रेलमार्गको सम्भाव्यता बुझ्न चिनियाँ टोली काठमाडौंमा

नेपालमा रेलमार्गको सम्भाव्यताबारे बुझ्न चिनियाँ टोली काठमाडौं आएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोली केरुङ–काठमाडौं र काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्गको सम्भाव्यताबारे बुझ्न सोमबार काठमाडौं आएको हो । उपमन्त्री झेङ जिङको नेतृत्वमा आएको टोलीले सोमबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर रेलमार्ग बनाउने विषयमा भएको तयारीबारे जानकारी लिएको छ । जानकारी आदानप्रदानका क्रममा दुई देशबीच सहकार्य गर्ने समझदारी भएको छ । चिनियाँ टोलीले रेल विभागलाई संस्थागत सहयोग तथा तालिम र प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । टोलीले काठमाडौं–केरुङ र पोखरा–लुम्बनी रेलमार्गको स्थलगत अध्ययन गर्ने कार्यक्रम छ ।