लिखू नदीमा ४३५ मेगावाटका १३ जलविद्युत आयोजना

दोलखा– सप्तकोशीको कान्छी अर्थात् सबैभन्दा सानो नदीको रूपमा चिनिने लिखु नदीमा १० वटा जलविद्युत आयोजना विभिन्न चरणमा पुगेका छन् । सबै आयोजनाबाट ३९८ मेगावाट विद्युत उत्पादन हुनेछ । पूर्वमा सोलुखुम्बू तथा ओखलढुंगा र रामेछाप जिल्लाको सिमाना भएर बग्ने नदीका अधिकाँश जलविद्युत आयोजना निर्माण पूरा भएर विद्युत उत्पादन गरिरहेका छन् ।
लिखू नदी कोशी प्रदेश र बागमती प्रदेशको समेत सिमाना हो । दूध पोखरी र नुम्बुर हिमालसहित हिमालय क्षेत्रबाट उत्पत्ति भएको नुप्चे र लिखू नदी रामेछापको उमाकुण्ड गाउँपालिका–१ उमातीर्थमा आएर मिसिन्छ । त्यसबाट लिखू नदी अर्थात् हिमगंगा पनि भन्ने गरिन्छ । यो रामेछाप, ओखलढुंगा सिमाना लिखू दोभानमा सुनकोशी नदीमा मिसिन्छ ।
५ आयोजनाबाट २६३.५ मेगावाट उत्पादन
लिखू नदीमा पाँचवटा जलविद्युत आयोजना पूरा भई २६३.५ मेगावट विद्युत उत्पादन भइरहेका छन् । नेपालका व्यावसायिक घरानाले यी आयोजनामा लगानी गरेका छन् । देशमा आन्तरिक खपत बढी भएका बेला भारतसमेत निर्यात हुने गरेको छ । प्रतिष्ठित व्यावसायिक घरना दुगड ग्रुपको लगानीमा तीनवटा जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।
पान हिमालय इनर्र्जी लि, ग्लोबल हाइड्रोपावर एसोसिएट लि र नुम्बुर हिमालय हाइड्रोपावर लिको नामबाट ७७ मेगावाटको लिखु १, ५५ मेगावाटको लिखु २ र ५१ लिखु ‘ए’ जलविद्युत आयोजना डेढ वर्षदेखि विद्युत उत्पादन गरिरहेका छन् । यी तीनैवटा आयोजना रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा पर्छन् ।
५२.४ मेगावाट क्षमताको लिखू–४ जलविद्युत आयोजना ग्रिनभेञ्चर लिमिटेडले निर्माण गरेको छ । यो आयोजनामा व्यापारिक घराना त्रिवेणी ग्रुुप र विशाल ग्रुपको लगानी छ । १० अर्ब १६ करोड लगानीमा निर्माण भएको आयोजनाले २०७८ भदौबाट विद्युत उत्पादन गर्दै आएको छ । आयोजना रामेछापको लिखुतामाकोशी गाउँपालिका र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा पर्छ ।
लिखू–४ भन्दा तल्लो क्षेत्रमा तल्लो लिखु जलविद्युत आयोजनाले पनि दुई वर्षदेखि विद्युत उत्पादन गर्दै आएको छ । २८.१ मेगावाट क्षमताको सो आयोजना श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरेको हो । यो आयोजनामा ६ अर्ब ३७ करोड लगानी लगानी छ । यो २०७९ मंसिरदेखि उत्पादन सुरु गरेको छ । यो आयोजनामा सानिमा हाइड्रोपावर समूहको लगानी छ । यो पनि आयोजना रामेछापको लिखुतामाकोशी गाउँपालिका र ओखलढुंगाको लिखू गाउँपालिकामा पर्छ ।
निर्माण भएका सबै जलविद्युत आयोजनाले आफैंले प्रसारणलाइन निर्माण गरी रामेछापको फूलासीमा रहेको न्यू खिम्ती सबस्टेसनमा लगेर जोडेका छन् । नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसन हुँदै आवश्यकताका आधारमा काठमाडौं र तराई साथै भारतसमेत निकासी हुँदै आएको छ ।
१७१.२९ मेगावाटका ३ आयोजना निर्माणाधीन, ६ अध्ययनरत
