Logo

१८ करोड ६० लाख बेरुजु असुल

विराटनगर– कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख बेरुजु असुल गरेको छ । मन्त्रालयले आफू मातहतका कार्यालयहरूको बेरुजु न्यूनीकरणका लागि अभियान सञ्चालन गरेपछि उक्त रकम असुली भएको हो । आर्थिक वर्ष २०७९/८० सम्म कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु ३६ करोड ५१ लाख ७४ हजार रुपैयाँ थियो ।

पछिल्लो ६ महिनामा मन्त्रालयले १८ करोड ६० लाख बेरुजु असुल गरेको हो । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले बेरुजु फछ्र्यौटका लागि मातहतका कार्यालयलाई निर्देशन दिएका थिए । उनले बेरुजु असुलीका लागि निर्देशन दिएपछि ६ महिनामा कुल बेरुजुको आधा असुल भएको बताए ।

‘६ महिनामा बेरुजु असुल सकारात्मक छ । बेरुजु फछर्यौट गर्ने अभियानमा छौं, मन्त्री राईले भने, ‘पूर्वाधार मन्त्रालयकै १ करोड ६३ लाख ७५ हजार रुपैयाँ बेरुजु थियो । जसमा १० लाख बेरुजु असुल भइसकेको छ ।’ पूर्वाधार विकास कार्यालयमध्ये सबैभन्दा बढी मोरङको १८ करोड ६३ लाख रुपैयाँ असुल गर्नु पर्ने बेरुजु थियो । जसमा १६ करोड १६ लाख ९४ हजार रुपैयाँ बेरुजु असुल भएको छ ।

उदयपुरबाट ६४ लाख ३७ हजार, ओखलढुंगाबाट १ करोड ३७ लाख, भोजपुरबाट ५८ हजार ३ सय ८८ बेरुजु असुल गरेको मन्त्रालयले जनाएको छ । सहरी विकास तथा भवन कार्यालयतर्फ मोरङले ८ लाख ४२ हजार, इलामले ७ लाख ८३ हजार, धनकुटाले ८ लाख ६० हजार र ओखलढुंगाले ५ लाख ८८ हजार रुपैयाँ बेरुजु असुल गरेको मन्त्रालयले जनाएको छ ।

यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय झापा, पूर्वाधार विकास कार्यालय पाँचथर र संखुवासभाले बेरुजु असुल गर्न सकेका छैनन् । मन्त्रालयले बेरुजु संकलनलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राईले जानकारी दिए । चालु आर्थिक वर्षको अन्त्यसम्म बाँकी बेरुजु पनि असुल हुने उनको भनाइ थियो ।

‘बेरुजु शून्यमा झार्ने गरी निरन्तर रूपमा काम गरिरहेका छौं,’ उनले भने, ‘मातहतका सबै कार्यालयलाई कडा निर्देशनसमेत दिएको छु । सबै कार्यालय बेरुजु घटाउन गम्भीरतापूर्वक लागेका छन् ।’

प्रतिक्रिया दिनुहोस्