Logo

तीन हजार बिघा उर्वर भूमि दलदलमा परिणत

महेन्द्रनगर– कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दशकौँदेखि उर्वर भूमि सरकारकै कारण बाँझो रहेको छ । सरकारले नहर विस्तारदेखि खोला नदीको उचित तटबन्ध नगरिदिँदा झन्डै तीन दशकदेखि उर्वर भूमि बगर र सिमसारमा परिणत भएको हो ।

संघीय सरकारले भू–उपयोग नियमावली २०७९ जारी गर्दै खेतीयोग्य जमिन बाँझो राखे एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ भने, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनलाई १० क्षेत्रमा वर्गीकरण गरेर लगातार तीन वर्ष बाँझो राखे कारबाही हुने व्यवस्थासमेत गरेको छ ।

तर, २०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण सुरु भएसँगै सिपेज, झर्नाखोला र चौधर नदी गाउँ पस्दा उर्वर भूमि दलदल, बगर र सिमसारमा परिणत भएको छ । बेलडाँडी गाउँपालिका–१ देखि ५ सम्म तीन हजार बिघाभन्दा बढी जमिन बाँझो रहेको छ । तीनै तहका सरकारले कागजमा कृषिलाई प्राथमिकतामा राखेपनि व्यवहारमा लागू नहुँदा जमिन भएर पनि स्थानीयले उपभोग गर्न पाएका छैनन् ।

बगर र सिमसारमा परिणत भएको जमिनको विषयमा सरकारले चासो नदिँदा किसान मारमा परेका छन् । कृषिमा आमूल परिवर्तन गर्ने भाषणबाजीदेखि तारे होटेलमा योजनाबारे सेमिनार गरेपनि उर्वरभूमि पुन: उत्पादन गर्नेतर्फ कसैले चासो नदिँदा बेलडाँडीको पूर्वमा झर्नाखोला र पश्चिममा चौधर नदीसहितका खोलानालाका कारण जमिन दलदलमा परिणत हुँदै आएको छ । यसबारेमा तीनै तहका सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।

त्यसैगरी बेलडाँडी गाउँपालिका–१ झिलमिला बस्तीका स्थानीय सन्तोष कुँवरले भएको जमिन दलदलमा परिणत भएपछि घरपरिवारका लागि खाद्यान्नको जोहो गर्न खाडी मुलुकतिर हानिएको बताए । ‘हामी सानो छँदा खेतमा धान टन्नै फल्थ्यो,’ उनले भने, ‘नहरको लिकेजले कतै दलदल र झर्नाखोलाको बाढीले कतै बगरमा परिणत भएको छ ।’ बेलडाँडीका स्थानीय अगुवा दिनेश ठगुराठीले १ नम्बर वडामै एक हजारभन्दा बढी बिघा जमिन बाँझो रहेको बताए ।

‘बेलडाँडीको आधाजति जमिन दलदलमा परिणत भएको छ,’ उनले भने, ‘मेसिनबाट पानीको निकास हुँदैन, श्रमशक्ति लगाएरै भए पनि पानीको निकास गर्नुपर्छ ।’ उनले बेलडाँडीको दक्षिणमा रहेका किसानले त्यही बराबर रहेको खेतमा नगदे बाली लगाएर वार्षिक लाखौँ आम्दानी गरे पनि बेलडाँडीका किसानले बाँझो जमिन हेरैरे बस्न बाध्य रहेको बताए ।

बेलडाँडी गाउँपालिकाले दलदलमा परिणत भएको जमिन पुन: उत्पादनका लागि योजना अघि सारेको जनाएको छ । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीको सिमसार जमिन खेतीयोग्य बनाउन आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटमा समेटिएको बताए । गाउँपालिका प्रमुख रानाले कुनै न कुनै विधि निकालेर जमिन खेतीयोग्य बनाउने प्रतिबद्धता जनाएका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि बेलडाँडीमा सिमसारमा परिणत भएको जमिन खेतीयोग्य बनाउन योजना बनाउने जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी जनक सिंहले उक्त जमिन कृषिमा परिणत गर्न प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले खेतीयोग्य भूमि पुन: उत्पादनका लागि प्रदेश सरकारले सम्बन्धित निकाय पालिका र कृषि ज्ञान केन्द्रमार्फत समन्वय गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्