Logo

ब्याज सस्तिए पनि ३.२ प्रतिशतले मात्र बढ्यो घर कर्जा

काठमाडौं– चालु आवमा बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदर सस्तिए पनि ऋण लिएर घर बनाउनेहरू खासै बढेका छैनन् ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्ममा ३.२ प्रतिशतले मात्र घर कर्जा बढेको छ । गत आवको यही अवधिमा घर कर्जा ९.३ प्रतिशतले बढेको थियो । ‘यो वर्ष माघसम्ममा रियल स्टेट कर्जा (व्यक्तिगत, आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ ।
पछिल्लो समय बैंकको ब्याजदर घट्दै गइरहेको छ । साथै बैंकहरूले घर कर्जा लिनका लागि विभिन्न अफरहरू ल्याइरहेका छन् । यस्तोमा ग्राहकले घर बनाउन लिने ऋण बढ्नुपर्ने हो । तर, ऋण विस्तार भने सुस्त भएको छ ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण ऋण लिन सक्ने क्षमता घट्दै गएको जानकारहरु बताउँछन् । यसबाहेक घर किन बनाउने भन्ने नै अहिले मुख्य प्रश्न रहेको अर्थविद् चन्द्रमणि अधिकारीले बताए । अहिले धेरैजसो युवा विदेश गइरहेका कारण घर बनाउने आवश्यकता नै नभएको उनको तर्क छ । उनका अनुसार मानिस नै कम भएपछि भाडामा दिनका लागि घर बनाउन पनि कम भइरहेको छ । सहकारी क्षेत्रमा आएको समस्याले पनि घर बनाउनेहरु घटेको उनी बताउँछन् ।‘सहकारीमा धेरैको रकम फस्दा ऋण तिर्न सकेका छैनन् । ऋण लिनेले पनि पैसा नपाएको र तिर्नेले पनि तिर्न नसकेको अवस्था छ । यसले पनि घर बनाउनेतर्फ नागरिकले सोच्न सकेका छैनन्,’ उनले भने ।

अर्थतन्त्रमा सुस्तता आउँदा व्यापारिक र औद्योगिक भवन बन्ने क्रम पनि सुस्त भएको उनले बताए । ‘सबैतिर सुस्तता रहँदा घर बनाउने, खर्च गर्ने वा लगानी गर्ने अवस्था छैन । ब्याजदरले मात्रै कर्जा बढाउन सक्दैन,’ उनले भने । जग्गा बिक्री नभएर पनि घर बनाउन ऋण लिने क्रम नबढेको उनको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पछिल्ला महिनाहरूमा घर कर्जामा आकर्षण बढिरहेको बताए । अहिले उपभोक्तासँग सम्बन्धित फाइल कर्जाका लागि धेरै आइरहेको बताउँदै उनले घर कर्जातर्फ आकर्षण देखिन थालेको जानकारी दिए । ब्याजदर कम हुनु र विभिन्न अफरहरू आउनुले पनि केही आकर्षण बढेको उनको अनुमान छ । ‘अहिले उपभोक्तासँग सम्बन्धित फाइलहरू आइरहेका छन् । घर कर्जा, इभी, किसान कर्जालगायतमा आकर्षण देखिएको छ । ब्याजदर कम भएकाले पनि यस्ता क्षेत्रमा कर्जाको माग बढ्न थालेको छ,’ उनले भने ।

