भान्सा विषादीरहित बनाऔँ

उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने हरियो तरकारीमा फेरि अत्यधिक विषादी हालिएको फेला परेको छ । काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारस्थित विषादी प्रयोगशालाले गत सोमबार गरेको नमुना परीक्षणमा ब्रोकाउलीमा ८८ प्रतिशत विषादीको अवशेष फेला परेको छ । यो ब्रोकाउली भक्तपुरबाट कालीमाटी बजारमा ल्याइएको थियो । प्रयोगशालामा परीक्षण गर्दा यसमा सरकारले तोकेको रोकावट प्रतिशतभन्दा ८८.६७० प्रतिशत बढी अर्गानोफस्फेट नामक विषादीको अवशेष थियो ।
यो भनेको खान अयोग्य स्तरको विषादी हो । भक्तपुरका किसान गंगाप्रसाद खरेलले यति धेरै विषादी प्रयोग गरेको देखिएको छ । तरकारी बजारका १८ पसलबाट १८ थरीका तरकारी तथा फलफूलको नमुना परीक्षण गरिएको थियो । यो आकस्मिक परीक्षण नभएर नियमित गरिने परीक्षण हो । सरकारले विषादी अवशेषको मात्रा धेरैमा ३५ प्रतिशत हुनुपर्ने सीमा राखेको छ । यो सीमासम्म विषादी फेला परेमा उपभोग योग्य मानिएको छ ।
यस्तै ३५ देखि ४५ प्रतिशत विषादी फेला परे केही दिन राखेर मात्रै उपभोग गर्न सकिने भनिएको छ । ४५ प्रतिशतभन्दा बढी विषादी फेला परेको तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । तर, परीक्षण गरिएको ब्रोकाउलीमा भने यसको दोब्बर विषादी देखिएको छ । यो मात्र होइन, पछिल्लो एक महिनामा कालीमाटी तरकारी बजारमा आएका फलफूल तथा हरियो तरकारीको नमुना परीक्षण गर्दा काउली, काँक्रा, गोलभेँडा, घिरौँला तथा पाकेको फर्सीमा अर्गानोफस्फेट नामक विषादीको अवशेष सरकारी सीमाभन्दा बढी पाइएको छ ।
पछिल्ला दुई महिनामा २३ वटा वस्तुमा विषादी अवशेष धेरै फेला परेको थियो । कालीमाटीमा आउने तरकारीमध्ये सबैभन्दा धेरै भक्तपुरको हरियो सागमा विषादी देखिएको छ । देशभरका किसानले धेरै प्रकारका विषादी प्रयोग गर्दै आएका छन् । तर, सरकारले भने दुईवटा समूह अर्गानोफस्फेट र कार्बामेटको मात्र अवशेष परीक्षण हुने गरेको छ । अब थप दुई समूहका विषादीको परीक्षण गर्ने व्यवस्था गरिँदै छ । कालीमाटीमा अहिले दैनिक १० देखि २० वटा तरकारीको नमुनामा विषादी अवशेष परीक्षण भइरहेको छ ।
सरकारले २०७१ असार ४ बाट परीक्षणको व्यवस्था गर्दै आएको छ । अहिले कालीमाटीबाहेक मुलुकका १२ स्थानमा विषादी परीक्षण हुने गरेको छ । झापा, सर्लाही, कास्की, बुटवल, नेपालगन्ज, कैलाली, सुर्खेत, नवलपुर, सुनसरी, धरान, सिन्धुली र धनुषामा तरकारी तथा फलफूलमा हालिएको विषादी परीक्षण हुन्छ । किसानलाई कृषि बालीमा १ सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति छ । यसमध्ये १ सय ५२ प्रकारका विषादीको परीक्षण हुने गरेको छैन ।
विषादी हालेका वस्तुको सेवन गर्दा सर्वसाधारण नागरिकमा क्यान्सर, ट्युमर, प्रजनन स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपांगता भएका शिशु जन्मिने, वंशाणुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको छ । कृषि उत्पादन लागतदेखि वायु, माटो र जल प्रदूषण पनि बढेको छ । यसैले विषादीको प्रयोग घटाउन सरकारले सबैभन्दा पहिले बढी हानिकारक विषादीको आयातमा नै रोक लगाउनुपर्छ । आयात गर्न दिएका विषादीको अवशेष परीक्षणमा सरकार चनाखो हुनुपर्छ । खासमा हाम्रो भान्सा भगवान् भरोसामा चलेको छ ।
कुनै पनि खाद्य पदार्थ तरकारी, फलफूल वा अन्य वस्तुमा कीटनाशक विषादीको प्रयोग हुनुलाई सामान्य रूपमा लिन मिल्दैन । यो सीधै मानव स्वास्थ्यसँग जोडिएको विषय हो । किसानले बिनारोकतोक विषादीको प्रयोग गरिरहेका छन् । व्यावसायिक रूपमै गरिने खेतीमा पनि विषादीको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । सरकारले यसलाई नियन्त्रण गर्न सकेको छैन । अझ भनौँ, चाहेकै देखिँदैन । सरकारले विषादी नियन्त्रणका लागि खासै संयन्त्र र जनशक्ति परिचालन गरेको देखिँदैन । यही कारण सर्वसाधारण नागरिक विषादीयुक्त खाद्य पदार्थ सेवन गर्न बाध्य छन् ।
सरकारले चाहे हानिकारक विषादी आयात र प्रयोगलाई निरुत्साहित गर्ने सक्छ । विकसित मुलुकमा विषादी प्रयोग परको विषय बन्ने गरेको छ । उपभोक्ता रासायनिक मल प्रयोग गरेर उत्पादन भएका वस्तुको समेत उपभोग गर्न चाहँदैनन् । यहाँ भने सबै मनपरी छ । विषादीको प्रयोग गर्ने किसान कारबाहीको दायरामा नआउने कारण पनि यसको प्रयोग बढेको हो । विषादी प्रयोग गरेर समयभन्दा अगाडि बजारमा ल्याउने किसानलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसपछि मात्र विषादीको प्रयोग घट्नेछ ।