Logo

पब्लिक गैदिम न त !

धेरैले भन्छन्, ‘भगवान् श्री पशुपतिनाथले देश चलाएका छन् ।’ तर, नेपालका उद्योग, कलकारखाना र संस्थाहरू चैँ कसले चलाइरहेका छन् होला ? प्रायः भेटिने उद्योगीहरूसँग कुरा गर्दा ‘बिजोग छ’ भन्ने उत्तर नै सुनिन्छ ।

आजकाल किन हो, धेरैले कुनै पनि उद्योगबारे आशावादी कुरा गर्दैनन् । केही नयाँ सुरु गर्न, ‘भ्यालु क्रिएट’ गर्न, अलि बढी मेहनत गर्न कोही पनि उत्साहित देखिँदैन । सबै उद्योग निष्क्रिय वा निष्प्रभावी छन् भन्ने प्रचार निरन्तर फैलाइएको छ । तर, किनबेच भने मौलाएको छ । प्रायःसँग एउटा राम्रो योजना हुन्छ— बेवास्ता गरिएको वा बिरामी उद्योग किन्नु, प्रारम्भिक कोष व्यवस्थापन गर्नु, ‘पब्लिक जाने’ (आइपिओ गर्ने) अनि बाहिरिनु । यदि तपाईं व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ र आफ्नो उत्पादन, प्रतिस्पर्धा, योजना, रणनीतिका कारण राम्रो गर्न सक्नुभएको छैन भने तपाईंलाई दिइने एउटै सुझाव ‘पब्लिक जाने’ हुन्छ ।

आजकाल आइडिया, इनोभेसन, समाजका जटिल समस्याहरूको समाधान, गौरवशाली संस्थाको निर्माण, नेपाललाई विश्वसामु चिनाउने उद्यमजस्ता विषयहरू खासै सुन्न पाइँदैन । सुनिन्छ त कुन ग्याङले कहाँ पैसा हाल्दै छ, बुक्स कसरी बनाउने, सुरु गर्नेले पहिल्यै पैसा कसरी निकाल्ने अनि कसरी पब्लिक जाने भन्ने कुरा ।
यसै कारण, धितोपत्र बोर्ड (सेबोन) अध्यक्षको पद अचानक एक प्यारो पद बन्यो भनेर बुझ्न गाह्रो छैन । सेबोन अध्यक्ष र राष्ट्र बैंक गभर्नरको पद अचानक मन्त्री पदभन्दा महत्वपूर्ण र महँगो किन भयो होला ? ‘पब्लिक जाने’ कार्यक्रममा सहयोग र बैंकिङ नीतिहरूको प्रभाव सेयर बजारमा पर्न सक्छ कि ?

नेपाली उद्यमशीलताका प्रमुख समस्या
नेपाली उद्यमशीलतामा सारको अभाव देखिन्छ । उद्यम नगन्य छन्, व्यापार र बिचौलियापन बढी देखिन्छ । व्यापारको उद्देश्य केवल धन–आर्जन केन्द्रित देखिन्छ, त्यो पनि जतिसक्दो छिटो, जसरी भए पनि । दूरदर्शिता, अनुशासन, नैतिकता र ‘फाउन्डेसनल शक्ति’ को चरम अभाव देखिन्छ । मेरो पछिल्लो अवलोकनमा, नेपाली व्यापार क्षेत्र सात प्रमुख संक्रमणबाट ग्रस्त छः

१. भिजन र असली उद्यमशील सोचको कमीः आकस्मिक नाफाका खोजीमा उद्यमशीलता जराबिनाको बोटझैँ छ ।
२. व्यापार होइन, जुवाः मुख्य व्यवसाय उत्पादन र सेवाभन्दा बिचौलिया र राजनीतिज्ञहरूको भरमा कानुनी छिद्रहरूको फाइदा लिने प्रवृत्ति, ‘ड्रिमसेलर’ हरूको बिगबिगी र प्रभुत्व ।
३. संस्थापक र संस्था भिन्नः संस्थापकले आफ्नै छुट्टै छाया संस्था राख्ने, संस्थाको दीर्घकालीन भविष्यप्रति गैरजिम्मेवार रहने ।
४. स्रोत–साधनको दुरुपयोगः कोष, मानव संसाधन र नीति गलत तरिकाले प्रयोग गर्ने प्रवृत्ति ।
५. निजी क्षेत्र संस्करणको नव–भ्रष्टाचारः लेनदेन, लोभ, डरत्रासको मनोवृत्ति, बिचौलिया प्रवृत्ति ।
६. कार्यसम्पादन मूल्यांकन प्रणालीको अभावः दीर्घकालीन लक्ष्य निर्धारण र कार्यसम्पादन मूल्यांकन गर्न असक्षम नेतृत्व ।
७. नैतिक साहसको समग्र अभावः सत्यलाई सामना गर्न डर, आफ्नो जोखिम अरूलाई सार्ने प्रवृत्ति ।

