक्षाकर्मी खटाएर बस्ती जोगाउन सफल भएको बताए । उद्योग वरपर रहेका केही घरहरु जोखिममा रहेको हुँदा क्षति हुन नदिने गरि काम गरिएको उनले बताए । उद्योगमा लागेको आगो नियन्त्रणमा लिन घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरको दमकल सुरुमा पुगेका थिए ।

आगो नियन्त्रणका लागि दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका तीन वटा दमकलसँगै कपिलवस्तुका २, रुपेन्देहीको १, बाँकेका २ र बर्दियाको १ वटा दमकल प्रयोग गरिएको उनले बताए । दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट एउटा दमकल ल्याएर आगो नियन्त्रमा ल्याइएको हो ।

उद्योगले प्लाइ उत्पादन गरी देशका विभिन्न जिल्लाहरुका साथै भारत समेत निर्यात गर्दै आएको थियो । उद्योगमा लागेको आगलागीकावाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । झण्डै ७ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योग जिल्ला र नेपालकै ठूलो मध्येको हो । यसअघि घोराहीको फर्निचर उद्योग तथा तुलसीपुरमा रहेको पसलमा आगलागी हुँदा नियन्त्रणमा लिन समस्या भएको थियो ।

नारायणपुर उवासंघद्वारा दु:ख प्रकट
घोराही उपमहानगरपालिका–९ खैरास्थित गणपति भेनियर तथा सांग्रीला प्लाई उद्योगमा भएको आगलागीप्रति नारायणपुर उद्योग वाणिज्य संघले दु:ख प्रकट गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले दु:ख प्रकट गरेको हो । संघका अध्यक्ष अनिलकुमार बस्नेत र महासचिव जागेश्वर डाँगीले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई उचित क्षतिपूर्ति व्यवस्थापनका लागि समेत अनुरोध गरेका छन् ।

नारायणपुर उद्योग वाणिज्य संघका साधारण सदस्य तथा घोराही उपमहानगरपालिका–९ का उद्योगपति गेहेन्द्र बस्नेत र जितेन्द्र बस्नेतद्वारा सोही वडामा सञ्चालित गणपति भेनियर तथा सांग्रीला प्लाई उद्योगमा भीषणा आगलागी भई त्यहाँ रहेका सामान, मेसिनलगायत सम्पूर्ण धनमाल पूर्णरुपले नष्ट हुन गएको घटनाप्रति नारायणपुर उद्योग वाणिज्य संघ परिवारले दु:ख प्रकट गरेको छ । साथै उक्त घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उचित क्षतिपूर्ति व्यवस्थाको लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्