लिखू नदी र त्यसको सहायक खोलामा तीन जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । यी आयोजनाबाट ९३.५ मेगावाट विद्युत उत्पादन हुनेछ । तीमध्ये दुई आयोजना ६ महिनादेखि एक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन् । नदीको सबैभन्दा उच्चस्थानमा ५७.५ मेगावाटको नुप्चे–लिखू जलविद्युत आयोजना निर्माणाधीन छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजना रामेछाप जिल्लाको सबैभन्दा दुर्गम गाउँमा निर्माण भएको छ ।
यो आयोजनामा १० अर्ब ९८ करोड लगानी छ । यही कम्पनीले क्यासकेट आयोजनाको रूपमा ४ मेगावाटको अर्को आयोजना पनि बनाउने तयारी गरेको छ, यसको अध्ययन जारी छ । नुप्चे–लिखूको क्यासकेट आयोजना लिखू–१ जलविद्युत आयोजनाको हेडवक्र्सभन्दा केही माथि निर्माण हुनेछ । यी दुवै आयोजनाको संरचना रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१ मा पर्छ । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिका बीचमा ३० मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ ।
पाँच अर्ब १९ करोड लगानीमा निर्माणाधीन आयोजना लिखू ‘ए’ जलविद्युत आयोजना र लिखू–४ जलविद्युत आयोजनाको बीचमा पर्छ । यो आयोजनामा अरुणभ्याली हाइड्रोपावरको लगानी छ । ओखलढुंगाकै खिजीदेम्बा गाउँपालिका–३ मा बन्ने गरी लिखू खोलाकै पानी प्रयोग गरेर रमाइलो लिखु जलविद्युत आयोजनाको रूपमा ७.२९ मेगावाटको अर्को आयोजना पनि अध्ययन सुरु भएको छ ।
भिजन इनर्जी एण्ड पावर लिमिटेडका जनसम्पर्क अधिकृत रामचन्द्र शर्माले लिखू नदीमा सम्भावित ठाउँमा अब जलविद्युत बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । तल्लो लिखू जलविद्युत आयोजनाको विद्युतगृहबाट निस्केको पानी सदुपयोग गर्दै श्वेतगंगा हाइड्रोपावरले नै १६ मेगावाटको क्यासकेट आयोजना निर्माण गर्ने गरी अध्ययन गरिरहेको छ । यो आयोजना ओखलढुंगाको लिखू गाउँपालिकामा बन्ने छ ।
यो आयोजनाको विद्युतगृह साँघुटार बजारभन्दा केही माथि नमर्देश्वर महादेव मन्दिर नजिक बन्नेछ । ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाका सुदीप सुनुवारले जलविद्युत आयोजना निर्माणले सडक, विद्युतको विकास र रोजगारी सिर्जना भएको बताए । वर्षौंदेखि बगेर गएको स्रोत सदुपयोग भएकोले देशको अर्थतन्त्र विकासमा पनि सहयोग पुग्ने उनले बताए । लिखू नदीकै अन्तिमतिर ३६ मेगावाटको एक आयोजना अध्ययनको क्रममा छ ।
उज्यालो इनर्जी सोलुसन प्रालिले रामेछापको साँघुटारभन्दा केही तल बाँध बनाएर ओखलढुंगाको चम्पादेखि गाउँपालिका पलापू हुँदै सुरुङमार्फत सुनकोशी किनार गोलाञ्जोरघाट नजिक विद्युतगृह बनाएर पानी सुनकोशी नदीमा मिसाउने लक्ष्य छ । लिखू नदीके सहायक खोला सोलुखुम्बु र ओखलढुंगा सिमाना भएर बग्ने बुकु खोलामा ६ मेगावाटको आयोजना एपोलो हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको छ ।
लिखूको अर्को सहकायक खोला उमाकुण्ड गाउँपालिका प्रिती र भुजीको बीच भएर बग्ने चुलेपू खोलामा ८.५ मेगावाटको एक आयोजना अध्ययन भएको छ । चण्डेश्वर महादेव खोला माइक्रो हाइड्रो कम्पनीले अध्ययन गरेको आयोजनालाई विद्युत विकास विभागले उत्पादन अनुमति दिइसकेको छ । लिखूकै सहायक खोला शैलुङ खोलामा ३ मेगावाट र विखे खोलामा ३ मेगावाटको आयोजना पनि अध्ययनकै क्रममा छ ।