महासंघ र एसोचेम बीच सहकार्यका लागि सहमति «

महासंघ र एसोचेम बीच सहकार्यका लागि सहमति

दि एसोसिएटेड च्याम्बर्स अफ कमर्स एण्ड इण्डष्ट्रि अफ इण्डिया (एसोचेम) ले विहीबारदेखि भारतको नयाँ दिल्लीमा आयोजना गरएको जेम इन्टरनेशनल सस्टेनेबिलीटी कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघकाले भाग लिएको छ ।
कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी महासंघका महानिर्देशक धरणीधर खतिवडाले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्यसहित नेपाल अगाडी बढीरहेको बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्न निजी क्षेत्र समेतको सहयोगमा कार्य गरिरहेको जानकारी गराए ।
दीगो विकास लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सहयोग गर्न निजी क्षेत्रले सरकारसंँग नजिकमा रहेर कार्य गर्दै आएको बताउँदै महानिर्देशक खतिवडाले सरकारले अगाडी बढाएको ग्रीन क्लाइमेट फण्डको अभियानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । खतिवडाले मुलुकको समृद्धिको लागि नेपाली निजी क्षेत्र र सरकार समेत एक साथ कार्य गरिरहेको अहिलेको अवस्थामा नेपालको आर्थिक विकासमा भारतीय सहयोग अपरीहार्य रहेको बताए ।
महासंघ र एसोचेमबीच संयुक्त सहकार्य गर्ने उद्देश्यले एक सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति अनुसार नेपाल र भारतबीच उद्योग व्यवसाय, संयुक्त लगानी, प्रविधि आदान प्रदान तथा व्यवहारिक समस्या समाधानमा सहकार्य गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्