Logo

अर्थतन्त्र चलायमान बनाउन स्वदेश घुमौँ

भनिन्छ, अहिले विश्व एक गाउँ (ग्लोबल भिलेज) भइसकेको छ । हुन पनि जुनसुकै व्यक्तिले चाहेमा आजकालको जमानामा एकैछिनमा विश्व ब्रह्माण्ड घुम्न सक्छ । कुनै पनि व्यक्ति आफूलाई मन परेको अर्को कुनै देशमा सजिलै बसाइँ सरेर जान सक्छ । त्यसका लागि अर्को देश बसाइँ सरेर जाने व्यक्ति अथवा परिवारसँग धन र सम्पत्ति चाहिँ प्रशस्तै हुनुपर्‍यो ।

अन्यथा, आफ्ना कैयौँ पुस्तादेखि बस्दै आएको आफ्नो मातृभूमि अर्थात् आफू जन्म लिएको ठाउँ त्यति सजिलै छाड्न सकिएला र ? खासमा, आफ्नै देशभित्रको कुनै ठाउँमा बसाइँ सरेर जान त कति गाह्रो छ । बसाइँ सर्ने कुरो भनेको आफू बसिरहेको ठाउँमा भन्दा राम्रो स्वास्थ्य सेवा, आर्थिक सुरक्षा, यातायातको सुविधा, शिक्षामा सहज पहुँच आदि प्राप्तिका लागि हो । अझ सदाका लागि विदेशमा बसाइँ सर्ने कुरो त त्योभन्दा पनि माथिल्लो स्तरको कुरो हुने भयो । जे होस्, यो छोटो लेख लेख्नुको कारणचाहिँ पर्यटक भई घुमफिर गर्ने सन्दर्भमा हो ।

निकट भविष्यमै विक्रम संवत्अनुसारको नयाँ वर्ष २०८२ सुरु हुँदै छ । सो अवसरमा नेपालीहरू बिदा मनाउन वा भनौं घुम्न जानेछन् । किनभने, हाम्रो देश नेपालमा पछिल्लो पटक यस्तो क्रम बढ्दो रहेको देखिन्छ । त्यसै क्रममा नेपालका विभिन्न पर्यटकीय स्थल र सहरबजारमा भीडभाडका साथ नेपालीहरूको उपस्थिति रहने गरेको देखिन्छ । आजभोलिका नयाँ पुस्तामा नयाँ वर्ष (विक्रम संवत् तथा इस्वी संवत्), दसैँ, तिहारको लामो बिदालगायत अन्य चाडपर्वहरूमा स्वदेश तथा विदेश घुम्ने प्रचलन बढ्दो क्रममा रहेको देखिन्छ ।

त्यसैले आजभोलि नयाँ वर्ष, दसैँ, तिहार, छठ, उधौली, उभौलीलगायतका अवसरमा दिइने बिदामा आन्तरिक पर्यटकका रूपमा आफ्नो देशका विभिन्न ठाउँमा लामो तथा छोटो भ्रमण गर्न जाने नेपालीको संख्या पनि बढ्दो क्रममा रहेको छ । अझ यस्ता खालका बिदा र उत्सव मनाउने क्रम विक्रम संवत्का अवसरमा भन्दा ग्रेगोरी पात्रो (इस्वी संवत्) अनुसारको न्यू इयर एवम् क्रिस्चियन धर्मावलम्बीहरूको ‘क्रिसमस डे’ र ‘इभ’को अवसरमा बढी चहलपहल देखिन थालेको छ । हुन त चाडपर्व र आन्तरिक पर्यटनको कुरो गर्दाखेरि पछिल्लो पटक हिन्दू धर्मावलम्बीहरूको चाड बडादसैं एवम् तिहारको अवसरमा सबैभन्दा ठूलै संख्यामा नेपालीहरू घुम्न जाने गरेको तथ्यांक रहेको देखिन्छ ।

अब सरकारले नै देशको अर्थतन्त्र गाउँतहसम्म चलायमान बनाउन एवम् अहिले जुन संख्यामा नेपाली युवाहरू दैनिक रूपमा विदेश पलायन हुने क्रम बढ्दो छ, त्यसलाई घटाउन पनि नेपालका हरेक जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग आदिका चाडपर्व, उत्सव, महोत्सव, मेला, जात्रामात्रा आदिमा बिदा दिने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसैले यस सम्बन्धमा पनि अब नेपाल सरकारका साथै नेपालका बुद्धिजीवी, मिडिया र मिडियामा कार्यरत पत्रकारहरूले एक भएर छलफल र बहस चलाइहाल्नुपर्ने देखिन्छ ।

