Logo

विश्व पानी दिवसः हिमनदी संरक्षण र बचाउ

प्रत्येक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले ताजा पानीका स्रोतको महत्व र तिनीहरूको संरक्षणको तत्काल आवश्यकताको सम्झना गराउँछ । ‘एसियाकै पानीको भण्डार’ भनेर चिनिने नेपाल दक्षिण एसियाभरि प्रमुख नदी प्रणालीहरू कायम राख्ने हजारौँ हिमनदीको घर पनि हो । यी हिमनदी पानीको ताजा स्रोत मात्र होइनन्; यिनले जैविक विविधता, जलविद्युत उत्पादन र जीविकोपार्जनमा पनि महत्वपूर्ण भूमिका खेल्छन् ।

यद्यपि, जलवायु परिवर्तन र मानवीय गतिविधिले तिनीहरूको अस्तित्वलाई खतरामा पारेका छन् । जसले गर्दा नेपाल र तल्लो तटीय राष्ट्र दुवैका लागि गम्भीर परिणाम निम्त्याउँछन् । यस वर्षको विश्व पानी दिवसको नारा ‘हिमनदी संरक्षण’ हो, जसले प्राकृतिक जलस्रोतको संरक्षणमा सामूहिक भूमिकाको महत्वलाई जोड्छ । नेपाल हिमालय क्षेत्रमा अवस्थित देशका रूपमा विश्वको तेस्रो ध्रुव भनिने हिमनदीहरूको काखमा बसेको छ । यी हिमनदी नेपालको कृषि, जैविक विविधता र ऊर्जा उत्पादनको आधार पनि हो । तर, जलवायु परिवर्तनले गर्दा यी हिमनदी पग्लने क्रम बढ्दै गएको छ, जसले मुलुकको भविष्यका लागि गम्भीर चुनौती खडा गरेको छ ।

यी हिमनदी नेपालको मात्र नभई दक्षिण एसियाका अन्य धेरै देशका लागि पनि जीवनरेखा हुन् । विश्व पानी दिवसको अवसरमा नेपालका हिमनदीहरूको संरक्षण, तिनको महत्व र तीव्र रूपमा पग्लँदै गइरहेका हिमनदीको रक्षा गर्ने उपायहरूको खोजी एकातिर गर्नु छ भने अर्कातिर संसारमै पानीको आवश्यकता बढ्दो रूपमा रहेका बेला त्यसको समाधानका लागि नेपाललगायतका हिमनदीहरूको संरक्षण तथा संवद्र्धन गर्नु आजको जल्दोबल्दो विषय बनेको छ । हिमनदीहरू नेपाललगायत दक्षिण एसियाका धेरै क्षेत्रका लागि पानीका प्रमुख स्रोत पनि हुन् । भारत, बंगलादेश, नेपाललगायत देशका करोडौँ जनसंख्या तिनै हिमनदीबाट बग्ने नदीहरूमा निर्भर छन् । तसर्थ, यी हिमनदीको संरक्षण पानी सुरक्षा, ऊर्जा उत्पादन, कृषि र जैविक विविधताका लागि अति आवश्यक छ । हाल विश्वव्यापी तापमान वृद्धिका कारण नेपालका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । वैज्ञानिक अनुसन्धानअनुसार सन् १९७० यता नेपालका हिमनदी औसत ३० प्रतिशतभन्दा बढी पग्लिसकेका छन् । यसले नदीमा पानीको बहाव अस्थिर बनाइरहेको छ । जसका कारण बाढी, पहिरो, खडेरीजस्ता समस्या बढिरहेका छन् ।

हिमनदीको महत्व
नेपालमा करिब ३ हजार ८ सय हिमनदी छन् । यी हिमनदी हिमालयको उचाइमा अवस्थित छन् र कोसी, गण्डकी, कर्णालीजस्ता प्रमुख नदी प्रणालीका मुख्य स्रोत पनि हुन् । यी नदीले नेपालको ८० प्रतिशत जनतालाई पानी आपूर्ति गर्छन् भने कृषि, जलविद्युत् र दैनिक जीवनशैलीका आधार पनि हुन् । हाम्रो देशमा धेरै हिमनदी तथा हिमतालहरू रहेका छन्, जसले हिमालय क्षेत्रको धेरै भूभाग ओगटेको छ । नेपालका हिमनदी यस क्षेत्रको पारिस्थितिक सन्तुलनका अभिन्न अंग हुन्, जसले विविध वनस्पति र जीवजन्तुलाई सहयोग गर्छ । तिनीहरूले पर्यटन र पर्वतारोहणमार्फत देशको अर्थतन्त्रमा पनि योगदान पुर्‍याउँछन् । प्रत्येक वर्ष हजारौँ साहसीलाई आकर्षित गर्छन् ।

