Logo

चिनियाँ पर्यटक बढाउन प्रवर्द्धनात्मक कार्यक्रम

चीन– चिनियाँ पर्यटक बढाउन प्रवर्द्धनात्मक कार्यक्रम गर्नु पर्ने नेपाली पर्यटन व्यवसायीहरूले बताएका छन् । पोखराको पर्यटन व्यवसायीको टोलीले चीनमा प्रमोसन टुरसहित सेल्स मिसन कार्यक्रम उक्त कुरा बताएका हुन् । पोखरादेखि चीनको छेन्दुसम्म नियमित रूपमा सिधा हवाई गर्न पोखरेलीले माग गरेका छन् । पोखरादेखि सिचुवान प्रान्तको छेन्दु उडान गरी चीनका विभिन्न पर्यटकीय गन्तव्यमा पुगेको टोलीले चिनियाँ पर्यटकलाई पोखरामा पहिलो रोजाई बनाउन आग्रह गरेका हुन् ।

पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरादेखि चीनको छेन्दु पुगेको एक सय २६ सदस्य टोलीले चीनको छेन्दु, लुजाउ, इमि, छोङसिङलगायतका ठाउँमा तथा केही महत्त्वपूर्ण स्थानमा समेत अध्ययन अवलोकनसहित भ्रमण गरेको छ । पोखराका मेयर पोखरा फर्किएसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको नेतृत्वको टोली चीन भ्रमणमा रहेको छ ।

चीनको छेन्दु र छोङसिङमा हालै आयोजना भएको सेल्स मिसन कार्यक्रममा पोखरासहित समग्र नेपालका र चिनियाँ टुर तथा गाइडसहित पर्यटन व्यवसायी एवं सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा चीन सरकारले सन् २०२५ मा नेपाल भ्रमण वर्ष घोषणा गर्नु र पोखरा महानगरपालिकाले २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा उक्त कार्यक्रमले दुई देशको पर्यटन प्रवद्र्वनमा सहयोग पुग्ने लामिछानेले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले पोखरा सबै सिजनमा घुम्न सकिने भएको बताउँदै पोखरा भ्रमणका लागि छोङसिङका नागरिकसँग आग्रह गरे । उनले भने,‘पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य हो, यो वर्ष सबै चिनियाँ नागरिकहरूलाई नेपालको पर्यटकीय राजधानी पोखरा भ्रमणका लागि आग्रह गर्दछौँ ।’ छेन्दुबाट पोखरा उडानले दुई देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उनले बताए ।

छोङछिङका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले नेपाल चीनबीचको पुरानो सम्बन्ध भएकोले दुवै देशको विकास पर्यटनबाट गर्न सकिने बताए । सिचुवान विमानले पोखरादेखि छेन्दुसम्म सिधा चार्टर्ड उडान गर्नुले दुवै देशको पर्यटन प्रवर्द्धन हुने उनले बताए ।

छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत सुरेश राउतले चीन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकोमा आफूहरू निकै खुसी भएको बताए । अब यो घोषणाको लक्ष्य पूरा गर्न चिनियाँ नागरिकले पनि साथ दिने उनले बताए । नेपाल र चीनको पुरानो सम्बन्धलाई स्मरण गराउँदै चिनियाँका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य भएको राउतले बताए ।

पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले पोखरा छेन्दु उडानले पोखरेली पर्यटनमा नयाँ उत्साहित बनाएको बताए । सिचुआन एयरको जहाज चार्टर गरेर पर्यटकलाई निमन्त्रणा गर्न चीन आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए । चिनियाँ पर्यटकलाई निम्तो गर्न पोखराका पर्यटन व्यवसाय चीनको सिचुवान प्रान्तका सहरहरूमा घुमघाममा रहेको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्