सन्दर्भ–सूचक केही घटनाक्रम
१. एक जना लगानीकर्ताले मलाई फर्मास्युटिकल कम्पनीमा लगानी गर्न सल्लाह दिए । मैले भनेँ, ‘यो सञ्चालन चुनौतीपूर्ण छ र नाफा छोटो अवधिका लागि मात्र हुन सक्छ । नयाँ अनुसन्धान र नवीन उत्पादनहरू आवश्यक छन् ।’ उनले हाँस्दै भने, ‘दाइ, कम्पनीले कमाउने वा नकमाउने तपाईंलाई किन चासो ? २० वर्ष घाटामा गए पनि ‘फन्डेड’ भयो भने भइहाल्छ नि ! बुक्स के छ ? नाफा नभए पनि फरक पर्दैन, ‘अदर इन्कम’ बाट मिलाइहाल्छौँ, मुख्य कुरा त फाइनान्सियल इन्जिनियरिङ हो !’
२. अर्को फोन आयोः ‘सर, पैसा छ भने अहिले मौका छ, एक महिनाभित्र केही स्क्रिप्टहरूमा खेलेर दोब्बर बनाउन सकिन्छ । गभर्नर परिवर्तन हुँदै छन्, बबाल गर्न सकिन्छ !’
३. अर्को प्रस्तावः ‘सर, आज एउटा आइपिओमा जान लागेको हाइड्रो छ, इन्स्योरेन्स वा कुनै कम्पनीबाट फन्ड मिलाइदिनेलाई ३० प्रतिशत हेर्दिन मिल्छ, कोही छ ?’

अशुद्ध ‘बुक्स–कन्ट्रोल–एक्जिट’ को दुष्टचक्र
बुक्सः नेपालमा नियामक र व्यवसायीबाहेक ‘बुक्स’ बुझ्ने खासै कोही हुँदैनन् । त्यसैले बुक्स ‘बनाइदिए’ टन्टै खत्तम । तर, कम्पनी भनेको बुक्स मात्र होइन, मूल्यमान्यता, संस्कृति र व्यवस्थापन पनि हो ।
‘बुक्स केवल विगतका प्रतिविम्ब मात्र हुन्—एउटा आधार । तर, कुनै कम्पनीको वर्तमान र भविष्य अनेकौँ पक्षले निर्धारण गर्छन्, जस्तैः

१. संस्थापकः के तिनीहरू कम्पनीको दृष्टि र नेतृत्वमा अब्बल छन् वा केवल बुक बिल्डिङमै सीमित ? के संस्थापकहरू वास्तवमै योग्य छन्, वा छलकपटपूर्ण छायामा उभिएका सेलिब्रेटी मात्र ?
२. नेतृत्व क्षमताः कम्पनीको कार्यान्वयन कसले सम्हाल्ने ? के उनीसँग नैतिक साहस, सिद्ध क्षमताको प्रमाणित ट्र्याक रेकर्ड र चुनौती सामना गर्ने क्षमता छ ?
३. उत्पादन र बजार क्षमताः कम्पनीका उत्पादनहरू वास्तवमै प्रतिस्पर्धी छन् ? मार्केटिङ रणनीति बलियो छ ? के ‘ग्रेट आइडियाज’ व्यावसायिक रूपमा प्रभावशाली छन् ?
४. वास्तविक संस्था वा ‘एग्जिट भेइकल’: के यो केवल कसैलाई जोगाउने ‘ग्रान्ड डिजाइन’ को भाग हो वा दिगो रूपमा रहिरहने संस्था ? को–को बाहिरिनेछन्, को–को रहने ? संस्था टुहुरो नहुने ग्यारेन्टी छ ?

तर यहाँ त आम्दानी नभए पनि हुन्छ, बलियो ‘बिजनेस प्लान’ आवश्यक छैन, उत्कृष्ट टिमको महत्व छैन— संस्थाका आवश्यक आधारहरूबिना नै अधुरोलाई पूर्ण देखाएर पब्लिक बेच्ने खेल चलिरहेको छ !

कन्ट्रोलः ‘करप्सन’ को पर्याय बनेको छ कन्ट्रोल । बोर्डमा प्रोक्सी निर्देशक राख्ने, प्रि–आइपिओ खरिद–बिक्रीमा घोटाला गर्ने, संगठनात्मक पुँजी ल्याउँदा कमिसन मिलाउने आदि प्रवृत्ति मौलाएको छ । नेपालका धेरै पब्लिक कम्पनीको नियन्त्रण परोक्ष रूपमा गरिन्छ, मानौँ तिनको ‘रिमोट कन्ट्रोल’ कतै अर्कै हातमा छ । सञ्चालक समितिका बैठक प्रायः औपचारिकता मात्र बन्न पुगेका छन् । दमदार सञ्चालक समितिले वास्तवमै प्रभावशाली निर्णय लिएको दृश्य हामी नेपालीले कहिल्यै देख्न पायौँ र ?

