कृषि प्रशोधन उद्योगको सञ्चालनमा
रोङमा १२१ ‘गुरु किसान’ घोषणा

इलाम– रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरेको छ । गाउँपालिकाले किसानलाई सम्मान स्वरुप ‘गुरु किसान’ घोषणा गरेको हो । कृषि तथा पशुपंछी विकासमन्त्री रामप्रसाद अधिकारी तथा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गरे ।
गाउँपालिकाभित्रका करिब पाँच हजार किसानबाट अगुवा किसान छनोट गरिएको छ । छनोट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो । गाउँपालिका–५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनोट भएका १२१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवा टेवा प्रदान गर्ने घोषणा गरेको छ । गाउँपालिकाभित्र रहेका करिब चार हजार पाँच सय किसानमध्ये पहिलो चरणमा १२१ किसान छनोट गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
कृषि पेशालाई सम्मानित पेशाका रूपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनोट गरेको पालिकाले जनाएको छ । गुरु किसान परिचय पत्र वितरणसमेत गरिएको छ । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रूपमा छनोट गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका ६ वटै वडाका किसान छनोट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ ।
पालिका छनोट भएका ‘गुरु किसान’ ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भूमिका खेल्ने पालिकाको कृषि सेवा शाखाले जनाएको छ । पहिलो चरणमा १२१ जना किसानलाई गुरु किसान छनोट गरिएको छ । क्रमश: गुरु कृषक थप गर्दै लैजाने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए ।
उनका अनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवर्द्धन गर्ने लक्ष्य रहेको जनाइएको छ । ‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनिति लिइएको छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने । प्रशोधनमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
संघीय सरकारअन्तर्गत योजना आयोगको पाँच करोड विशेष अनुदानबाट तीनवटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको बुधबार नै उद्घाटन गरिएको हो । अन्य दुईवटा उद्योग निर्माणाधीन अवस्थामा छन् । संघीय सरकारको अनुदानबाट करिब ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । त्यस्तै करिब ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिस भट्टराईले जानकारी दिए ।
हाल स्थापना भएको उद्योगबाट सुकाउने काम भइरहेको छ । गुन्द्रुक, चिया, तिते करेलाका चानालगायत सुकाउन उद्योगमा सहज भएको किसानको भनाइ छ । यहाँका व्यावसायिक र निश्चित मापदण्ड पूरा गर्ने किसानबाट गुरु किसान छनोट गरिएको हो । अनुगमन गरेर विशेष मापदण्डा पूरा गरेपछि छनोटमा परिएको गुरु किसान सोमराज अर्यालले बताए । गाउँपालिकाले गरेको कार्यले आफूजस्ता किसानमा हौसला बढाएको गुरु किसान राम आचार्यले बताए ।
कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको हो । गाउँपालिकामा विशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ । गाउँमा उत्पादन भएको वस्तु निर्यात तथा बजारीकरणमा कुनै समस्या हुन छोडेको किसानको भनाइ छ ।
त्यस्तै गाउँपालिकाले सिस्नोको चियासमेत उत्पादन गर्दै आएको छ । यो कार्यक्रम देशकै पहिलो भएको गाउँपालिकाको दाबी छ । किसानले आफ्नै मूल्यमा बिक्री गर्छ, बिक्री नभएको कृषि उपज स्थानीय सहकारीमाफर्त खरिद गरिँदै आइएको छ । यसले किसानले उत्पादन गरेको वस्तु खेर जान पाएको छैन ।