नेपालका हिमनदीलाई खतरा
यसको महत्वका बाबजुद पनि जलवायु परिवर्तन र मानव गतिविधिका कारणले नेपालका हिमनदीहरू खतरनाक दरमा घट्दै छन् । केही प्रमुख खतरा निम्न छन्—

जलवायु परिवर्तन र बढ्दो तापक्रमः विश्वव्यापी तापक्रमले हिमालयमा हिमनदी पग्लने गतिलाई तीव्र बनाएको छ । नेपालका हिमनदीहरू वार्षिक ०.६ प्रतिशतका दरले संकुचित भइरहेका छन् । जसमध्ये केहीले हालैका दशकमा आफ्नो बरफको ३० प्रतिशतभन्दा बढी गुमाइरहेका छन् । बढ्दो तापक्रमले हिउँ जम्मा हुने क्रम घटाउँदै, पग्लने पानी बढाउँदै असन्तुलित जलचक्र निम्त्याउँछ ।
हिमताल फुट्नेः हिमनदी पग्लिँदै जाँदा पानी हिमतालमा जम्मा हुन्छ । जसले हिमताल अचानक फुटी विनाशकारी बाढी आउनेजस्ता जोखिम निम्त्याउँछन् । नेपालमा ४७ भन्दा बढी सम्भावित खतरनाक हिमताल छन् । इम्जा र च्छो रोल्पा तिनीहरूको विस्तारका कारण सबैभन्दा बढी निगरानी गरिएका तालहरू हुन् ।
दिगो नहुने मानवीय गतिविधिः वन फँडानी, पूर्वाधार विकास र अनियन्त्रित पदयात्रा तथा पर्यटनले हिमनदी सम्पन्न क्षेत्रमा वातावरणीय ह्रास निम्त्याउँछ । हिमनदीनजिक बढ्दो मानवीय गतिविधिले प्रदूषण, फोहोर जम्मा हुने र माटोको क्षय निम्त्याउँछ, जसले गर्दा बरफको क्षति अझ तीव्र हुन्छ ।
कालो कार्बन निक्षेपणः सवारी साधन उत्सर्जन, वन डढेलो र औद्योगिक प्रदूषणबाट कालो कार्बनको निक्षेपणले हिमनदीको सतहलाई अँध्यारो बनाउँछ, जसले सूर्यको प्रकाशलाई प्रतिविम्बित गर्ने क्षमता घटाउँछ । यसले ताप अवशोषण बढाउँछ । हिमनदी पग्लने गति बढाउँछ ।

जलविद्युत परियोजना र पानी व्यवस्थापन चुनौती
नेपाल जलविद्युतमा धेरै निर्भर रहँदा अनियोजित बाँध निर्माण र अकुशल पानी व्यवस्थापन अभ्यासले हिमनदीले भरिएका नदीलाई असर गर्छ । अनियमित हिमनदी पग्लँदा असंगत पानी प्रवाहले विद्युत उत्पादन र कृषि सिँचाइलाई असर गर्छ ।

जलविद्युत् उत्पादनः नेपालका हिमनदीहरूबाट ४२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सक्ने क्षमता छ । तर, हाल यसको केवल २ प्रतिशत मात्र उपयोगमा ल्याइएको छ ।
कृषिः तराईदेखि हिमालयसम्मको कृषि कर्म सिँचाइ यिनै नदीहरूमा निर्भर रहेको छ ।
सांस्कृतिक महत्वः हिन्दू र बौद्ध धर्मावलम्बीहरूका विभिन्न किसिमका धार्मिक आस्थाका लागि हिमालय र यसका हिमनदीहरू पवित्र मानिन्छन् ।

जलवायु परिवर्तनले हिमनदीमा पारेको प्रभाव
अन्तर्राष्ट्रिय हिमनदी केन्द्र (आइसिएमओडी) का अनुसार हिमालय क्षेत्रका हिमनदी पृथ्वीको औसतभन्दा दोब्बर गतिले पग्लिरहेका छन् । नेपालका हिमनदीहरू प्रतिवर्ष १.५ प्रतिशतले घट्दै गएका छन् । यसका प्रमुख कारणहरू निम्न छन्—

तापक्रम वृद्धिः हिमालय क्षेत्रमा विश्व औसतभन्दा ०.५ डिग्री सेन्टिग्रेडले तापक्रम बढिरहेको छ ।
बर्सातको अनियमितताः हिउँदमा हुने वर्षाको मात्रा घट्दै गएको छ, जसले हिमनदीको पुनर्भरणमा असर पारेको छ ।
हिमतालको उद्भवः पग्लिएका हिमनदीले हिमताल (ग्लेसियल लेक) बनाउँदै छन्, जसले ‘ग्लेसियल लेक आउटबस्र्ट फ्लड’ (जिएलओएफ) को जोखिम बढाएको छ । उदाहरणका लागि, सन् १९८५ मा डिग त्सो हिमताल फुट्नाले नुवाकोट र रसुवाका केही गाउँमा विनाशकारी प्रभाव पारेको थियो ।