कुन बैंकको कति ब्याजदर ?
पछिल्लो समय सरकारले समेत निर्माण क्षेत्रतर्फको कर्जा विस्तारलाई जोड दिँदा बैंकहरूले त्यसका लागि सस्तो ब्याजदर कायम गर्दै आएका छन् । वाणिज्य बैंकहरूले एकल अंकमै ब्याजदर कायम गर्दा कर्जा लिएर घर बनाउने ग्राहकको संख्या बढ्दै गएको बैंकरहरू बताउँछन् । विशेषगरी अहिले कर्जा दिनका लागि बैंकहरू सहज अवस्थामा छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै जाँदा घर कर्जातर्फ बैंकहरूले लगानी बढाउन थालेका छन् । एकल अंकमा ब्याज लिने योजनासहित बैंकहरूले ग्राहकलाई घर कर्जाका लागि विभिन्न अफरसमेत सार्वजनिक गरिरहेका छन् । अर्थतन्त्रमा आएको सुस्तता चिर्नका लागि सेयर बजार र निर्माण क्षेत्रमा कर्जा विस्तारका लागि विज्ञहरूले जोड दिइरहँदा बैंकहरू पनि त्यसतर्फ आकर्षित भएको पाइन्छ । बैंकहरूले स्थिर र एकल अंकमै कर्जा दिन थालेपछि ग्राहक पनि यसतर्फ आकर्षित देखिएका छन् ।

प्रायः बैंकहरूले कर्जा अवधिभर परिवर्तन नहुने स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन् । वाणिज्य बैंकहरूले लामो अवधिका लागि न्यूनतम ५.९६ प्रतिशतदेखि १०.५० प्रतिशतसम्म स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेका छन् । धेरैजसो बैंकले सात वर्ष अवधिको घर कर्जामा स्थिर ब्याजदर अफर गरेका छन् । कतिपय बैंकहरूले तोकिएको ब्याजदरमा पनि विभिन्न सहुलियत अफर ल्याएका छन् ।

पछिल्लो ब्याजदर विवरणअनुसार नेपाल बैंकले घर कर्जा सबैभन्दा कम ब्याजदरमा दिइरहेको छ । यो बैंकले ५.९६ प्रतिशतदेखि ८.३८ प्रतिशतसम्ममा घर कर्जा दिइरहेको छ । बैंकले बेसरेटमा २.४२ प्रतिशत प्रिमियम जोडेर ब्याजदर तोकेको हो ।

यस्तै, कृषि विकास बैंकले ६.५२ देखि ८.५२ प्रतिशतसम्ममा घर कर्जा दिँदा ग्लोबल आइएमई बैंकले ६.५६ प्रतिशतदेखि १०.०६ प्रतिशतसम्म ब्याजदरमा घर कर्जा दिइरहेको छ । घर कर्जाका लागि एभरेष्ट बैंकको ब्याजदर ६.६३ देखि ८.६३ प्रतिशत छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ७.८२ देखि १०.२५ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.३५ प्रतिशतदेखि ९.३५ प्रतिशत, हिमालयनको ७.३८ देखि ९.३८ प्रतिशत, एनआईसी एसिशा बैंकको ७.४१ देखि १०.४१ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाको ७.७५ देखि ९.७५ प्रतिशत र सिटिजन्स बैंकको ७.९९ देखि ८.९९ प्रतिशतसम्म ब्याजदर कायम छ ।

घर कर्जाका लागि ८ प्रतिशतभन्दा माथि न्यूनतम ब्याजदर हुने बैंक पाँच वटा छन् । सानिमाले ८.१ देखि १०.१ प्रतिशतसम्म, लक्ष्मी सनराइजले ८.४९ देखि ११.९९ प्रतिशतसम्म, सिद्धार्थले ८.४९ देखि ८.७५ प्रतिशतसम्म, कुमारीले ८.५९ देखि १०.९९ प्रतिशतसम्म र प्रभु बैंकले ८.९३ देखि १०.९३ प्रतिशतसम्म ब्याजदरमा घर कर्जा दिइरहेका छन् ।

यस्तै नबिल बैंकले ९.४९ प्रतिशत, एनएमबिले ९.९९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०.५ प्रतिशतको स्थिर ब्याजरमा घर कर्जा दिइरहेका छन् । प्राइम बैंकको भने घर कर्जाका लागि न्यूनतम ब्याजदर १० प्रतिशत र अधिकतम १२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्