चिनियाँ टोली पोखरामा, पोखरेली टिम चीनका शहरमा
पोखरा र चीनका पर्यटक आदनप्रदान

चीन, लुजाउ– पोखराका पर्यटन व्यवसायीको एक टोली चीनका पर्यटकीय शहरमा पुग्दै गर्दा चिनियाँ पर्यटक भने पोखरासहित नेपालका विभित्र पर्यटकीय गन्तव्यहरू घुमघाम गर्दै छन् । चीनको सिचुवान एयरलान्सले पोखराबाट पहिलो पटक व्यावसायिक चार्टर्ड उडान गरेसँगै पहिलो फ्लाईटमा सहभागी नेपाली पर्यटन व्यवसायी चीनका विभिन्न शहरमा व्यवसाय प्रवर्द्धन गर्दै घुमघाममा व्यस्त भएका छन् ।
त्यसैगरी चिनियाँ पर्यटक भने पोखराका पर्यटकीय क्षेत्रमा घुमघाम गर्दैछन् । पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा चीन भ्रमणमा रहेको १२६ सदस्य टोलीले छेन्दु, इमि, लुजाउ, छोङसिङलगायतका शहरमा व्यवसाय प्रवर्द्धनसहित चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न निमन्त्रणा गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए ।
मेयर आचार्यको टोलीले लुजाउको साउथवेष्ट मेडिकल युनिभर्सिटी, हुवावे सिचुआन विग डाटा सेण्टरको भ्रमण गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले बताए । ३ महिने व्यावसायिक चार्टर्ड उडान गर्ने अभियान अन्तरगत सिचुवान विमानले दोस्रो फ्लाइट यही चैत १२ गते गर्ने भएको छ ।
पोखराबाट पोखरा उद्योग वाणिज्य संघको समन्वयमा १२७ सदस्य टोली चीनका विभिन्न शहरमा भ्रमणसहित व्यवसाय प्रवर्द्धन गर्न चीन आउने संघ पोखराका अध्यक्ष गोकर्ण कार्कीले बताए । चीन भ्रमणमा रहेको एक टोली यही चैत १२ गते छेन्दु शहरबाट करिब साढे दुई घण्टाको हवाई यात्रामार्फत पोखरा जाने छ ।
पोखरामा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराका मेयर धनराज आचार्यले पोखरा भ्रमण वर्षमा ५ लाख चिनियाँ पर्यटक भित्र्याउने बताए । पोखराको प्रमोशन टुरको चीन भ्रमण गरेर फर्किने क्रममा लुजाउमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले पोखरा भ्रमण वर्षको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न चीन सरकार तथा चीनका विभिन्न शहरसँग मितेरी साइनो गाँसिएका नगरबाट पोखरा भ्रमणलाई सफल पार्न ५ लाख पर्यटक आउने उनले विश्वास व्यक्त गरे ।
१५ करोड जनसंख्या रहेका सिचुवान प्रान्तसहितका अन्य प्रान्तबाट करिब ५ लाख पर्यटक पोखरामा पुर्याउन सबैको साथ सहयोगको महानगरले अपेक्षा गरेको छ । मेयर आचार्यले पोखरामा पर्यटन प्रवर्द्धन गर्न सुरू भएको पहिलो अन्तर्राष्ट्रिय उडान सफल भएको दाबी गरे । मेयर आचार्यले पोखरामा चीनको छेन्दुदेखि पोखरामा सिधा हवाइ उडान गर्दा बिहान छेन्दुमा खाजा खाएर खाना खान पोखरा जाने गरी साढे दुई घण्टाको अन्तर्राष्ट्रिय उडान गर्न सकिने दाबी गरे ।
उनले चीनको विभिन्न शहरमा ३ वटा छुट्टा छुट्टै मिटिङ सफलता पूर्वक सम्पन्न भएको बताए । उनले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न चीनबाट सहयोग हुने विश्वास व्यक्त गरे । पोखरा र लुजाउ शहरबीचको सम्बन्ध राम्रो भएको उल्लेख गर्दै मेयर आचार्यले पोखरामा अफिसियल भिजिटसमेत हुने भएको बताए । सिचुआन एअरलाइन्सबाट पोखरा भ्रमण वर्षलाई सफल पार्न १० हप्ताको व्यावसायिक चार्टर्ड फ्लाइट भएसँगै नियमित हवाई उडान हुने उनले विश्वास व्यक्त गरे ।
उनले भने, ‘३ वटा फ्लाइट पोखराबाट सिचुवानतर्फ गर्दैछौं भने अब दोस्रो फ्लाइट उद्योग वाणिज्य संघको नेतृत्वमा एउटा टोली चीन आउने छ त्यसको लागि पोखरा महानगरले के गर्नुपर्छ हामी तयार छौं ।’ पोखराको पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले समन्वय गर्दै आएको छ ।