नेपालका हिमनदीलाई बचाउन निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ—
नवीकरणीय ऊर्जा प्रयोगः कोइला तथा पेट्रोलियम पदार्थको प्रयोग कम गरेर स्वच्छ ऊर्जा प्रवद्र्धन गर्नुपर्छ ।
स्थानीय समुदायको संलग्नताः स्थानीय बासिन्दाहरूलाई जलवायु परिवर्तनसम्बन्धी सचेतना दिनु आवश्यक छ ।
वैज्ञानिक अनुसन्धान प्रवद्र्धनः नेपालका हिमनदीहरूको अवस्थाबारे थप वैज्ञानिक अनुसन्धान गर्न लगानी बढाउनुपर्छ ।
सरकार–अन्तर्राष्ट्रिय सहकार्यः नेपाल सरकारले अन्तर्राष्ट्रिय तहमा हिमनदी संरक्षणका लागि पहल गर्नुपर्छ ।

संरक्षणका चुनौती
सीमित अनुसन्धानः हिमनदीको गतिविधि मापन गर्ने प्रविधि र डाटा अभाव ।
आर्थिक अवरोधः संरक्षणका लागि धनराशि र अन्तर्राष्ट्रिय सहयोगको कमी ।
राजनीतिक अस्थिरताः दीर्घकालीन योजना कार्यान्वयनमा अवरोध ।
स्थानीय सहभागिताको अभावः समुदाय संरक्षणका उपायहरूबाट अनभिज्ञ ।

संरक्षणका उपाय
प्राविधिक समाधानः हिमताल व्यवस्थापन— जिएलओएफ जोखिम कम गर्न हिमतालहरूको जलस्तर नियन्त्रण गर्ने ।
अर्ली वार्निङ सिस्टमः सेन्सर र स्याटेलाइट प्रविधिद्वारा आपत्कालीन सूचना प्रणाली ।
नीतिगत पहलः राष्ट्रिय जलवायु परिवर्तन नीति— हिमनदी संरक्षणलाई प्राथमिकतामा राख्ने ।
साझेदारीः आइसिएमओडी, युएनडिपी र स्थानीय एनजिओहरूसँग सहकार्य गर्ने भन्ने रहेको छ ।
स्थानीय सहभागिताः जागरुकता अभियान— हिमनदीको महत्व र संरक्षणका उपाय बुझाउने ।
वैकल्पिक आजीविकाः पर्यटन र हरित ऊर्जामा निर्भरता बढाउने ।

अन्तर्राष्ट्रिय सहयोग
पेरिस सम्झौताः कार्बन उत्सर्जन घटाउने वाचा पालना गर्न अन्तर्राष्ट्रिय दबाब ।
ग्लोबल फन्डिङः ग्रिन क्लाइमेट फन्डबाट नेपालले लाभ लिने ।

विश्व पानी दिवसको सन्देश
विश्व पानी दिवसले पानीको सतत व्यवस्थापनमा सामूहिक भूमिकाको आह्वान गर्छ । नेपालले यस अवसरलाई हिमनदी संरक्षणको नयाँ नीति बनाउने र जनचेतना अभियान सञ्चालन गर्ने मौकाको रूपमा लिन सक्छ ।

निष्कर्षमा भन्नुपर्दा, नेपालका हिमनदी केवल नेपालको सम्पत्ति नभई यी सम्पूर्ण दक्षिण एसियाको पानी सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका छन् । अतः जलवायु परिवर्तनका कारण तीव्र रूपमा पग्लिरहेका यी हिमनदीको संरक्षण हाम्रो वर्तमान र भविष्य दुवैका लागि अति आवश्यक छ । फलतः विश्व पानी दिवसले हामीलाई पानीको महत्व बुझ्न प्रेरित गर्छ । यसै सन्दर्भमा हिमनदी संरक्षणको अभियानलाई अझ बलियो बनाउन आवश्यक छ । देशका हिमनदीहरू प्राकृतिक सम्पदा मात्र होइनन्, यी देशका आर्थिक, सांस्कृतिक र पारिस्थितिकीय आधार पनि हुन् । मूलतः जलवायु परिवर्तनको प्रहारबाट यिनलाई बचाउन अहिलेको समय निकै महत्वपूर्ण छ । यसमा पनि सरकार, अन्तर्राष्ट्रिय समुदाय र नागरिकले समन्वय गरी दीर्घकालीन योजना बनाउनु आवश्यक छ । यसका साथै विश्व पानी दिवसको यो अवसरमा हामी सबैले पानी र यसका स्रोत संरक्षणको प्रतिबद्धतालाई युद्धस्तरमा दोहोर्‍याउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्