सिन्धु विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं- सिन्धु विकास बैंकको १४औ र १५औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत शुक्रबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलको मिराबल होटल एण्ड रिसोर्टमा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ ।
गत आर्थिक वर्षमा विविध कारणले साधारण सभा गर्न नसकेको बैंकले दुई वर्षको वार्षिक साधारण सभा एकै साथ सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गरेको छ भने स्वतन्त्र संचालकमा भरतबहादुर कार्कीको नियुक्तिलाई पनि अनुमोदन गरेको छ ।
साधारण सभाको विशेष प्रस्ताव अन्तर्गत नेपाल राष्ट्र्र बैंकले क्षेत्रीयस्तरको विकास बैंकको लागि तोकेको न्यूनतम चुक्ता पुँजी एक अर्ब बिस करोड हुनुपर्ने व्यवस्था बमोजिम बैंकको हालकायम रहेको चुक्ता पुँजीको ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।
नेपाल राष्ट्र्र बैंक लगायत अन्य नियमनकारी निकायहरुले स्वीकृति प्रदान गरे पश्चात मात्र उक्त हकप्रद शेयर जारी गरिने गरी उक्त प्र्रस्ताव स्वीकृत गरेको हो । साथै उक्त साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति सम्बन्धि कार्य गर्न सक्ने गरी संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।