Logo

सडक विस्तारको चर्चाले व्यवसायी चिन्तित

वीरगन्ज– वीरगन्जका मुख्य सडक विस्तार हुने भएपछि वीरगन्जका व्यवसायी चिन्तित भएका छन् । त्रिभुवन राजपथअन्तर्गत वीरगन्जको मितेरी पुलदेखि गण्डकसम्मको मुख्य सडक विस्तारविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि सडक विस्तारका लागि बाटो खुला भएको छ ।

सर्वोच्चले कानुनी बाटो खुला गरेपछि मुख्य सडकमा व्यवसाय गर्ने व्यापारी भने चिन्तित भएका छन् । मुख्य सडकमा भएका घर सटरमा पसल गर्दै आएका व्यापारी सडक विस्तारका क्रममा तोडफोड हुँदा व्यापार व्यवसाय नै बन्द गर्नुपर्ने भएपछि चिन्तित भएका हुन् । सर्वोच्च अदालतको आदेशपछि सडक विस्तारका लागि सीमांकन गर्न डिभिजन सडक कार्यालय हेटौंडाले नापी कार्यालयलाई पत्राचार गरेको छ ।

यसअघि सडक डिभिजन कार्यालयले घरटहरा भत्काउन सूचना जारी गर्दा वीरगन्जको मुख्य सडकमा घर पर्नेले सडक विस्तार रोक्न परामदेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेजसँगै मुख्य सडकको घर भाडामा लिएर व्यापार गर्ने व्यवसायीलाई भने व्यापारबाट विस्थापित हुनुपर्ने चिन्ता बढेको छ ।

मुख्य सडक विस्तारका क्रममा घर भत्काउनु पर्ने र ती घरमा भाडा तिरेर पसल सञ्चालन गर्ने व्यापारी कहाँ जाने भन्ने चिन्ता बढेको कस्मेटिक व्यवसायी राजु रौनियारले बताए । वीरगन्जको मुख्य सडक विस्तारका लागि बजार बन्द हुँदा फेरि रक्सौलका व्यापारीलाई फाइदा हुने उनीहरूको भनाइ छ । कोरोना महामारीपछि खस्किएको व्यापार पूर्ण रूपमा लयमा आउन सकेको छैन ।

वीरगन्जको सडक विस्तारका लागि घर भत्काउन सुरु गर्‍यो भने घरधनीको घर भत्किने मात्रै होइन सटर पसल सम्झौता गरेर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायी पनि मारमा पर्नेछन् । उनीहरूलाई अहिले नै आफ्नो पसलका सामान कता व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ । वीरगन्जको बजार व्यवस्थित नहुँदा अन्य स्थानमा स्थानान्तरण गर्नका लागि पनि समस्या छ ।

स्थानीय सरकारले पनि वैकल्पिक व्यवस्थाको विषयमा सोचेको छैन । यसले व्यवसाय गर्ने व्यवसायीलाई तनाव बढाएको हो । सडक छेउमा घर पर्नेहरू त यसै घरविहीन हुने भन्दै चिन्तित भएका छन् । उनीहरूको घर भाडामा लिएर पसल सञ्चालन गर्ने व्यवसायीलाई व्यापार व्यवसाय नै चौपट हुने चिन्ताले सताएको छ । यद्यपि सडक भत्काउन समय लाग्ने भए पनि घर सटरका पसल कता व्यवस्थापन गर्ने भन्ने चुनौती भने जटिल नै छ ।

प्रतिक्रिया दिनुहोस्