त्यसो गर्न सकेदेखि देशको अर्थतन्त्र देशको कुना–कन्दरासम्म चलायमान हुन सहयोग पुग्ने थियो । जस्तै, मधेसका मानिसले मनाउने गरेको छठ पर्व, जुडशील, काठमाडौं उपत्यका साथै नेपालभरिका नेवार जातिले मनाउने गरेको योमरी पुन्ही, मगर र थारु जातिका साथै अन्य जातजातिले मनाउने गरेको माघे सक्रान्ति (मकर संक्रान्ति), भगवान् गौतम बुद्धको जन्मजयन्ती, किराती समुदायले मनाउने गरेको उभौली, उधौली पर्व, हिन्दू धर्म मान्नेहरूको जनै पूर्णिमा, रक्षाबन्धन, कुसे औँसी, गौरा पर्व, किराती महाजातिभित्रका ‘कुलुङ’ जातिले धूमधामका साथ मनाउने नयाँ वर्ष तथा ‘चाक्चाकुर’ चाड, एवम् प्रकारले गुरुङ जातिले मनाउने तोला ल्होसार, तामाङ जातिले मनाउने सोनाम ल्होसार, शेर्पा एवम् हिमाली क्षेत्रमा बस्ने अन्य जातिहरूले मनाउने ग्याल्पो ल्होसार, थकाली जातिको तोरन्ल अनि त्यस्तै गरेर नेपालका भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीलगायत नेपालका अन्य जातजातिहरूले मनाउने गरेका असंख्य चाडपर्व, मेला, जात्रा, दिवस र जन्म–जयन्तीहरूमा जो जससँग सम्बन्धित छ, खासगरीकन नेपाल सरकारका हरेक निकायमा कार्यरत कर्मचारीहरूलाई छोटो–छोटो बिदा (पेस्कीसहित काजमा) दिएर देशभित्रकै विभिन्न ठाउँमा घुम्न जान दिने प्रचलन सुरु गरिहाल्नुपर्ने देखिन्छ । तर, उनीहरू जुन ठाउँमा गएका हुन्, त्यस ठाउँको हालसालैको फोटा, भिडियो, रिसोर्ट, होटल, गेस्टहाउस, लजमा खाए–बसेको (रात बिताएको) बिल, गाडी वा हवाईजहाजको टिकट, आफन्तका लागि किनेको कोसेलीको बिल आदिको भर्पाई अनिवार्य रूपमा पेस गर्ने व्यवस्था गरिनुपर्छ ।

जे भए तापनि आजभोलि हामी नेपालीहरूमा पनि चाडपर्व, दिवस आदिको अवसरमा पाइने छुट्टीमा सके विदेश घुम्ने, नभए स्वदेशकै विभिन्न ठाउँ घुमफिर गर्ने बानीको विकास हुँदै छ । जसले गर्दा ग्रामीण क्षेत्रका ससाना होटल, लज र होमस्टे सञ्चालकहरूका लागि धेरै राम्रो आर्थिक आधार खडा भएको छ । किनभने हामी नेपालीहरूले पनि आ–आफ्नो चाडपर्व, मेला, दिवस, जन्म–जयन्ती आदिको अवसरमा पाइने छुट्टी वा भनौँ बिदालाई सदुपयोग गर्दै घुमफिर गर्ने बानी बसालेमा आफ्नो देशका जातजाति, भाषाभाषी, भूगोल, प्राचीन स्थल, पुराना गुफा, ओढार, स्मारक, गढी, किल्ला, दुर्ग, ऐतिहासिक स्थल तथा प्राकृतिक सुन्दरताको बेग्लै अनुभव गर्न सक्छौँ । साथै, देशको आन्तरिक अर्थतन्त्र पनि चलायमान हुन्छ । यसरी हामीले घुम्ने बानी बसालेमा देश विकासमा पनि केही न केही भरथेग र सहयोग पुर्‍याएका हुन्छौँ, पुर्‍याउँछौँ ।

खासगरी हामीले हिन्दू धर्मावलम्बीहरूले मान्ने चाड विजयादशमी अर्थात् दसैं र दीपावली अर्थात् तिहारको अवसरमा मात्र लामो बिदा पाउने गरेका छौँ । जबकि नेपालका हरेक जातजाति, भाषाभाषी, धर्मावलम्बीहरूले लामो समय (१५ दिनदेखि एक महिना) सम्म आफूले मान्ने चाडपर्व मनाउने गर्छन् । तीमध्ये कतिपय जातजाति र समुदायलाई सो अवसरमा राज्यले बिदा नै दिएको छैन भने बिदा दिइएका जातजातिलाई पनि एक दिनमात्र बिदा दिने गरिन्छ । यसरी हेर्दा राज्यले आफ्ना नागरिकलाई कसैलाई काखा र कसैलाई पाखा गरेको र विभेदपूर्ण ढंगले व्यवहार गरेको जस्तो पनि देखिन्छ । जबकि, राज्यले त देशका सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने हो ।

