कागेश्वरी मनोहरा पनि साक्षर नगरपालिका «

कागेश्वरी मनोहरा पनि साक्षर नगरपालिका

राजधानीभित्र रहेका धेरै नगरपालिकामध्ये कागेश्वरी मनोहरा नगरपालिका पनि एक नगरपालिका हो । यो नगरपालिका काठमाडौँको उत्तर–पूर्वमा पर्छ । राजधानीभित्र रहेका नगरपालिकामध्य यो यस्तो नगरपालिका हो जहाँ विकासका पूर्वाधारहरूले भरिपूर्ण छ । यो नगरपालिकाभित्र खुला दिसामुक्त क्षेत्रसमेत घोषणा भएको छ । यसले हालै मात्र साक्षर नगरपालिका भएको घोषणासमेत गरेको छ ।
गत हप्ता माघ ३ गते भएको एक कार्यक्रममा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले कागेश्वरी मनोहरा नगरपालिकालाई साक्षर नगरपालिकाका रूपमा घोषणा गर्नुभएको थियो भने सो कार्यक्रममा यसै नगरका नगरप्रमुख कृष्णहरि थापाले साक्षर नगर घोषणाका लागि सबै सूचक पूरा गरी नगरलाई साक्षर नगर घोषणा गरिएको समेत बताउनुभयो । कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले नगरवासीको माग र चाहनाबमोजिम विधि र प्रक्रियाअनुसार नगरपालिकाले कार्य गरिरहेको जानकारी गराउँदै व्यवस्थित र नमुना नगरपालिका बनाउन सम्पूर्ण जनप्रतिनिधि सक्रियतापूर्वक लागेकोमा प्रशंसा व्यक्त गर्दै नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, नगरको समग्र विकास र समृद्धिलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको समेत बताउनुभयो ।
केही वर्षअघि पनि ललितपुर महानगरपालिका मुलुककै साक्षरता महानगरपालिकाका रूपमा घोषणा भएको हो । तर, सरकारले ल्याएको शिक्षा नीतिअनुसार मुलुकमा सबै नेपाली जनता शिक्षित हुन् र कोही पनि शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर देशका विभिन्न ठाउँमा शिक्षा मन्त्रालयले शैक्षिक तालिमहरूका साथै सबै विद्यार्थीहरू नियमित पठनपाठनमा सहभागी हुन् भनेर प्रत्येक विद्यार्थीलाई दिउँसोको समयमा खाजाको व्यवस्था गरेको छ । त्यति मात्र होइन; दलित, जनजाति तथा पिछडिएको वर्गलाई उचित छात्रावृत्तिसमेत प्रदान गर्दै आईरहेको छ । तर, विडम्बना के छ भने यताबाट पनि उताबाट पनि सरकारलाई मात्र आलोचना गरेको जस्तो होला, तर सही कुरा यो छ कि सरकारले मुलुकका सबै क्षेत्रमा तुइनमुक्त बनाउने घोषणा गरेको थियो, के यो पूर्ण रूपमा तुइनमुक्त भयो त ? धेरै ठाउँ तुइनमुक्त पनि भए होलान्, तर केही दिनअघि मात्रै कुनै एक सञ्चारमाध्यममा प्रकाशित भएको थियो, भेरी नदीमाथि रहेको तुइनमा समातेर विद्यार्थीहरू विद्यालय जाँदै गरेको तस्बिर ।
त्यस्तैगरी त्रिशूली नदीका विभिन्न ठाउँमा पनि तुइनकै सहाराबाट घाँसदाउरा लगिरहेको तस्बिर केही समयअगाडि सामाजिक सञ्जालमा भाईरल भयो । तर, यी त भए देखेका मात्र, धेरै ठाउँमा सूक्ष्म तरिकाबाट अध्ययन गरी हेर्ने हो भने मुलुकका धेरै ठाउँ तुइनमुक्त भएको छैन, जहाँ विद्यार्थी पठनपाठन गर्न जाँदा घण्टौं हिँड्छन् । जोखिमपूर्ण जलयात्रा गरेर विद्यालय पढ्न जान्छन् । यसको अन्त्य कहिले हुन्छ ? यसको पनि चाँडो अन्त्य होस् भन्ने आममानिसको गुनासो छ ।
हिमाली तथा उच्च पहाडी भागहरूमा जति पनि सडक सुविधाको पहुँच राम्रोसँग नपुगेको अवस्था छ, त्यहाँ रहेका विद्यालयहरूको अवस्था र विद्यार्थीहरूको अवस्थालाई अनुगमन गरी विद्यार्थी भाइबहिनीहरूले कस्तो शिक्षा लिइरहेका छन्, विद्यार्थीहरूका समस्या के–के छन्, विद्यालयहरूको अवस्था कस्तो छ ? शिक्षा मन्त्रालयले त्यस्ता ठाउँहरूमा पनि विद्यालयको आवश्यकता बुझी विद्यालय विस्तार गर्नुपर्छ भने शिक्षकहरूको मागअनुसार पद पुर्ति गर्नुपर्छ । मुलुकका सबै भागमा शिक्षाको राम्रो प्रबन्ध गर्नुपर्छ ।
आज कागेश्वरी मानोेहरा नगरपालिका, ललितपुर महानगरपालिका साक्षर घोषणा भएजस्तै मुलुकका सहरी तथा ग्रामीण भागहरूमा पनि साक्षरता अभियान चलाउनुपर्छ । यसमा सम्बन्धित निकायले विशेष कदम चाल्नुपर्ने देखिन्छ । स्व. श्री ५ वीरेन्द्रले भनेका थिए, “शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् ।” हो, यहीअनुरूप विशेष प्राथमिकताका साथ मुलुकमा शिक्षाको गतिमा निरन्तर अघि बढे कागेश्वरी मनोहरा नपा मात्र होइन, मुलुक नै एक दिन साक्षर घोषणा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्