एक्जिटः ‘पब्लिक जाने’ समूहका लागि अग्रिम एक्जिट हुन्छ— लंगुर–बुर्जामा झ्यालबाट हात हालेर आफ्नै गोजी भर्ने शैलीमा, सावाँ उठाएर नाफा भने जोखिमपूर्ण खेलमा लगाउने प्रवृत्ति देखिन्छ । खरिद–बिक्री, कमिसन, प्रि–आइपिओ उत्साहबाट संकलित प्रिमियमको भरमा पब्लिक गइदिने अनि लाभ लिनेहरू झोला बोकेर हराउँछन् । बाँकी भने, ‘यो भयो, त्यो भयो, बुक्स बन्दै छ, सेबोन प्रक्रियामा छ’ जस्ता बहानाहरू दिँदै स्वाभाविक, जोखिमपूर्ण, तथाकथित ‘सामान्य प्रक्रिया’ मार्फत चुपचाप एक्जिट लिन्छन् ।

पदार्थबिनाको बास्नाः फूलबिनाको पराग
‘वोल्फ अफ वालस्ट्रिट’ हेरेर, चार्ली मुंगर सुनेर वा ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ पढेकै भरमा वित्तीय इन्जिनियरिङ गर्दै अर्बपति बन्ने चाहना राख्नेहरू यति हतारमा छन्, मानौँ भोलि नै वालस्ट्रिट हुँदै स्वर्ग पुग्नुपर्नेछ । यिनीहरू पदार्थबिनाको बास्ना बेचिरहेका छन् र त्यही बास्ना सुँघेर मोहित हुने एउटा हतास समूह तयार भइरहेको छ । यो समूहलाई कि तुरुन्तै भालुको कम्पट पन्छाउनु छ, कि त एक पैसा पनि नखर्ची नियोजित राजनीतिक नियुक्ति वा पिई–भिसी प्रभावमार्फत ठूलो ‘स्वेट इक्विटी’ हात पार्नु छ ।

यसै उन्मादमा निर्दोष र लोभी लगानीकर्ताहरू रातारात पैसा कमाउने मृगमरीचिकामा दौडिरहेका छन् । प्रश्न उठ्छ—यो खेलाडीहरूको लाभदायक एक्जिटमा यी निर्दोष र लोभीहरूका लागि के बाँकी रहन्छ ? सायद नगन्यले कमाउलान्, धेरैले गुमाउलान् । कोही पदार्थबिनाको बास्ना बेच्न थाल्लान् त कोही यो नियोजित खेल खेल्ने ‘ग्याङ’का नयाँ सदस्य बन्लान् ।

नियामक निकायहरू कता छन् ?
दस–बाह्र सफल वा असफल वित्तीय षड्यन्त्र बोकेर रातारात धनी र शक्तिशाली बन्न चाहनेहरूले कुन बिचौलियाहरूलाई प्रयोग गर्दै छन् ? के–कस्ता प्रपञ्च भइरहेका छन् ? अनि यसमा राज्य, नियामक निकाय, अनुसन्धान एजेन्सी र मिडियाको ध्यान किन जाँदैन ? आज सहकारीपीडितको भीड छ, भोलि लगानीपीडित र ‘पब्लिक जाने’ कार्यक्रममा ठगिएकाहरूको अर्को ठूलो लहर नउठ्ला भन्न सकिन्न ।

पछिल्लो १० वर्षमा वार्षिक रिटर्न अन इक्विटी (आरओई) १० प्रतिशतभन्दा माथि राख्न सफल कम्पनीहरू औँलामा गन्न सकिन्छ । अझ, प्रतिसेयर आम्दानी हरेक वर्ष वृद्धि भएको देख्न मुस्किल छ । वित्तीय कार्यसम्पादन अस्थिर छ, नाफा मार्जिनमा ठूलो उतारचढाव आउँछ र पारदर्शिताको कमी स्पष्ट देखिन्छ । झन्, ऋणात्मक इपिएस भएका कम्पनीहरूले हकप्रद सेयर निष्कासन गरेर लगानीकर्तालाई झुक्याउने प्रवृत्ति त हाँसोलाग्दो छ !

भएको पुँजीबाट प्रतिफल दिन नसक्ने कम्पनीले हकप्रदबाट थप पुँजी उठाएर प्रतिफल दिन्छ भनेर कसरी विश्वास गर्ने ? न त तिनसँग ठोस योजना छ, न कुशल रणनीति, न कुनै सुनिश्चित अवसर । असफल नेतृत्वलाई सधैँ साधारण लगानीकर्ताले काखी च्यापिरहनुपर्ने ? नेतृत्व परिवर्तनबिना, उही पुरानो नीतिले कसरी नयाँ सफलता ल्याउला ?