तथापि पनि धेरैजसो नेपाली, जो निजामती कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, नेपालमा रहेका राजदूतावास, विदेशी नियोग, दातृ निकाय, निजी क्षेत्रका बैंक, वित्त कम्पनी, फाइनान्स कम्पनी, सहकारी, आइएनजिओ, एनजिओमा कार्यरत कर्मचारी, निजी कम्पनी तथा कलकारखाना, उद्योग, सेवाप्रदायक कम्पनी, फर्म, सूचना प्रविधिको क्षेत्रमा कार्यरत मानिसहरू बिदाको समयमा देशभित्रकै विभिन्न स्थानमा आन्तरिक पर्यटकका रूपमा भन्दा पनि विदेश जान थालेका छन् भन्ने भनाइ रहेको छ । त्यस्ता नेपालीहरूलाई सकेसम्म नेपालकै विभिन्न ठाउँमा बिदा मनाउन गएर आन्तरिक पर्यटक भई समग्रमा देशको आर्थिक विकासमा योगदान दिनुपर्छ भन्ने सोचाइ ल्याउनुपर्ने देखिन्छ । हुन त धेरथोर नेपाली स्वदेशकै विभिन्न पर्यटकीय स्थलमा घुम्न जान थालेका छन्, यो धेरै राम्रो कुरो हो ।

हुन पनि अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक गतिविधि नेपालको कुनाकाप्चासम्म चलायमान रहोस् भन्ने पवित्र उद्देश्यले नै हुनुपर्छ, सरकारी कर्मचारीलाई १० दिनको ‘पर्यटन काज बिदा’ दिनेसम्बन्धी नीति ल्याएका थिए । तर, सरकारी कर्मचारीलाई १० दिनको ‘पर्यटन काज बिदा’ दिनेसम्बन्धी सो नीति कार्यान्वयनमै ल्याइएन । कर्मचारीतन्त्र, खास गरी ठूला पदमा रहेका कर्मचारीले देश विकासमा आफ्नो पनि सानोतिनो योगदान पुग्ने, रहने सम्झेर कम्मर कसेर सरकारले ल्याएको सरकारी कर्मचारीलाई पर्यटन काज बिदा दिनेसम्बन्धी सो नीति कार्यन्वयनमा ल्याउन र त्यसका लागि चाहिने कार्यविधि कसरी बनाउने, कार्यविधिमा केके राख्ने ? भनी तदारुकताका साथ लाग्नुपर्ने थियो । तर, सरकारले ल्याएको सरकारी कर्मचारीलाई १० दिनको ‘पर्यटन काज बिदा’ सम्बन्धी नीतिलाई कार्यान्वयनमा ल्याउनुको सट्टा बेवारिसे बनाए, यता न उताको बनाए, जुन साह्रै दुःखद अवस्था हो ।

अझै पनि हामी नेपाली, जो घुम्न सक्ने हैसियतमा छन्, उनीहरूले आफ्नै देशभित्रका विभिन्न पर्यटकीय स्थल, जस्तो कि ऐतिहासिक महत्वका ठाउँ, सांस्कृतिक महत्वका स्थान, डाँडा, किल्ला, दुर्ग, ऐतिहासिक युद्घस्थल, ऐतिहासिक स्मारक, सम्पदा रहेका ठाउँ, प्राचीन महत्व बोकेका महत्वपूर्ण स्थलका साथै स्मारक, आफ्नो देशको विभिन्न स्थानमा बसोबास गरेका जातजाति, भाषाभाषी, धार्मिक स्थल, मठ–मन्दिर, गुम्बा, सहर–बजार, गाउँघर, हिमाल, पहाड, ताल–तलैया, निकुञ्ज आदि क्षेत्रको घुमफिर गर्नका लागि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

सकेसम्म देशभित्र रहेका पर्यटकीय महत्वका ठाउँ, ऐतिहासिक महत्वका ठाउँ, सांस्कृतिक महत्वका स्थानहरू, किल्ला, दुर्ग, ऐतिहासिक स्थल, स्मारक, सम्पदा, प्राचीन महत्व बोकेका स्थल, स्मारक, देशका विभिन्न स्थानमा बसोबास गर्ने जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको गाउँ, ठाउँ, सहर, बजार घुमफिर गरौँ । त्यसैले घर–परिवारको खर्च धानेर बचत गर्न सक्ने, घुमफिर गर्नका लागि खर्च गर्न सक्ने स्थितिमा रहेका नेपालीहरूले सकेसम्म पहिले आफ्नै देश घुमफिर गरौँ, अनि मात्रै विदेश घुमौँ है भन्ने मेरो व्यक्तिगत आग्रह रहेको छ ।

प्रतिक्रिया दिनुहोस्