जीवनमा २२ दिन र निर्जीवनमा ५० दिनभित्रमा दाबी भुक्तानी दिइसक्नुपर्ने

बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी |
बिमा समितिले बिमा कम्पनीहरुले बिमितलाई गर्ने दाबी भुक्तानीको म्याद तोकिदिएको छ । समितिले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै म्याद तोकेको हो । जस अनुसार जीवन बिमा कम्पनीहरुले बिमा शुल्कको अन्तिम किस्ता तिरिसकेको मितिले १५ दिनभित्रमा दाबी भुक्तानी लिन चाहिने कागजात संलग्न गरी दाबी लिन आउन बिमितलाई सूचना जारी गर्नुपर्नेछ । यसरी सूचना जारी गरेपछि बिमितले आवश्यक कागजात पेश गरेको मितिले ७ दिनभित्रमा दाबी भुक्तानी दिनुपर्ने समितिद्वारा जारी मार्गदर्शनमा उल्लेख छ । यसरी जीवन बिमाको दाबी बढीमा २२ दिनभित्रमा भुक्तानी गरिसक्ने व्यवस्था मिलाउनु पर्नेछ ।
साथै, मार्गदर्शनका अनुसार निर्जीवन बिमाको हकमा भने दाबी परेको बढीमा ५० दिनभित्रमा दाबी भुक्तानी गरिसक्नु पर्नेछ । निर्जीवन बिमामा बिमितबाट दाबी पर्ने वित्तिकै बिमा कम्पनीहरुले आवश्यक देखेमा सर्भेयर खटाउन सक्नेछन् भन्दै मार्गदर्शनले यसरी खटाएको सर्भेयरले १५ दिनभित्रमा आवश्यक जाँचबुझ गरी कम्पनीको दायित्व निर्धारण गरी विस्तृत विवरणसहितको प्रतिवेदन बिमा कम्पनी समक्ष पेश गर्नुपर्ने जनाएको छ । यसरी प्रतिवेदन प्राप्त भएको साधारणयता ३५ दिनभित्रमा दाबी भुक्तानी गरिसक्नु पर्नेछ ।
समितिले दाबी भुक्तानी ढिला हुने गरेको र कम्पनीहरुले के कस्ता कागज र प्रमाणका आधारमा कसरी दाबी भुक्तानी गर्ने भन्ने स्पष्ट व्यवस्था नभएकोले मार्गदर्शन जारी गर्नु परेको जनाएको छ ।
बिमा कम्पनीहरुको नियामक निकाय समितिले दाबी भुक्तानी प्रकृयालाई छिटो, छरितो तथा पारदर्शी बनाउने उद्देश्यले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गरिएको भन्दै बिमा क्षेत्रलाई थप पारदर्शी, जिम्मेवार र बिमितमैत्री बनाउने प्रतिवद्धता पनि जनाएको छ ।
मार्गदर्शनका अनुसार बिमा कम्पनीहरुले गठनात्मक संरचनाअन्तर्गत एउटा दाबी विभागको गठन पनि गर्नुपर्नेछ । उक्त दाबी विभागमा विभागीय प्रमुखसहित आवश्यक संख्यामा कर्मचारी नियुक्त गर्नु पर्नेछ भने दाबीको प्रकृतिअनुसार कागजपत्र संकलन गर्ने तथा आवश्यक प्रक्रिया अपनाउनु पर्ने व्यवस्था गरिएको छ । यस्तै, बिमा लेख बमोजिम बिमा दाबी गर्नुपर्ने भएमा बिमितले सम्पूर्ण विवरणहरु राखी अबिलम्ब बिमकलाई लिखित जानकारी दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । यसका साथै, समितिले बिमा कम्पनी दाबी दर्ता किताबमा दाबीका लागि प्राप्त भएका निवेदनहरुको अभिलेख राख्नुपर्ने पनि जनाएको छ ।
समितिले दाबी भुक्तानी गर्दा जीवन बिमा कम्पनीले १० लाख रुपैयाँभन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी कारोबारको सम्बन्धमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि विशेष ध्यान दिनुपर्ने पनि जनाएको छ ।