आइपिओअघिको र आइपिओपछिको अन्तर
आइपिओअघिको आकर्षक वित्तीय प्रदर्शन आइपिओपछि कति भिन्न हुन्छ ? किन नाफा आइपिओअगाडि उल्लेखनीय देखिन्छ, तर सर्वसाधारणलाई सेयर वितरण भइसकेपछि वा संस्थापकहरूले सेयर बिक्री गरेपछि हराउँछ ? यस्तो कृत्रिम वित्तीय विवरण बनाउने अडिटर, अनुमोदन दिने अन्डरराइटर र नियमन गर्नुपर्ने नियामक निकायहरू किन यति कमजोर र लाचार देखिन्छन् ?

नेपालको पुँजीबजारमा नियामक कमजोरीहरू क्यापिटल फाइटको हतियार बनिरहेका छन् । राज्यले यो देख्दैन कि नियामक निकायहरू नै मिलेमतोमा छन् ?

बजारको भविष्यः सुधार कि दुर्घटना ?
अहिलेसम्म भएका विकृति देखेर पनि चुप लाग्ने, उल्टै नयाँ अनुमति वितरण गरेर समस्या थप्ने सरकार यो बजारलाई कसरी व्यवस्थित गर्ने ? जब बाठाहरू कुल नाफाबाहेकको सम्पत्ति विदेशतिर ‘पार्क’ गरिरहेका छन्, फस्ने त सोझा र लोभी लगानीकर्ताहरू नै हुन्, होइन र ?

के नेपाली पुँजीबजार एउटा ठूलो दुर्घटनाको प्रतीक्षा गरिरहेको छ ? कि गम्भीर जोखिमको बाबजुद आत्म–सुधार गर्नेछ ?

म पुँजीबजारको प्रगतिको पक्षपाती हुँ र नेपालले अझ सशक्त वित्तीय पूर्वाधार विकास गर्नुपर्छ भन्ने पक्षमा छु । तर, सुधार, नियमन र अनुसन्धानको आवश्यकता पनि उत्तिकै स्पष्ट देखिरहेको छु । यदि ठगीका घटना व्यापक रूपमा दोहोरिरहे तिनका दीर्घकालीन परिणाम विनाशकारी हुन सक्छन् ।

हामीले जनतालाई सचेत गराउनुपर्छ । स्पेकुलेसन (अड्कलबाजी) र म्यानिपुलेसन (कृत्रिम हेरफेर) फरक कुरा हुन् । जब म्यानिपुलेसन शोषणमा रूपान्तरित हुन्छ, तब त्यो अपराध बन्छ र यस्तो अपराधलाई रोक्न धेरै समय लाग्दैन ।

आशा र सकारात्मकताका सितारा
यो देशलाई असली राजनीतिज्ञ मात्र होइन, रतन टाटाजस्ता दूरदर्शी उद्यमीहरूको पनि उत्तिकै खाँचो छ— जसले मुलुकलाई ऊर्जावान् बनाउन सक्छन्, जसले केवल आफ्नो फाइदा मात्र हेर्दैनन्, बरु समग्र देशको आर्थिक भविष्य बदल्ने सामथ्र्य राख्छन् ।

हामीकहाँ नैतिक साहस र दीर्घकालीन भिजन बोकेका, भ्रष्टाचारबाट अछुतो रहने, सस्तो अवसरवादमा नलोभिने उद्यमी छोराछोरी कहाँ छन् ? यस्तो अभावको अँध्यारोमा ‘पब्लिक जाने’ भन्ने झूटो सपना बेच्नेहरू मौलाउनु स्वाभाविक हो ।

तर, जीवित उदाहरण कहाँ छन् ? आजका दिनमा प्रेरणादायी, निःस्वार्थ, करिस्माइ उद्यमीहरूको नाम गर्वका साथ लिन सक्ने हो भने कोको छन् ? के हामीसँग मनैदेखि श्रद्धा गर्न लायक नेतृत्व छ ? कि केवल ‘म अमेरिका जान सक्थेँ, तर नेपालमै बसेँ’ भन्ने सतही देशभक्तिहरू मात्र छन् ? हाम्रा विश्वविद्यालयहरूले अब महान् उद्यमी जन्माउन सक्दैनन् ?

प्रेरणा कहाँ छ ? उदाहरण कहाँ छ ? भविष्य सिँच्ने आधार कहाँ छ ? कि बरु यो देश पनि म्यानिपुलेटर, स्पेक्युलेटर र एस्प्लोइटरहरूकै मिलेमतोमा ‘पब्लिक गैदिने’ हो त ?

प्रतिक्रिया दिनुहोस्