बुटवल उपमहानगरद्वारा थप १६९ ई–रिक्सालाई सञ्चालन अनुमति

बुटवल– बुटवल उपमहानगरपालिकाले थप १६९ ई–रिक्सा सञ्चालनका लागि अनुमति दिएको छ । बजारमा अव्यवस्थित ई–रिक्सा सञ्चालनको गुनासो आइरहेको बेला बुटवल उपमहानगरपालिकाले व्यवस्थापनको काम थालेको हो । दर्ता र जाँचपासजस्ता आवश्यक प्रक्रिया पूरा गरेका ई–रिक्सा चालकलाई आइतबार सञ्चालन अनुमतिपत्र वितरण गरिएको छ ।
एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, यातायात व्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको हो ।
बुटवल उपमहानगरपालिकामा १४ सय ४० ई–रिक्सा सञ्चालन गर्न सकिने व्यवस्था रहेको भन्दै नगरप्रमुख पाण्डेयले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पूरा गरेरमात्र ई–रिक्सा सञ्चालन गर्न आग्रह गरे । दर्ता नभएका सञ्चालनमा कडाइ गरिने तथा ई–रिक्सा जथाभावी चलाउने, जथाभावी भाडा लिने र अनावश्यक व्यवहार गर्नेलाई निरानीमा राखिने उनले बताए ।
यसअघि १२ सय ४७ ई–रिक्साले सञ्चालन अनुमति पाएकोमा अन्य ई–रिक्सा व्यवसायीले आफूहरूले पनि सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । सोही माग र बजारले थेग्न सक्ने अवस्थालाई मध्यनजर गरी हाललाई १६९ ई–रिक्सा चालकलाई सञ्चालन अनुमतिपत्र दिइएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । बुटवल उपमहानगरपालिकाले नगरभित्र १४ सय ४० ई–रिक्सा सञ्चालन गर्न सकिने मापदण्ड तय गरेको छ ।