कर्णाली प्रतिष्ठानले राकममा १५ शैयाकाे आधारभूत अस्पताल सञ्चालन गर्ने

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो स्वास्थ्य सेवालाई विस्तार गर्न दैलेखको राकममा आधारभूत अस्पताल सञ्चालन गर्ने भएको छ । पश्चिम नेपालको स्वास्थ्य भरोसा केन्द्र बनेको कर्णाली प्रतिष्ठानले नागरिकको माग र आवश्यकतालाई मध्यनजर गरी १५ शैया अस्पताल सञ्चालन गर्ने भएको हो ।
सरकारले राकममा आधारभूत अस्पताल सञ्चालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिने निर्णयसमेत गरेको छ । सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको हो ।
गत माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले राकमको आधारभूत अस्पताललाई ५० शैया स्तरवृद्धि गरी प्रतिष्ठानले सञ्चालन गर्ने निर्णय गरेको थियो । कर्णालीका १० जिल्ला र सुदूरपश्चिमका तीन जिल्ला गरी १३ जिल्लामा सस्तो एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको कर्णाली प्रतिष्ठानले दुर्गममा विशेषज्ञ सेवा विस्तारमा जोड दिँदै आएको छ ।
सोहीअनुसार सरकारले दैलेखको राकममा १५ शैया आधारभूत अस्पताल सञ्चालन गर्ने प्रतिष्ठानलाई जिम्मेवारी दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले मन्त्रिपरिषद् बैठकले दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राकमस्थित आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको बताए ।
उनले यो निर्णयसँगै त्यहाँबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने काम प्रतिष्ठानले अगाडि बढाएको जानकारी दिए । अहिले अस्पताल सञ्चालनका लागि काम भइरहेको छ । जनशक्ति व्यवस्थापन लगायतको काम जारी रहेको उनको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठबिस नगरपालिकाले नागरिकलाई स्तरीय सेवा प्रदान गर्नका लागि १५ शैयाबाट शिक्षण अस्पतालको सेवा सुरु गर्न लागेका हुन् ।
एक सय शैयाका अन्य संरचना निर्माण नहुँदासम्म १५ शैयाबाट सेवा सुरु गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । अस्पतालको आन्तरिक व्यवस्थापन तथा जनशक्ति व्यवस्थापन गरेर चाँडै सेवा सञ्चालन गरिने तयारी छ । प्रतिष्ठानले सेवा सुरुसँगै शिक्षण अस्पताल निर्माणको प्रक्रियासमेत अघि बढाएको छ ।
दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैयाको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन ।
सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । अहिले बजेटको व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आवमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ ।
यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सरकारसँग थप बजेट माग गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार केही महिनाअघि मात्र नयाँ डिपिआर निर्माण गरिएको छ । डिपिआर अनुसार एक अर्ब ७२ करोड रुपैयाँ लागत अनुमान छ ।